डढेलो निभाउन जाँदा आफै जलेर वृद्धको मृत्यु-Sutra News

डढेलो निभाउन जाँदा आफै जलेर वृद्धको मृत्यु

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका १ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो ।



खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा सल्केपछि निभाउन खोज्दा श्रेष्ठको जलेर मृत्यु भएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताए । खोजी गर्ने क्रममा डढेलोले जलेको अवस्थामा शव भेटिएको उनले बताए ।

सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । डढेलो नियन्त्रण गर्न स्थानीयवासीसँगै प्रहरीसमेत परिचालन गरिएको छ ।

डढेलो रावाबेँसी गाउँपालिकाको कार्यालय हरमटारभन्दा मुनिसम्म सल्केको स्थानीयवासीले बताएका छन् । दश स्थानीय तह रहेको खोटाङमा अधिकांश सामुदायिक वनमा डढेलो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट