बनेपामा हट्यो लगातार दुई हप्ता गरिएको शिल-Sutra News

बनेपामा हट्यो लगातार दुई हप्ता गरिएको शिल

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ । नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ । शिल अवधिभर बनेपाले मर्निङवाक समेत गर्न दिएको थिएन । नगरद्वारा सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपनाई अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न पाइने तथा बिहान ६ देखि १० बजेसम्म खाद्यान्न, ग्यास, तरकारी, फलफूल, खानेपानी तथा पशुको दाना बिक्री गर्ने पसल खोल्न पाइने भएको जनाइएको छ । 



बैंक–वित्तीय संस्था, विद्युत्, सञ्चार कार्यालय, फोहर व्यवस्थापनका कार्यालय खोल्न पाइए पनि निजी तथा सार्वजनिक सवारी, भीडभाड हुने जिमखाना, सिनेमा हल, विद्यालय, पार्टी प्यालेस, रेष्टुरेन्ट सञ्चालन गर्न पाइने छैन् ।

केही दिनदेखि सङ्क्रमण दर घटिरहेको बनेपा नगरका हाल २११ पुरुषसहित ३९४ सक्रिय सङ्क्रमित छन् । हालसम्म यहाँका २२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । बनेपा जिल्लाको प्रमुख शहर हो । अन्य चार स्थानीय तहमा भने शिल कायमै छ । पनौती नगर, भुम्लु गाउँपालिका र बेथान चोक गाउँपालिकाको शिल–अवधि पनि सोमबार सकिएको छ । नमोबुद्ध नगर र रोशी गाउँपालिकाको शीलको समयसीमा बुधबारसम्म छ । जेठ ७ गते पाँच दिन नगर क्षेत्र शिल गरेको धुलिखेलले एकैपटक पुनः १० दिन शीलको अवधि थपेको छ । पाँचखालले भने ८ गतेदेखि एकैपटक १५ दिन नगर शिल गरेको थियो ।

मण्डनदेउपुरले दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण, नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्नुपर्ने जनाउँदै १२ गतेदेखि एकैपटक १० दिन नगरक्षेत्र शिल गरेको छ । शिल गरिएका सबै तहले आफ्नो क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाउँदै आएका छन् ।

सूचना विभागबाट जारी प्रेस पासबाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवं प्रेस विज्ञप्तिमा उल्लेख गरिएका छन् । जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक थपेको निषेधाज्ञा २४ गतेसम्म छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३८५ कोरोनामुक्त भएका छन् भने सङ्क्रमित २०६ मा सीमित रहे । अघिल्लो दिन १८६ भने जम्मा ५८ कोरोना सङ्क्रमित थपिएका थिए । यस्तै शनिबार १७६ कोरोनामुक्त भएका थिए भने ६४ नयाँ सङ्क्रमित थपिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा छ सङ्क्रमितले ज्यान गुमाएका छन् । 

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २२७ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी पाँचखाल नगरमा १९ प्रतिशत अर्थात् ४०४ सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये धुलिखेलमा २९९, पनौतीमा २७७, नमोबुद्धमा ११९, मण्डनदेउपुरमा १३६ तथा रोशी गाउँपालिकामा १२८, चौँरी देउरालीमा ५७, तेमालमा ९४, भुम्लु १५२, खानी खोलामा २९, बेथानचोकमा १०७ र महाभारत गाउँपालिकामा ३१ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो । कूल सङ्क्रमितमध्ये ९३ प्रतिशत अर्थात् दुई हजार ८४ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । केन्द्रका अनुसार हालसम्म जिल्लाका १३३ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट