‘डिग्री माइला’को व्यापार कस्तो छ ?, दुई दिनमा कति कमायो ?-Sutra News

‘डिग्री माइला’को व्यापार कस्तो छ ?, दुई दिनमा कति कमायो ?

सोमबार, ३ बैशाख २०८१

सोमबार, ३ बैशाख २०८१

काठमाडौं । आफ्नो शैक्षिक डिग्रीको अहमताले भरिएको पात्र र समाजले ऊप्रति राख्ने अपेक्षा र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्ने फिल्म ‘डिग्री माइला’ प्रदर्शनमा आएको सोमबार (आज ) चार दिन भएको छ।



नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित यो फिल्मले बक्स अफिसमा आफ्नो प्रभाव देखाउँदै आक्रामक व्यापार सुरु गरेको छ ।

सुरुवातको दुई दिन बक्स अफिसमा आक्रामक व्यापार गरे फिल्म ‘डिग्री माइला’ले दुई दिनमा तीन करोड ६ लाख ग्रस कलेक्सन गरेको छ ।

पहिलो दिन शुक्रबार ९८ लाख र दोस्रो दिन शनिबार २ करोड ८ लाख ग्रस कलेक्सन गरेको वितरक गोबिन्द शाहीले दाबी गरे । उनका अनुसार, पहिलो दिन (शुक्रबार) ९८ लाख र दोस्रो दिन अर्थात् नयाँ वर्ष (शनिबार) २ करोड ८ लाखको व्यापार भएको छ ।

प्रदर्शनको चौथो दिन पनि शो र व्यापार राम्रो भइरहेको छ । फिल्मको बुकिङ र ‘डोर सेल’ दुवै राम्रो देखिन्छ । आज पनि हलमा दर्शकको अकुपेन्सी उच्च रहेको छ । ‘वर्ड अफ माउथ’ राम्रो प्राप्त भएकाले आगामी दिनमा पनि फिल्मको व्यापार उत्साहप्रद रहने निर्माण टिमको विश्वास छ ।

टिजर र ट्रेलर दुवैले राम्रो प्रतिक्रिया पाएपछि फिल्मले राम्रो हाइप बनाएको थियो । तर, फिल्मको हाइपअनुसार डेढ करोडको ओपनिङ प्रक्षेपण गरिए पनि  बिहानी शोज अपेक्षाकृत हुन नसक्दा ओपनिङ केही प्रभावित बन्यो, तर दोस्रो दिन (शनिबार) नयाँ वर्ष परेकाले व्यापारमा उछाल देखियो ।

दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा रहेको फिल्ममा बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

निर्देशक गुरुङकै लेखन रहेको फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको छ । यस्तै फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट