बागमती प्रदेशमा नेवार र तामाङ भाषा सरकारी कामकाजमा आयो-Sutra News

बागमती प्रदेशमा नेवार र तामाङ भाषा सरकारी कामकाजमा आयो

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ भाषा कार्यान्वयनमा आएको छ ।



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ शुभारम्भ घोषणा गर्दै ती भाषा सरकारी कामकाज कार्यान्वयनमा आएको घोषणा गरेका हुन् ।

आज ‘भाषा दिवस २०८१’ पनि भएकाले सरकारले ती भाषा सरकारी कामकाजमा कार्यान्वयनमा आएको घोषणा गरेको हो । यस अवसरमा प्रदेश सरकारले आज प्रदेशभित्र सार्वजनिक बिदासमेत दिएको छ ।

विं.सं. २०८० कात्तिक २३ गते प्रदेश सरकारले सो ऐन प्रमाणीकरण गरेको थियो । बागमती प्रदेशसभा सदस्य बहादुरसिंह लामाले आजदेखि कामकाजको भाषामा कार्यान्वयनमा आएको नेवार र तामाङ भाषालाई व्यावहारिक रुपमा कार्यान्वयनका लागि केही जटिलता भए पनि सबैको साथ र सहयोग जरुरी रहेको बताए ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायतको उपस्थिति थियो ।

नेवा देव दबूका अध्यक्ष पवित्र बज्राचार्यले बागमती प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयनमा ल्याएकामा धन्यवाद दिए ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले विगत लामो समयदेखिको माग सम्बोधन भएकामा प्रसन्नता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट