अनमोलको दश-दश-दश के होला ?-Sutra News

अनमोलको दश-दश-दश के होला ?

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । नायक अनमोल केसी नेपाली फिल्म क्षेत्रका एक चर्चित अनुहार हुन् । पछिल्लो छिमलका लोकप्रिय एक्टर र राम्रो फ्यान फलोइङ भएका उनलाई धेरैले चकलेटी हिरोका रुपमा मूल्याङ्कन गर्छन् ।



सन् २०१३ मा फिल्म ‘होस्टेल’बाट नेपाली रजतपटमा अभिनेताको रुपमा डेब्यु गरेका अनमोलले त्यसपछि ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’, ‘कृ’, ‘क्यापटेन’, ‘ए मेरो हजुर ३’, ‘ए मेरो हजुर ४’, ‘छड्के २’ लगायतका फिल्ममा काम गरिसकेका छन् ।

‘मेघास्टार’को ट्यागसमेत पाएका अनमोलले नेपाली फिल्म क्षेत्रमा करिअर सुरुवात गरेको १० वर्ष भएको छ । उनले काम गरेका हिसाबले पनि १० औँ फिल्म हुँदैछ । जुन उनको दशौं फिल्मका रुपमा ‘फर्की फर्की’ आउन लागेको हो । त्यो पनि १० गते नै ।

अनमोलको गत वर्षमा कुनै पनि फिल्म प्रदर्शन भएन । तर, सधै झै चर्चामा रहिरहने उनी आफू अभिनीत फिल्म ‘फर्की फर्की’का कारण चर्चामा रहे । यो फिल्ममार्फत उनी करिब दुई वर्षपछि दर्शक माझ आउन लागेका छन् । फिल्म ‘फर्की फर्की’ आगामी जेठको १० गते बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शन हुन लागेको छ ।

यसअघि अनमोलको विं.सं २०७९ सालमा फिल्म ‘छड्के २’ प्रदर्शनमा आएको थियो । यो फिल्मले उनलाई निकै नमिठोसँग अफसला चखायो । फिल्म फ्लप मात्रै हैन सुपर फ्लप भयो । पछि उनी आफैले धेरैले फिल्मको कथा रोज्न नजानेर गल्ती गरेको ठहराएका थिए । यता, ‘छड्के २’ असफल हुनुमा धेरैले अनमोलकै दोष पनि देखाए । त्यो बेला अनमोलले पनि फिल्म छान्न गल्ती गरेको स्वीकार गर्दै नयाँ फिल्म छान्नका लागि निकै लामो समय लगाए ।

उसो त, गत नै वर्ष फिल्म ‘रावायण’ साइन गरेर अन्तिममा छाडेर पछि आफूविरुद्ध उजुरी परेर दुई दिन प्रहरीको हिरासतमा समेत पुगेका अनमोललाई केही समयको हन्डर र ठक्करसँगै ‘छड्के २’ले आफ्ना फ्यानहरूलाई बिच्काएको क्षण, यी सबै चुनौतीलाई चिर्दै अनमोललाई ‘फर्की फर्की’मार्फत हलमा आफ्नो क्रेज फर्काउन हिजोको जस्तो सहज भने देखिँदैन।

तर, फिल्म ‘छड्के २’ले नमिठो अफसला दिलाएसँगै उक्त गल्तीहरू नदोहोरियोस् भन्दै अनमोलले लामो समयको पर्खाइपछि फिल्म ‘फर्की फर्की’ गरेका हुन् । ‘पास्ट’मा गएर आफूले कुनै गल्ती सुधार्न नचाहाने बताउने उनले आफ्नो करिअरको १० वर्ष, दशौं फिल्म र १० गते नै यो फिल्म आउन लागेकाले उनी यो फिल्मलाई लिएर आफू उत्साहित देखिदै आएका छन् ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘फर्की फर्की’ले टाइम ट्राभल (समय यात्रा)को कथासँग सम्बन्धित कथा भन्छ । जसमा यो फिल्मको ट्रेलर हेर्दा अनमोललाई सुपर पावर भएको भगवानको रूपमा प्रस्तुत गरिएको छ ।

अनमोललाई स्टाइलिस चरित्रको रुपमा प्रस्तुत गरिए पनि उनलाई म्याडी पात्रमा रिसाहा र सन्की स्वभावको देखाइएको छ । उसले हरेकपल्ट गल्ती गर्दा उसको जीवन पहिलेकै अवस्थामा फर्किन्छ जसका कारण उसले आफूलाई भगवान् ठान्छ ।

‘छड्के २’मा अलग गर्न खोज्दा दर्शकलाई निराश बनाएका अनमोलले यसअघि काम गरेका फिल्मभन्दा यो विल्कुलै फरक कथा भएकाले दर्शकको रोजाइमा पर्ने देखिन्छ । फिल्मको ट्रेलरलाई निकै रुचाएको छ । यो फिल्मले अनमोलको स्टारडमलाई अझै अगाडि बढाउने विश्वास गरिएको छ ।  जस अनुसार फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने आँकलन गरिएको छ ।

फिल्ममा अनमोलका अलावा जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ । निर्देशक गुरुङकै कथा तथा पटकथा रहेको फिल्ममा नायक सलोन बस्नेतले फिल्ममा विशेष भूमिकामा छन् । निर्देशनको हिसाबले गुरुङको यो दोस्रो फिल्म हो । करिब चार वर्षअगाडि उनले ‘सानो मन’को निर्देशन गरेका थिए ।

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा तयार भएको फिल्ममा मनोज वली र रामु न्यौपाने सह-निर्माता, मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, किरण थापाको कोरियोग्राफी अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट