उपचार गर्न हिँडेरै अस्पताल पुगेकी युवतीको निधन-Sutra News

उपचार गर्न हिँडेरै अस्पताल पुगेकी युवतीको निधन

शुक्रबार, ३० चैत्र २०८०

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौं । पेट दुखेको भन्दै उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पुगेकी दैलेखको आठबिस नगरपालिका ५ पिपलबोटकी २२ वर्षीया रिजुका गुरुङले ज्यान गुमाएकी छन् ।



दैलेखबाट सामन्य जाँचका लागि सुर्खेतको निजी अस्पतालमा पुगेकी उनको पाठेघरमा समस्या देखिएपछि हिँडेर प्रादेशिक अस्पताल सुर्खेत पुगेकी थिइन् । उपचारका क्रममा उनको ज्यान गुमेपछि आफन्त आन्दोलित बनेका छन् ।

चार महिनाअगाडि प्रसुति गराउँदा पाठेघरमा सालनालको केही अंश रहेकाले पाठेघर सफा गर्नु पर्ने भनेपछि अस्पताल भर्ना भएकी उनलाई एक्कासी मृत घोषणा गरेको आफन्तको दाबी छ ।

मृतकका जेठाजु हर्कबहादुर बलामीले हिँडेर अस्पतालमा भर्ना भएकी भाइ बुहारीको शव बुझ्नभन्दा पत्याउनै नसकिएको बताए ।

उपचारका क्रममा परिवारलाई भेट्न नदिई एक्कासी रगत अभाव भयो भने पनि मृत घोषणा गरिएको उनको आरोप छ ।

बिहीबार अपराह्न उपचारका क्रममा रिजुकाले ज्यान गुमाएपछि आक्रोशित बनेका आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका छन् । रिजुकाको मृत्युसँगै अस्पताल परिसर तनावग्रस्त बनेको छ ।

आफन्तहरूले घटनाको छानबिन र उचित क्षतिपूर्ति हुनु पर्ने माग गरेका छन् । उपचारका क्रममा रिजुकाले ज्यान गुमाएको घटनाबारे अनुसन्धान अगाडि बढाइएको सुर्खेत प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट