बढ्न सकेन शेयर बजार-Sutra News

बढ्न सकेन शेयर बजार

बुधबार, २ जेष्ठ २०८१

बुधबार, २ जेष्ठ २०८१

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दैगर्दा उल्लासपूर्ण देखिएको शेयर बजारमा लगत्तै निराशा छाएको छ । नीति तथा कार्यक्रम घोषणा गरेको भोलिपल्टै (बुधबार) बजार ओरालो लागेको छ ।



बुधबार ९.५४ अंकले घट्दै बजार २०१७.९७ को बिन्दुमा ओर्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । स्टक एक्सचेन्जका अनुसार समग्रमा बजार ०.४७ प्रतिशतले घटेको छ ।

घटेको बजारमा अधिकांश कम्पनीका मूल्यमा गिरावट आएको स्टक एक्सचेन्जले जनाएको छ । स्टक एक्सचेन्जका अनुसार बुधबार कारोबारमा आएका २४५ कम्पनीमध्ये १७२ कम्पनीको मूल्य घटेको छ ।

यस दिन उत्पादन तथा प्रशोधन, सामूहिक लगानी र अन्यबाहेकका इन्डेक्सहरु राताम्मे बने । औसतमा एक प्रतिशतभन्दा कमले इन्डेक्सहरुमा गिरावट आएपनि अधिकांशका मूल्य घटे ।

बजारमा निराशा छाएसँगै कारोबार रकम पनि घटेको स्टक एक्सचेन्जले जनाएको छ । बुधबार ८४ लाख ९० हजार ७२२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम तीन अर्ब ७० करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ । यसअघि मंगलबार कारोबार रकम चार अर्बमाथि भएको थियो ।

बजारमा गिरावट आउँदा पिपुल्स हाइड्रो, नेपाल फाइनान्स, सांग्रिला विकास बैंकलगायतका कम्पनीको शेयर किनबेच उच्च रहेको स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार नाफा ओगट्न पिपुल्स हाइड्रो लगानीकर्ता बेच्न झुम्मिएको देखियो । तीन प्रतिशतभन्दा बढीले मूल्य घट्दै गर्दा पिपुल्सको २ लाखभन्दा कित्ता शेयर किनबेच भएको स्टक एक्सचेन्जले जनाएको छ । जसको कारोबार रकम ११ करोड ८९ लाख रुपैयाँमाथि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट