लकडाउनपछि कस्तो छ सेयर बजारको अवस्था ?-Sutra News

लकडाउनपछि कस्तो छ सेयर बजारको अवस्था ?

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)को साप्ताहिक विवरणअनुसार यो हप्ता सेयर बजार घटेको छ । बिहीबार सार्वजनिक रिपोर्टअनुसार सेयर बजार १६.५३ अंकले घटेर १४०८.७९ बिन्दुमा पुगेर रोकिएको छ ।



सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरेपछि सेयर कारोबार हुने नियामक निकाय नेपाल स्टोक एक्सचेन्ज र धितोपत्र बोर्ड ९८ दिनसम्म बन्द रहेको थियो । जसकारण लामो समय सेयर बजारका सबै कारोबार ठप्प भए ।

नेपालमा सेयर बजार अनलाइन प्रणाली दुई वर्षअघि नै सुरु भए पनि यो अहिलेसम्म सबै लगानीकर्ताको पहुँचमा पुग्न सकेको छैन । सरकारले चैत ११ गतेबाट गरेको लकडाउन साउन ७ गतेबाट खोलेको थियो । तर, सेयर बजार भने केही समय ढिला खुल्यो ।

सेयर बजार खुलेको केही दिन बजारमा सकारात्मक सर्किट लागेको थियो । त्यतिबेला सेयर बजार सकारात्मक हुनुको कारण अन्य व्यापार/व्यवसाय क्षेत्रका लगानीकर्ताहरु यसतर्फ आकर्षिक भएका थिए । ‘विदेशबाट आएका नेपाली नागरिकहरुसमेत अन्य कतै लगानी गर्ने अवस्था नहुँदा सेयर बजारतर्फ नै होमिएका थिए । त्यसकारण त्यो समयमा सेयर बजार उकालो लागेको थियो,’ सेयर बजारका पुराना लगानीकर्ता दिलिप मुनाकर्मीले भने ।

नेपाल राष्ट्र बैंकले २०७७/७८ को लागि प्रस्तुत गरेको मौद्रिक नीतिले पनि सेयर बजारलाई सकरात्मक बनाउनको लागि राम्रो भुमिका खेलेको थियो ।

यता बैंकहरुले पनि सेयर कर्जाको ब्याजदर घटाएका छन् । अनलाइनमार्फत् हुने कारोबार रकमको सीमा पनि हटाइएको छ । व्यवसायीहरुले भन्दा सेयर कारोबार गर्ने लगानीकर्ताले सहजरुपमा कर्जा पाउने गर्दछन् ।

कोरोनाको कारण अन्य क्षेत्रको व्यवसाय धरासय बन्दै गर्दा व्यवसायीहरुले बैंकबाट ऋण लिने क्रमसमेत बन्द भएको छ । जसकारण बैंकले प्रवाह गरेको ऋणको साँवा तथा ब्याज उठ्न सकेको छैन ।

यही कारण बैंकको मुनाफा घटेको बताउँछन् नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार । ‘यसले गर्दा आउने दिनहरुमा सेयर बजार झन् घट्न सक्ने देखिन्छ,’ उनले भने ।

पछिल्लो समय बैंकमा अधिक मात्रामा तरलता रहेको छ । यसकारण पनि लकडाउनपछि खुलेको सेयर बजार सकारात्मक भएको लगानीकर्ता दिलीप मुनाकर्मी बताउँछन् । ‘कोरोना भाइरसको कारण वैदेशिक सेयर बजारहरुमा भारी गिरावट आएको थियो । तर, नेपालमा भने सेयर बजार बन्द भएको कारण खासै प्रभाव परेन,’ मुनाकर्मीले बताए ।

लकडाउन खुला भएपछि सेयर बजारमा सामान्य घटबढ भइरहेको छ। यसलाई लगानीकर्ताले बजारको सामन्य प्रवृत्तिकै रुपमा लिएका छन् । सेयर बजारमा हाल अनलाइन प्रणालीबाट सेयर कारोबार गर्ने कर्मचारीको संख्या ५७ हजार १५६ जना रहेको छ ।

यता पछिल्लो समय बैंक तथा लघुवित्तहरुले धमाधम अर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । वित्तीय क्षेत्रमा पनि कोरोनाको प्रभाव देखिएको छ। अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेको बैंकहरुमध्ये सबै बैंकको वित्तीय अवस्था सामान्य खस्किएको छ।

सेयर बजार पनि वित्तीय क्षेत्रको अभिन्न अंग हो। वित्तीय क्षेत्रको नाफा घट्नुलाई सेयर बजारका लगानीकर्ताहरुले पनि नकारात्मक रुपमा लिन नहुने नविल बैंकका सिइओ अनिल केसरी शाह बताउँछन् । ‘यसलाई वित्तीय क्षेत्रमा आएको समस्या भन्ने बुझेर अगाडी बढ्न जरुरी छ । कोरोना भाइरसको भ्याक्सिन नआउँदाको अवस्थासम्म हामीले सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन,’ सिइओ शाहले भने ।

वित्तीय क्षेत्रले सेयरधनीहरुलाई आर्थिक वर्षको नाफा अनुसार बोनस तथा नगत लाभांश वितरण गर्ने गर्दछ । यसकारण बैंक तथा वित्तीय क्षेत्रको नाफा घट्नु भनेको बोनस तथा नगत लाभांस पनि घट्नु हो।

बैंकको वित्तीय नाफा घटेका कारण बैंक तथा वित्तीय संस्थाहरुले व्यावसायिक क्षेत्रमा लगानी गर्न पाएका छैनन् । जसकारण वित्तीय संस्थाको नाफा पनि घटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट