हाटा कर्मचारीमाथि डण्डा चलाउँदै मन्त्री सुमना, २० जनामाथि सोधिन् स्पष्टीकरण-Sutra News

हाटा कर्मचारीमाथि डण्डा चलाउँदै मन्त्री सुमना, २० जनामाथि सोधिन् स्पष्टीकरण

शुक्रबार, १६ चैत्र २०८०

शुक्रबार, १६ चैत्र २०८०

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी आएसँगै मन्त्री सुमना श्रेष्ठले काम नगर्ने तलब बुझ्ने कर्मचारीमाथि कडाई गर्न थालेकी छिन् । विशेषगरी हाजिरी गरेर टाप कस्दै आएका कर्मचारीमाथि उनले कारबाही नै गर्नेगरी तयारी थालेकी छिन् । श्रेष्ठले कारबाहीको तयारीस्वरुप २० हाटा कर्मचारीलाई स्पष्टीकरण सोधेकी छिन् ।



मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा गरिएको आन्तरिक छड्केमा हाटा कर्मचारीहरुको सूची तयार गरिएको थियो । हाजिर गरेर कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई स्पष्टीकरण सोधिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । यदि चित्तबुझ्दो स्पष्टीकरण नआए कानुनबमोजिम कारबाही हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

यस किसिमका अनुगमन तथा छड्के मन्त्रालयअन्तर्गतका विभाग तथा कार्यालयमा समेत निरन्तररूपमा हुने र कार्यालय समयमा बिनाजानकारी अनुपस्थित हुने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारी माथि कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।

मन्त्री श्रेष्ठले कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकन पनि हेर्ने तयारी गरेकी छिन् । कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएका कर्मचारीमाथि कारबाही गर्ने मन्त्री श्रेष्ठको तयारी छ ।

मन्त्रीको जिम्मेवारीमा आएसँगै मन्त्री श्रेष्ठले विभिन्न विभागका नेतृत्वमा पनि हेरफेर गरेकी छिन् । कतिपय कार्यसम्पादनमा उपयुक्त नदेखिएका कर्मचारीहरुलाई मन्त्रालयमा तानिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट