एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक सर्‍यो-Sutra News

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक सर्‍यो

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक वैशाख ३१ गतेदेखि काठमाडौंमा बस्ने भएको छ । यसअघि वैशाख २८ गतेदेखि बैठक बस्ने भनिएको थियो ।



पार्टी महासचिव घनश्याम भुसालले आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए । वैशाख ३१ देखि दुई दिनसम्म चल्ने बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत हुने पार्टीको वैचारिक दृष्टिकोण, जनवर्गीय संगठनका कार्यप्रगति, नवीकरण गरिएका संगठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल केन्द्रित रहने उनको भनाइ थियो ।

सोही बैठकबाट देशभर पार्टी संगठनको अवस्था, आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफलका साथै प्रदेश, क्षेत्र र भुगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी बाँडफाँड गरिने पनि जनाइएको छ ।

बैठकमा आगामी असारमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका मापदण्ड तय गर्ने र संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने छ ।

बैठकमा पार्टी अध्यक्ष माधव नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनमा समेत छलफल हुनेछ । पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट