‘महाजात्रा’ले पार गर्‍यो १५ करोडको आँकडा, ‘जारी’को रेकर्ड पछ्याउँदै-Sutra News

‘महाजात्रा’ले पार गर्‍यो १५ करोडको आँकडा, ‘जारी’को रेकर्ड पछ्याउँदै

आइतबार, २ बैशाख २०८१

आइतबार, २ बैशाख २०८१

काठमाडौं । फिल्म ‘महाजात्रा’ले नयाँ बर्षको दिनमा पनि बम्पर कमाई गरेको छ । गत चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म रिलिजको भएको चार हप्ता भइसक्दा पनि फिल्मप्रति दर्शकको आकर्षण अझै कम भएको छैन । यतिबेला ‘महाजात्रा’ले गत वर्षको ब्लकबस्टर फिल्म ‘जारी’को १७ करोड १७ लाखमाथिको व्यापारिक रेकर्डलाई पछ्याइरहेको छ ।



‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्राप्त शोमा शत प्रतिशत अकुपेन्सी देखिन्छ । काठमाडौं र मोफसल दुवैतिर फिल्म हेर्ने दर्शकको चाप उल्लेख्य देखिएको थियो । बिहानदेखि रातिसम्मका अधिकांश शोज हाउसफुल भएका थिए ।

यो फिल्मप्रति दर्शकको क्रेज चौथो हप्तामा पनि उत्साहजनक देखिनुका साथै दर्शकबाट पाएको मायालाई शब्दमा बयान गर्न नसकिने तर्क गर्दै टिकट नपाएको भन्दै दर्शकहरू हलमा पुगेर फर्किएको विभिन्न संदेशहरू सामाजिक सञ्जालमार्फत प्राप्त भएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताएका छन् ।

निर्देशक भट्टराई भन्छन्, ‘नयाँ वर्षमा महाजात्रालाई उपलब्ध सम्पूर्ण शो हाउसफुल भयो । हाम्रो फिल्मलाई चौथो सातासम्म दिनुभएको मायालाई शब्दमा व्यक्त गर्न सक्दैनौँ । दर्शक, प्रदर्शक, वितरक सबैलाई यसका लागि धन्यवाद नभनी रहन सक्दैनौँ । फिल्मले तीन सातामा नेपालमा चौध करोड व्यापार गरेको थियो । हामीले हाम्रो अघिल्ला सम्पूर्ण रेकर्ड तोडिसकेका छौँ । विशेषत हलमा आउनुभएको दर्शकलाई खुसी बनाएर फर्काउन पाएका छौँ, यो ठूलो सफलता हो ।’

यस्तै, फिल्मले तीन सातामा नेपालबाहिर नौ करोडको ग्रस कलेक्सन गरेको वितरण कम्पनि एमएसएम इन्टरटेन्मेन्टले जनाएको छ । उक्त कम्पनिका अनुसार शुक्रबार र शनिवार विदेशमा आयोजित सम्पूर्ण शो ‘शोल्ड आउट’ भएका छन् । तीन सातामा तेइस करोड एक लाख ग्रस कलेक्सन गरेको फिल्मले नेपालमा पन्ध्र करोडको आकडा पार गरिसकेको छ ।

वितरकका अनुसार शनिवार फिल्मको काठमाडौँ उपत्यकामा ६० र मोफसलमा ८० बढी शो थियो । ती शो ‘हाउसफुल’ थिए । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँ नयाँ रेकर्ड बनाउने बाटोमा छ । विशेषत परिवार नै दर्शकको रुपमा हलमा आइरहेकाले दिवादेखिका शोहरूमा आईतबार पनि अकुपेन्सी बलियो देखिएको छ ।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट