सलमान खानको घर अगाडी गोली चलाउने दुई जना पक्राउ-Sutra News

सलमान खानको घर अगाडी गोली चलाउने दुई जना पक्राउ

मंगलबार, ४ बैशाख २०८१

मंगलबार, ४ बैशाख २०८१

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।



अप्रिल १४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइएको थियो । मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले बिहान करिब ५ बजेतिर सलमानको गेट बाहिर ५ राउन्ड गोली चलाएका थिए । गोली चलाउँदा सलमान आफ्नै घरमा थिए ।

यो घटनाले सलमानमाथिको सेक्युरिटी थ्रेटलाई अझै गाढा बनाएको छ । घटनापछि उनको घरबाहिर सुरक्षा बढाइएको थियो । खानलाई लरेन्स-गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।

मुम्बई प्रहरीका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली तथा आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

यस घटनाको जिम्मेवारी लरेन्स समूहले लिएको थियो । ग्याङस्टर लरेन्स बिस्नोइका भाइ अनमोल बिस्नोइले यो गोली प्रहारको जिम्मेवारी लिएका छन् । यसअघि पञ्जाबी गायक सिद्धु मुसवालाको हत्यामा ‘वान्टेड’ रहेका विस्नोइले आजको फायरिङ सलमानमाथिको पहिलो र अन्तिम चेतावनी भएको बताएका छन् ।

यो समूहले सलमानलाई यस अघि पनि पटक पटक धम्की दिँदै आएको छ । अभिनेतालाई धम्क्याउँदै अनमोल बिस्नोइले केही दिन अघि फेसबुकमा लेखेका छन्, ‘अब आइन्दा गोली खाली घर र पर्खालमा लाग्दैन।’

प्रहरीको फरार सूचीमा रहेका अनमोल अहिले क्यानडामा लुकिरहेको अनुमान छ । मुम्बई प्रहरीले उनको फेसबुक पोस्टमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट