जेठ १० गतेलाई मैदान छोडेको ‘दान्भी’ असार ७ गते आउने-Sutra News

जेठ १० गतेलाई मैदान छोडेको ‘दान्भी’ असार ७ गते आउने

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । नायिका पुजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’ले आफ्नो प्रदर्शन मितिलाई हेरफेर गरेर आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।



बुद्ध जयन्तीको दिन पारेर आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको ‘दान्भी’ले यस दिन अन्य दुई फिल्म रिलिज हुने भएपछि मैदान छोडेको हो । जसमा अनमोल केसीको‘फर्की फर्की’ र मल्टी स्टार फिल्म ‘पूजार सार्की’ प्रदर्शन हुदै छन् । दान्भीले मैदान छोडेपछि अब जेठ १० मा ‘पूजार सार्की’ र ‘फर्की फर्की’ बीच भिडन्त हुने भएको छ ।

यता, सोमबार पूजाको जन्मदिनको अवसर पारेर ‘दान्भी’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसक्रममा फिल्मको प्रदर्शन सरेपछि उनले फेसबुकमा लेखेकी छन्, ‘एकसाथ तीन फिल्म प्रदर्शन हुन उपयुक्त नहुने ठानेर ‘दान्भी’लाई केही हप्ता पछि सार्ने निर्णय गरेका छौं ।’

असारको ७ गते अहिलेसम्म कुनै पनि नयाँ फिल्मको प्रदर्शन मिति तोकिएको छैन । यसैले, ‘दान्भी’ले सोलो रिलिजको अवसर पाउनेछ । वितरक करण श्रेष्ठ र निर्माताहरुको छलफलपछि यो मिति तय गरिएको निर्देशक रुपेश तामाङले जानकारी दिएका छन् ।

यो फिल्मको प्रदर्शन मिति सारिनुको पछाडि पूजा शर्माले देखाएको लचकता पनि एक कारण हो । किनकी, सुरुवातमा अनमोल केसीसँगको एक फिल्मबाट सुरु भएको विवादबाट प्रतिस्पर्धामा उत्रिएकी उनले आफ्ना दुई हिरो प्रदीप र पलका लागि भन्दै उनले दान्भीलाई पर भगाउन खोजेको स्पष्ट हुन्छ ।

पहिला त पूजासँग प्रदीप र पलले दुई फरक फरक फिल्ममा सँगै काम गर्दै छिन् । त्यस हिसाबले आफ्नो मित्रता देखाउँदै निर्माण पक्षसँग जुध्न उपयुक्त हुँदैन भन्दै यो फिल्मको प्रदर्शन मिति हेरफेर गर्न लगाएकी हुन् भन्न बुझ्न गाह्रो पर्दैन । यसैगरी, यो फिल्म जेठ १० गते नै प्रदर्शन हुँदैन भन्ने धेरैले पहिले देखिने अनुमान लगाउँदै आएका थिए । फिल्मको हाइप बढाउनलाई जुधाइएको हललाले केही हदसम्म चर्चा हुने भएपछि यसो गरिएको हो भन्ने फिल्म वृत्तमा खासखुस कुरा हुँदै आइरहेको छ ।

रुपेश तामाङको निर्देशन रहेको ‘दान्भी’मा नायिका पूजा केन्द्रिय भूमिकामा छिन् । फिल्ममा उनी पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत भएकी छन् ।  पूजाको साथमा फिल्ममा नव–नायक कुन्साङ बोमजोमको मुख्य भूमिका छ । फिल्ममा अभिनेता किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।

देव मगर र अनुप गडाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् भने कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह-निर्मातामा छन् । यसमा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट