कोरोना बीमा गराउने संख्या ६ लाख ८९ हजार, १४१ जनाको दाबी भुक्तानी-Sutra News

कोरोना बीमा गराउने संख्या ६ लाख ८९ हजार, १४१ जनाको दाबी भुक्तानी

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं–नेपालमा कोभिड–१९को संक्रमण बढेसँगै नेपाल सरकारले सुरु गरेकको ‘कोरोना स्वास्थ्य बीमा’ गराउने व्यक्तिहरूको संख्या बढेको छ। हालसम्म २० वटा निर्जीवन बीमा कम्पनीमार्फत् ६ लाख ८९ हजार २७ जनाले कोरोना बीमा गरेका छन्।



कोरोना जोखिम बढ्दो अवस्थामा रहेका बेला कम खर्चमा बीमा गरेर जोखिमबाट सुरक्षित रहन यसप्रति मानिसको आकर्षण बढेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन्।

‘कोरोना स्वास्थ्य बीमा’अन्तर्गत एक लाखको बीमा गर्नेले प्रतिव्यक्ति वार्षिक १ हजार रुपैयाँ प्रिमियम भुक्तानी गर्नुपर्ने हुन्छ। त्यस्तै परिवारको हकमा वार्षिक प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले प्रिमियम भुक्तानी हुन्छ।

कोरोना बीमा गर्ने (बीमित)लाई बीमांक रकममा दुई विकल्प हुने व्यवस्था गरिएको छ। त्यस्तै ५० हजारको बिमांकमा त्यसकै आधा अर्थात् प्रतिव्यक्ति वार्षिक ५ सय र परिवारकै गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँका दरले प्रिमियम भुक्तानी गर्नुपर्ने बिमा पौडेलले बताए।

यदी तीन सदस्य परिवारको १–१ लाखको बीमा भएको छ भने प्रतिव्यक्ति वार्षिक ६ सयका दरले प्रिमियम बुझाउनु पर्ने हुन्छ। ‘पिसिआरमार्फत् जब उनीहरूमा कोरोना संक्रमण भएको पुष्टि हुन्छ, प्रतिव्यक्ति १ लाखका दरले बीमा रकम प्राप्त गर्छन,’ पौडेल भन्छन्।

त्यसका लागि बीमा गरेको १५ दिनको समय भने पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ। १४ दिनको क्वारेन्टाइनकै अवधि भएकाले त्यसलाई मध्यनजर गर्दै १५ दिनको ग्याप पिरियड राखिएको पौडेलले बताएका छन्।

बीमितको कम्पनीहरूले बीमा आवेदन स्वीकृत गरेको १५ दिनपछि पिसिआरमार्फत् कोरोना पोजेटिभ देखिएमा उसले बीमा रकम प्राप्त गर्नेछ।

हालसम्म ‘कोरोना स्वास्थ बीमा’मार्फत् रु ३८ करोड ७७ लाख ९३ हजार ४८२ हजार प्रिमियम संकलन भइसकेको पनि उनले जानकारी दिए। हालसम्म बीमा कम्पनीहरुले एक सय ४१ जनाको दाबी भुक्तानीको लागि प्रक्रिया अगाडी बढाएका छन्। जसमध्ये ४८ जनाले भुक्तानी पाइसकेका छन्।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ। अहिलेसम्म १०४ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट