कोरोना सङ्क्रमित नभएका पालिकाका विद्यालय खुले-Sutra News

कोरोना सङ्क्रमित नभएका पालिकाका विद्यालय खुले

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

बैतडी- भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् । जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने जनाएको छ । यी दुवै स्थानीय तहमा हाल कोरोनाका सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।



कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकामा नकारात्मक प्रभाव परेकाले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताइन् । कोभिडको सङ्क्रमण कम हुँदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याउने निर्णय भएको हो ।

शिवनाथमा हाल कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ । “शिक्षणका वैकल्पिक माध्यम पनि प्रभावकारी नभएकाले विद्यालय पुनः सञ्चालनको निर्णय भएको हो”, उनले भनिन्, “भौतिकरूपमै कक्षाकोठामै पठनपाठन हुन्छ, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइन्छन् । जोखिम हुनसक्ने भएकाले प्रत्येक विद्यालयमा मास्क र स्यानिटाइजरको व्यवस्थाका लागि रकम पठाइसकेका छौँ ।”

शिवनाथ गाउँपालिकामा ३५ वटा सामुदायिक विद्यालय छन् । शिवनाथ विद्यालय पुनः सञ्चालन गर्ने जिल्लाको दोस्रो स्थानीय तह बन्ने भएको छ । यसअघि जिल्लाको मेलौली नगरपालिकाले पनि साउन १० गतेदेखि विद्यालय सञ्चालनमा ल्याइसकेको छ ।

मेलौलीमा कोरोना जोखिम भएका क्षेत्रमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भइरहेका र जोखिम नभएका ठाउँमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । मेलौलीमा ४६ वटा सामुदायिक विद्यालय छन् ।

जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर मावि खोड्पेले टोल शिक्षण सिकाइ सञ्चालनमा ल्याएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि विद्यालयको सेवा क्षेत्रमा रहेका टोलमा कक्षा सञ्चालन गरिएको जनाइएको छ । फाइल तस्बिर । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट