एमालेमा अचम्म : ११ नेतालाई साधारण सदस्यबाट निष्कासन गरेर एकताका लागि अन्तिमसम्म प्रयास ?-Sutra News

एमालेमा अचम्म : ११ नेतालाई साधारण सदस्यबाट निष्कासन गरेर एकताका लागि अन्तिमसम्म प्रयास ?

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलवार डाकेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय गर्यो ।



परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय भएको बताए । तर वास्तविकता भने अलग छ । वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ नेताहरूलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गरिएको छ ।

‘बैठकमा पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न भइरहेका कुराकानीका बारेमा विवेचना गरेका छौं,’ ज्ञवालीले भने, ‘नेतृत्वको तर्फबाट एकताका निम्ति अन्तिम समयसम्म पनि प्रयत्न जारी राख्ने निर्णय गरेका छौँ ।’

पार्टीबाट निष्कासन गरेर एकताका लागि अन्तिमसम्म प्रयास कसरी हुन सक्छ ? यो प्रश्न प्रवक्ता ज्ञवालीले सामना गर्नुपरेको भए के भन्थे होला ? जोसँग एकताबद्ध भएर अघि बढ्नुपर्ने हो त्यही पक्षलाई कारवाही गरेर पार्टीबाट निकालेपछि एकता गर्ने को सँग ?

पार्टीको साधारण सदस्यबाट निष्कासित एक नेता भन्छन् – ‘उहाँहरूले गर्ने भनेको एकता यही हो । जसले पार्टी बनायो उसलाई निकाल्ने । एकताको माला चाहिँ जपिरहने । कारवाही पनि गरेको छ, एकताको प्रयास पनि भनेको छ । यो कहाँ मिल्छ ?’

पढ्नुहोस् यो पनि – 

सकियो एमाले स्थायी कमिटीको बैठक, एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय सकियो एमाले स्थायी कमिटीको बैठक, एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय

 

यद्यपी एमालेका दोस्रो पुस्ताका नेताहरू एकताकै लागि भनेर दौडधूप गरिरहेका छन् । सोमवार साँझ अबेरसम्म होटेल याक एण्ड यतीमा नेताहरूबीच मन माझामाझ भयो । करीब ५ घण्टा भएको छलफलमा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी थिए भने नेता नेपालको तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए । 

छलफलमा सहभागी नेता नेम्वाङले भने – ‘हामी पार्टी एकताका लागि निरन्तर छलफलमै छौं । हिजो अलि लामै छलफल भएको थियो । पार्टीलाई एकजुट राख्न उहाँहरू (नेपाल पक्ष) सकारात्मक रहेको हामीले पाएका छौं ।

तर छलफलमा कुनै ठोस निष्कर्ष भने निस्किएन । देशीविदेशी स्वार्थअनुसार एमालेलाई विभाजन गर्न ओली नै उद्दत रहेको नेता नेपालनिकट नेताहरूको कथन छ । ‘प्रधानमन्त्रीले विदेशी स्वार्थअनुसार एमाले फुटाउने कदम चालिरहनु भएको छ,’ छलफलमा सहभागी नेपाल पक्षका एक नेता भन्छन्, ‘छलफल त गरिरहेका छौं तर मिल्ने बाटो कहीं देखिएको छैन ।’

आज बसेको स्थायी कमिटी बैठकमा केही दिनअघि स्पष्टिकरण सोधिएका १२ नेताहरूलाई पार्टीबाट निष्कासन गर्नुपर्ने माग उठेको थियो । तर नेम्वाङलगायत केही नेताहरूले वार्ता चलिरहेकाले थप कारवाहीको सिलसिला अघि बढाउन नहुने राय राखे । त्यसपछि कारवाहीको निर्णय रोकिएको थियो ।

गत जेठ २ गते एमालेलाई विभाजन हुन नदिन भन्दै दश सदस्यीय कार्यदलसमेत गठन गरिएको थियो । कार्यदलमा ओली र नेपाल पक्षका ५/५ नेताहरूलाई राखियो । कार्यदलको बैठक जम्मा एकपटक मात्र बस्न सक्यो । पार्टीलाई एकताबद्ध बनाएर अघि लैजान प्रतिवेदन तयार गर्ने म्यान्डेट दिइएको कार्यदल अहिले निष्क्रिय बनेको छ ।

पढ्नुहोस् यो पनि – 

माधव र झलनाथ अब कुन पार्टीका नेता ? नेम्वाङ भन्छन् - अन्त कता हुनुहुन्छ थाहा भएन, एमालेमा हुनुहुन्न माधव र झलनाथ अब कुन पार्टीका नेता ? नेम्वाङ भन्छन् – अन्त कता हुनुहुन्छ थाहा भएन, एमालेमा हुनुहुन्न

 

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका थिए भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट रहेका रहेका थिए । ओली र नेपालबीच भेटवार्ता भएपछि कार्यदल गठन गरिएको थियो ।

कार्यदलबारे राखिएको प्रश्नमा प्रवक्ता ज्ञवालीले भने – ‘कार्यदलका कतिपय सदस्यहरू कारवाहीमा पर्नुभएको छ, त्यसैले त्यो अहिले निष्क्रिय बनेको छ । हामीले कार्यदलमार्फत होइन, छुट्टै पहलमार्फत पार्टी एकतालाई कायम राख्न प्रयास गर्दै आइरहेका छौं ।’

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको एकता खण्डित गरी एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरेको थियो । त्यसपछि ओलीविरुद्धको मोर्चाबन्दीबाट छुटेर नेता नेपाल पक्ष एमालेमै फर्कियो । ओलीले नेता नेपाललाई भाउ दिएनन् । एकपक्षीय निर्णयहरू गरिरहे ।

नेपाल पक्षले पनि समानान्तर कमिटी गठन गर्दै गयो । ओलीविरुद्ध बनेको विपक्षी गठबन्धनमा नेता नेपाल सामेल भए । पछिल्लो समयमा कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै नेपाल पक्षका २३ निवर्तमान सांसदहरूले हस्ताक्षर गरेपछि तत्कालै ११ नेताहरूलाई पार्टीबाट निकाल्ने निर्णय ओलीले गराए ।

पढ्नुहोस् यो पनि – 

महतोको नेतृत्वमा ८ मन्त्रालय लिएर सरकारमा जाने ओली र ठाकुरबीच सहमति, सपथ भोलिसम्म महतोको नेतृत्वमा ८ मन्त्रालय लिएर सरकारमा जाने ओली र ठाकुरबीच सहमति, सपथ भोलिसम्म

आन्तरिक विवादकै कारण नेकपा विभाजित भयो भने त्यसपछिको एमालेसमेत विभाजित हुने अवस्थामा पुगेको छ । जनता समाजवादी पार्टी (जसपा)मा पनि एउटा पक्षले अर्को पक्षलाई कारवाही गर्ने सिलसिला चलिरहेको छ ।

ओली नेतृत्वको सरकारमा सामेल हुने पक्षमा रहेका अध्यक्ष महन्थ ठाकुरलाई अर्का अध्यक्ष उपेन्द्र यादवले कारवाही गरेका छन् भने यादवलाई पनि ठाकुरले साधारण सदस्य नै नरहने गरी मंगलवार कारवाही गरे ।

सोमवार एक कार्यक्रममा बोल्दै ओलीनिकट नेताले आफूहरूसँग माओवादी केन्द्र कांग्रेससमेत विभाजन गर्ने हैसियत रहेको दाबी गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट