आर्यन सिग्देल भन्छन्– बुबाकै ब्राह्मण लुक्स नक्कल गरेर ‘पुजार सार्की’ बनेँ-Sutra News

आर्यन सिग्देल भन्छन्– बुबाकै ब्राह्मण लुक्स नक्कल गरेर ‘पुजार सार्की’ बनेँ

शुक्रबार, ४ जेष्ठ २०८१

शुक्रबार, ४ जेष्ठ २०८१

काठमाडौं। कलाकारका अनेक दुःख छन् । आफू रियलमा जस्तो छु, रिलमा त्यस्तै हुने छुट हुँदैन । पात्रअनुसार अनेक जीवन बाँच्नुपर्छ । अभिनेता आर्यन सिग्देललाई यसपटक यस्तै भएको छ । रियलमा उनी आफूलाई ‘न आस्तिक, न नास्तिक’ भनेर चिनाउँथे । तर, रिलमा उनी पुजारी बनेका छन् । यही जेठ १० गतेबाट रिलिज हुने तयारीमा रहेको फिल्म ‘पुजार सार्की’मा उनी ब्राह्मण चरित्रमा देखिँदै छन्।



रोचक त के छ भने उनले यो फिल्ममा आफ्नै बुबाको ब्राह्मण लुक्स नक्कल गरेका छन् । फिल्मका निर्देशक दिनेश राउतले आर्यनका बुबाको तस्बिर कतै देखेका थिए। फिल्मका पात्रहरू ‘सेटिङ’ गर्ने क्रममा उनलाई एक्कासि त्यो फोटो याद आयो। लगत्तै आर्यनसँग सोही फोटो मागेर क्यारेक्टरमा काम गर्न थाले। ‘मलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुपर्‍यो तर, लुक्स बनाउन भने मेहनत गर्नुपरेन,’ आर्यन भन्छन्, ‘निर्देशकले मेरो बुबाको पुरानो फोटो सम्झिएका रहेछन्। उनले त्यो फोटो मागे पछि मैले दिएँ। त्यो फोटो अनुसार मेरो लुक्स ट्राइ गर्ने बित्तिकै फाइनल भयो। तर, क्यारेक्टरको गहिराइबारे सोच्दा भने अलिक गाह्रो भयो ।’

आर्यनको लुक्स बाहिरिएपछि उनका बुवा समेत दंग छन् । ‘निकै सुहाएको छ, मेरै कपी गरिछस् भन्नुभयो,’ बुबाको प्रतिक्रिया उद्धत गर्दै आर्यनले भने । आर्यन ब्राह्मण समुदायको र बुबा पण्डित भएता पनि उनमा पूजा पाठको गुण केही थिएन। ‘म आउट अफ ट्रयाकको मान्छे हुँ। मेरो बुवा पण्डित हुनुहुन्छ। बुवा पण्डित भएता पनि म खासै टिका नलगाउने मान्छे परेँ। म मनमा भएको भगवान् देखाइरहनु पर्दैन भन्ने सोचमा विश्वास राख्छु,’ आर्यन भन्छन् ।

यो फिल्ममा आर्यनको अपोजिटमा अभिनेत्री अञ्जना बराइली छिन् । अञ्जनाले दलित समुदायको प्रतिनिधित्व गर्ने चरित्र निभाएकी छन्। फिल्ममा पुजारी आर्यन र दलित समुदायकी अञ्जनाबीचको अन्तरजातीय प्रेम देखाउन खोजिएको छ । ‘फिल्ममा मैले पूजापाठ गर्दागर्दै अञ्जनासँग अफयर हुने हो,’ आर्यनले भने, ‘मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको, पीडा बोकेर हिँडेको किसिमको छ। त्यस कारण प्रेम गर्दा पनि म त्यति साह्रो खुल्न पाउँदिनँ र पूजा गर्दा पनि धेरै पूजा गर्न पाउँदिन।’

यो फिल्ममा आफ्नो चरित्र निर्माण निकै चुनौतीपूर्ण रहेको आर्यनको अनुभव छ। ‘अहिले पनि मान्छेमा जातीयताको विषयमा शिक्षाको कमी छ, त्यो हामीले देखिरहेकै कुरा हो,’ उनले भने, ‘कति घटना अहिले पनि घटिरहेका छन्। कति समाचारमा आए होलान्, समाचारमा नआएका कति घटना होलान्। त्यही परिस्थितिसँग जुधेर चलचित्र अगाडि बढेको छ। यसमा मेरो चरित्र निर्माण निकै चुनौतीपूर्ण थियो।’

फिल्म करिअरको सुरुवात देखि नै ‘लभरब्वाई’ ट्याग पाएका आर्यन यसैलाई बोकेर करिब दुई दशक फिल्म क्षेत्रमा बिताए । करिअरको मध्य बिन्दु तिर उनले ‘होमवर्क’ जस्तो अलग विषय र चरित्रमा काम गरे । तैपनि उनको छवि बदलिएन। अब ‘पुजार सार्की’बाट भने त्यो छवि बदलिने आर्यनको अपेक्षा छ । ‘हामीले यो धारको चलचित्र पनि गर्नुपर्छ र अर्को मूलधारको चलचित्र पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘दुवैलाई सन्तुलन गरेर अगाडि लैजान सकियो भने उद्योगलाई पनि फाइदा हुन्छ। राम्रो स्क्रिप्ट आयो भने प्रेमकथाको चलचित्र पनि गर्छु। राम्रो तर फरक भूमिकाको स्क्रिप्ट आयो भने त्यसलाई बढी प्राथमिकता दिन्छु। मलाई फरक चरित्रमा प्रस्तुत गर्न हिचकिचाइरहनु भएका निर्माताहरूलाई यो फिल्मले पुरानो छाप मेट्न सक्छ ।’

आर्यन आफ्नो लागि ‘होमवर्क’को वृद्ध चरित्र भन्दा पनि ‘पुजार सार्की’को चरित्र आफूलाई चुनौतीपूर्ण लागेको बताउँछन् । ‘यसमा शारीरिक हाउभाउदेखि लिएर लुक्स, सँगसँगै कास्कीकोटको भाषाको सीमा पनि थियो। सबै चिजलाई ‘मर्ज’ गर्दा ‘पुजार सार्की’ अलिक टफ भयो,” उनले भने।

‘पुजार सार्की’ किन हेर्ने ?’

‘यो दिनेश राउत, विकास सुवेदी, पल शाह, आर्यन सिग्देल र प्रदीप खड्काको विश्वासका लागि पनि हेर्ने हो। के विषय, कुन आइडियामा चलचित्र बनेछ, यी पाँच जना कसरी बाँधिन सके भन्ने चासो हुनेले अवश्य नै यो चलचित्र हेर्नुहुनेछ,’ आर्यनसँग यसको प्रष्ट जवाफ छ, ‘फिल्मले जुन विषय उठाएको छ, त्यो सबैले हेर्न जरुरी छ। ३५–४० वर्ष अगाडि हाम्रो समाजको अवस्थिति कस्तो थियो भन्ने पनि थाहा हुन्छ। इतिहास बुझ्न पनि ‘पुजार सार्की’ हेर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट