सबै मिलेर महामारीको सामना गरौँ : प्रधानमन्त्री-Sutra News

सबै मिलेर महामारीको सामना गरौँ : प्रधानमन्त्री

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै क्षेत्र र निकाय मिलेर महामारीको सामना गर्नुपर्ने बताएका छन्। महामारी र राष्ट्रिय सङ्कटमा विरोध गर्नेभन्दा पनि सामना गर्नेतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गरे।



प्रधानमन्त्री निवास बालुवाटारमा आज कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञसँगको परामर्श बैठकमा उनले महामारी सबैको साझा चुनौती भएकाले त्यसलाई मिलेर समाधान गर्नुपर्ने बताए। प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणमा सरकारको जोडबलले मात्र सफलता प्राप्त नहुने बताउँदै जनतामा चेतना जगाउन सक्यो भने यसविरुद्धको लडाइँमा छिटो सफल हुने विश्वास व्यक्त गरे।

‘कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रण गर्न सरकारको प्रयासले मात्र सम्भव छैन। जनतामा चेतना जति बढाउन सकिन्छ, कोरोनाविरुद्धको लडाइँ जित्न त्यति सजिलो हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।

उनले यस्ता राष्ट्रिय सङ्कट र महामारीलाई विरोधको अवसरका रुपमा लिने प्रवृत्ति बढेकाले यस्तो प्रवृत्ति त्याग्नुपर्ने बताए। ‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध, कहिले लकडाउन किन नगरेको भनेर विरोध, कहिले किन लकडाउन नखोलेको भनेर विरोध हुँदै आएको छ, त्यो प्रवृत्ति परिवर्तन हुनुपर्छ,’ उनले भने। सामाजिक अनुशासनले कोरोना पराजित गर्न मद्दत पुग्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मी, उपकरण, संरचना आदि सबै हिसाबले कमजोर रहेको अवस्थामा पनि सबै प्रबन्ध गरेर कोभिड–१९ नियन्त्रण र रोकथाम लागि प्रभावकारी कदम चालेको बताए। ‘हाम्रो कार्यान्वयन एकदमै कमजोर रहेका होइन, स्वास्थ्यकर्मी, उपकरण र संरचनाका हिसाबले हामी कमजोर थियौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले यस महामारी आएपछि पूर्वाधार बनाएर सक्षम, सम्पन्न र बलियो स्वास्थ्य पूर्वाधार भएका देशको तुलनामा सफलता हासिल गरेका छौँ।’

उनले जनतामा हुने असन्तुष्टि र आक्रोशलाई आफूले स्वाभाविकरुपमा लिने भन्दै फरक आस्था र विश्वासकै कारण राम्रो कामको विरोध गर्ने प्रवृत्तिसँग भने सजग रहनुपर्ने बताए। ‘जनताका सामान्य असन्तुष्टि र आक्रोशलाई स्वभाविक मान्न सकिन्छ, तर जे गर्‍यो त्यसको आँखा चिम्लेर विरोध गर्ने जुन परिपाटी छ, त्यसले सही बाटो देखाउँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘विरोध एउटा विषयमा गरेको हुन्छ, विरोधको उद्देश्य अर्कै कुरासँग गाँसिएको हुन्छ। भर्खर गाउँगाउँमा निकासा दिएको रकमको हिसाब खै भन्ने शैलीको विरोध हुन्छ।’ उनले असल कामको समर्थन र गलत कामको विरोध गरे विरोधको नैतिक हैसियत रहने बताए।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रतिदिन १८ हजार जनासम्मको पीसीआर परीक्षण गर्नसक्ने गरी ल्याब स्थापना गरिएको र हालसम्म चार लाख जनाको परीक्षण गरिएको रिपोर्ट प्रस्तुत गरे। कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागीता थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट