२५ बैंकको घट्यो मुनाफा-Sutra News

२५ बैंकको घट्यो मुनाफा

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं–कोरोना भाइरसका कारण बैंकहरूको मुनाफा घटेको छ । आर्थिक वर्ष ०७६/७७ मा हाल सञ्चालनमा रहेका २५ ओटा वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट आएको हो।



शुक्रबारसम्म सञ्चालनमा रहेका कृषि विकास बैंक र प्रभु बैंकबाहेक २५ ‘क’ वर्गका वाणिज्य बैंकले आव २०७६/७७ को वार्षिक विवरण प्रकाशित गरेका छन्। उनीहरूले शुक्रवार सार्वजनिक गरेको विवरणअनुसार कोरोनाका कारण वाणिज्य बैंकको नाफामासमेत असर परेको छ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले वाणिज्य बैंकको नाफामा प्रत्यक्ष असर पारेको छ। बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आव २०७६/७७ मा कुल रू। ५१ अर्ब १७ करोड बराबरको नाफा गरेका छन्। अघिल्लो आवमा रू ५७ अर्ब ४४ करोड नाफा गरेका थिए।

अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरूको नाफा झण्डै ११ प्रतिशतले घटेको छ। विवरण अनुसार बैंकको नाफा रू ६ अर्ब २७ करोडले घटेको हो। वित्तीय विवरण सार्वजनिक गरेका २५ ओटा वाणिज्य बैंकमध्ये कुल १८ बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको पाइएको छ। विवरणअनुसार सात ओटा वाणिज्य बैंकको नाफामा सामान्य वृद्धि भएको छ।

आव ०७६/७७ मा सबैभन्दा कम नाफा गर्ने बैंकमा सिभिल बैंक रहेको छ। सो बैंकको नाफा ३५ प्रतिशतले घटेको छ। नेपाल एसबिआई बैंकको नाफा ३३ दशमलव २२, कुमारी बैंकको शून्य दशमलव ३१ प्रतिशत छ। विवरणअनुसार माछापुच्छ्रे २६ दशमलव २२, सानिमाको २४ दशमलव ५६,सिटिजन्स बैंकको २३.७२,नेपाल इन्भेष्टमेन्टको २२.६३, बैंक अफ काठमाडौँको २२ दशमलव २१ र नेपाल बङ्गलादेश बैंकको नाफा २० दशमलव ७५ प्रतिशतले घटेको छ।

यस्तै, स्ट्यान्डर्ड च्यार्टर्ड बैंकको १८ दशमलव ५१, सनराइजको १८ दशमलव ३५, एभरेष्टको १८ दशमलव १४, नबिलको १५ दशमलव ८५ र राष्ट्रिय वाणिज्य बैंकको ११ दशमलव ७७ प्रतिशतले नाफामा गिरावट आएको छ। सिद्धार्थको ८ दशमलव २६, हिमालयनको आठ, नेपाल बैंकको १ दशमलव ५५ र कुमारी बैंकको शून्य दशमलव ३१ प्रतिशतले नाफा घटेको छ।

त्यसैगरी सेञ्चुरी बैंकले ३३ दशमलव ९७, ग्लोबल आइएमईले ११, एनसीसीले १० दशमलव ७४, प्राइमले ४ दशमलव २७, एनआईसि एशियाले ३ दशमलव २४ र एनएमबि बैंकले शून्य दशमलव ५९ प्रतिशत मात्रै नाफा गरेको शुक्रवार प्रकाशित विवरणमा समावेश छ । राष्ट्रिय वाणिज्य बैंकले रू ४ अर्ब ४५ करोड नाफा आर्जन गरेको छ। सिभिल बैंकले रू ४५ करोड ७० लाख नाफा आर्जन गरेको छ। नबिल बैंकले रू ३ अर्ब ५६ करोड,एनआईसि एशिया बैंकले रू ३अर्ब १२ करोड नाफा कमाएको छ।

गतवर्ष जनता बैंकलाई गाभेको ग्लोबल आइएमई बैंकले रू ३ अर्ब ८ करोड कमाएको छ। यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले रू.२ अर्ब ५७ करोड नाफा कमाएको छ। हिमालयन बैंकले रू २ अर्ब ५४ करोड नाफा गरेको छ। माछापुच्छ्रे बैंकले रू १ अर्ब २५ करोड, सानिमा बैंकले रू१ अर्ब ७० करोड नाफा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट