एमालेमा तेस्रो धारको जन्म – ओली र नेपाल दुवै अस्वीकार्य, तेस्रो व्यक्तिलाई अध्यक्ष बनाउन पहल-Sutra News

एमालेमा तेस्रो धारको जन्म – ओली र नेपाल दुवै अस्वीकार्य, तेस्रो व्यक्तिलाई अध्यक्ष बनाउन पहल

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

पार्टी विभाजनको संघारमा पुगेको नेकपा एमालेमा एकताको खोजी भइरहेको छ । कार्यदलमार्फत एकताको प्रयास गरेका दोस्रो पुस्ताका नेताहरूले अब अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालको विकल्पको खोजी गर्ने ठाउँमा पुगेका छन् ।



एक टेलीभिजन अन्तर्वार्ताका क्रममा सचिव गोकर्ण बिष्टले ओली र नेपाल दुवैको चर्को आलोचना गरेका थिए । उनले दुवै नेताहरू सच्चिएर नआए तेस्रो विकल्पको खोजीसमेत हुन सक्ने चेतावनी दिएका थिए ।

विभाजन रोक्न नेताहरूले दौडधूप गर्ने गरेका भएपनि ओली र नेपाल दुवै नेताले एकले अर्कालाई भित्तैमा पुर्याउने अभिव्यक्ति दिन छाडेका छैनन् । ललितपुरको च्यासलस्थित तुलसीलाल आमात्य प्रतिष्ठानको भवनमा ३ दिन लगातार बसेको एमालेको ओली पक्षीय केन्द्रीय कमिटीमा नेपालबिनैको पार्टी बनाउनुपर्ने बहस चलेको थियो ।

आज पुष्पलाल स्मृति दिवसका दिन सम्बोधन गर्दै ओलीले एक दिन अघि कारवाहीका लागि आफैंले स्पष्टिकरण सोधेका सांसदहरूलाई ‘आममाफी’ दिएको घोषणा गरे । ओलीले नेपालबिनैको एमाले बनाउने प्रयास गरिरहेका छन् तर त्यो सम्भव नदेखिएपछि कहिले कारवाही त कहिले आममाफीको प्रसंग ल्याउने गरेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै सर्वोच्च अदालत पुगेका नेपाल पक्षका कतिपय सांसदहरूले देउवालाई विश्वासको मत दिएका थिएनन् । आधा दर्जन भन्दा बढी सांसदहरूले नेपालको आग्रहलाई अस्वीकार गर्दै विश्वासको मत दिने दिन प्रतिनिधि सभामा अनुपस्थित भएका थिए ।

तर ओली पक्षमा रहेका ८ जनाले क्याम्प परिवर्तन गर्दै अनपेक्षित ढंगबाट देउवालाई विश्वासको मत दिए । नेपाल समूहका सांसदहरू बाहिरिनु र ओली समूहका सांसदहरूले देउवालाई विश्वासको मत दिनुले एमालेभित्रको शक्तिसन्तुलन खलबलिएको पुष्टि हुन्छ ।

नेपाल पक्षका नेताहरूबीचको छलफलमा पार्टी छोडेर नजाने बरू बहुमत पुर्याएर संसदीय दलका नेता र अध्यक्ष खोस्नुपर्ने कुरा उठ्न थालेको छ । ओली पक्षीय नेताहरूबीचको छलफलमा नेपाललाई पार्टीमा आउन नदिने तर अन्य नेताहरूलाई भने तान्नुपर्ने विषयमा बहस हुने गरेको छ ।

दुवैतिर एकताका लागि इमान्दार प्रयास गर्ने नेताहरू पनि छन् भने एकले अर्कालाई निषेध गरेर जानुपर्छ भन्ने हार्डलाइनर नेताहरू पनि छन् । मुख्यतः ओली र नेपालबीचकै मनमुटावले एमाले विभाजित हुने दिशातर्फ मोडिएको हो ।

राजनीतिक वृत्तमा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष बन्न प्रस्ताव गरेको चर्चा चल्न थालेको छ । तर नेता नेपालले त्यसलाई ओलीको ‘जाल’का रूपमा बुझेका छन् ।

यससँगै एमालेमा तेस्रो धारको विकास भइरहेको छ । उक्त धारको नेतृत्व भीम रावल, योगेश भट्टराई र गोकर्ण बिष्टले गरिरहेका छन् । ‘अहिलेसम्म हाम्रो धारमा १२/१३ सांसदहरू हुनुहुन्छ,’ एक सांसदले सूत्रन्यूजसँग भने, ‘ओली र माधव कमरेड कुनै हिसाबले मिल्ने स्थिति नदेखिए तेस्रो व्यक्तिलाई अध्यक्ष बनाएर भएपनि एमालेको एकता कायम गर्नुपर्छ भनेर हामीले छलफल र बहस चलाइरहेका छौं ।’

अध्यक्ष बने तेस्रो व्यक्ति को हुने त भन्ने प्रश्नको जवाफ भने ती नेतासँग थिएन । ‘हामी छलफलमै छौं । दोस्रो पुस्ताको कोही नेतालाई अध्यक्ष बनाएर अघि बढ्ने हाम्रो प्रस्ताव हो । अहिलेसम्म कसैको नाममा सहमति जुटिसकेको छैन ।’

गत पुस ५ गते ओलीले पहिलोपटक प्रतिनिधि सभा विघटन गर्दा नेकपा अस्तित्वमा थियो । त्यतिबेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नेपालबीच गठबन्धन बनेको थियो । तर फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको एकता विभाजित गरिदियो ।

त्यसयता एमाले र माओवादी केन्द्र दुई छुट्टाछुटै दलको अस्तित्वको रूपमा आए । रामबहादुर थापा बादललगायतका कतिपय नेताहरू ओली नेतृत्वको एमालेमै रहे । नेपालले नेतृत्व गरेको समूह समानान्तर कमिटी बनाउँदै फरक पार्टीको अभ्यास गरिरहेको छ ।

एमालेलाई एकताबद्ध राख्न भन्दै विघटित कार्यदलले गत असार २७ गते दश बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिमा नेता नेपालको सहमति देखिएन । दोस्रोपटक विघटन गरिएको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले बदर गरिदिएर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि एमाले पुनः विभाजनको बाटोतिर लागेको थियो ।

तर एमाले मिलाउन हिंडेकाहरूले तेस्रो धारको जन्म गराएर नयाँ व्याक्तिलाई अध्यक्ष बनाउन गरेको प्रयास सफल हुन्छ कि हुँदैन अहिल्यै भन्नु छिटो हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट