एसईईमा पाँच लाख विद्यार्थी सहभागी-Sutra News

एसईईमा पाँच लाख विद्यार्थी सहभागी

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबारदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ ।



पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुने छ ।

परीक्षामा सहभागी हुन देशभरबाट पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले रजिस्ट्रेसन फाराम भरी सहभागी छन् । सबैभन्दा बढी परीक्षार्थी काठमाडौंका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापानका २३ जना रहेको पनि बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले बताए ।

तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको छ । परीक्षाका लागि देशभरि दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा ४४१ वटा निर्धारण गरिएको छ । नेपाली भाषामा पढाइ सञ्चालन गरिरहेको जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ ।

यस पटकबाट परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ । गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो ।

यस पटक परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ । दुई विषयसम्म ननग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट