एसईई परीक्षामा सर्लाहीबाट १० निरीक्षकमाथि कारबाही-Sutra News

एसईई परीक्षामा सर्लाहीबाट १० निरीक्षकमाथि कारबाही

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् । बिहीबारदेखि सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा उनीहरूलाई कारबाही गरिएको हो ।



कारबाही स्वरुप उनीहरूलाई जारी एसईईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।

कारबाहीमा पर्ने निरीक्षकमा गोडैता नगरपालिकास्थित बेणीभोला माध्यामिक विद्यालय, जनता नमूना माध्यामिक विद्यालय, जनता मावि रामवन र बलरा नगरपालिकास्थित रामसखी मोहितसिंह मावि, जनता मावि, नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र माविका परीक्षा केन्द्रका निरीक्षकलाई कारबाही गरिएको जिल्लास्तरीय परीक्षा समन्वय समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

यसैबीच जिल्लामा छिटफुटबाहेक पहिलो दिनको एसईई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्लास्तरीय परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी धमलाले जानकारी दिए । “परीक्षा विगतको तुलनामा निकै मर्यादित बनेको छ”, उनले भने, “हामीले सुरक्षा तथा अनुगमनलाई निकै चुस्त बनाएका छौँ ।”

यस वर्ष सर्लाहीबाट एसईईमा १० हजार ८९६ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार छ हजार सात सय ८३ छात्रा र चार हजार एक सय १३ छात्रले परीक्षा दिइरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट