बढ्यो चिराइतोको मूल्य, किसान उत्साहित-Sutra News

बढ्यो चिराइतोको मूल्य, किसान उत्साहित

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

ताप्लेजुङ- पछिल्लो एक सातायता चिराइतोको मूल्यमा सुधार आएको छ । सोअघि ताप्लेजुङमा प्रतिमन रु आठ हजारका दरले कारोबार भइरहेको चिराइतोको मूल्य एक्कासि बढेर हाल रु १५ हजारका दरले कारोबार भइरहेको छ ।



उता झापाको बिर्तामोडमा भने प्रतिमन रु २० हजारका दरले कारोबार भइरहेको व्यवसायीले बताएका छन् । यसअघि झापामा प्रतिमन रु १३ हजारमा कारोबार भइरहेको थियो । पछिल्लो एक सातायता क्रमशः मूल्य वृद्धि हुँदै हाल झापामा प्रतिमन रु २० हजार पुगेको हो ।

‘एक साता अघिसम्म यहाँ प्रतिमन रु आठ हजारमा किनबेच भइरहेको थियो, अहिले रु १५ हजार पुगेको छ, झापामा रु २० हजार छ’, व्यवसायी सबिन बानियाँले भने । पछिल्लो सिजनमा उत्पादन न्यून रहेको र हाल भारतलगायतका ठाउँबाट यसको माग बढेकाले मूल्य पनि बढेको हुन सक्ने बानियाँले बताए ।

पछिल्लो समय पूर्वी पहाडी जिल्लामा उत्पादित चिराइतो धेरैजसो भारततर्फ निकासी भइरहेको छ । एक वर्ष अघिसम्म जिल्लाको ओलाङ्चुङगोला हुँदै चीनको तिब्बततर्फ पनि निकासी हुने गरेको थियो तर कोभिड–१९ का कारण एक वर्षदेखि टिपताला नाका बन्द हुँदा त्यसतर्फ चिराइतोलगायतका सामानको निकासी पनि ठप्प बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट