हार्दिक पाण्ड्यालाई ठगेको आरोपमा आफ्नै भाइ पक्राउ-Sutra News

हार्दिक पाण्ड्यालाई ठगेको आरोपमा आफ्नै भाइ पक्राउ

बिहिबार, २९ चैत्र २०८०

बिहिबार, २९ चैत्र २०८०

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको कप्तान हुन् ।



हार्दिकले भारतीय टोलीका लागि टेस्ट, एक दिवसीय र टी-२० गरी तीन वटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । आईपीएलको जारी संस्करणमा उनको कप्तानीमा मुम्बईले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन ।

त्यसैले उनको ब्यापक आलोचना हुँदै आएको छ । अहिले हार्दिक खेलका अतिरिक्त अर्को प्रसंगका कारण चर्चामा छन् । खासमा उनले आफ्नो करोडौँ रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा उजुरी दर्ता गराएका थिए ।

प्रहरीले भने हार्दिकलाई ठगी गरेको आरोपमा उनकै सौतेलो भाइलाई पक्राउ गरेपछि थप चर्चामा आएका छन् । उनको भाइ कुणाल र सौतेलो भाइ वैभव पाण्ड्याले मिलेर सन् २०२१ मा पोलिमर व्यवसायका लागि एउटा कम्पनी स्थापना गरेका थिए ।

त्यो कम्पनीमा हार्दिक र कुणालको ४०-४० प्रतिशत शेयर रहेको थियो । सौतेलो भाइ वैभवको २० प्रतिशत शेयर थियो । कम्पनीबाट प्राप्त हुने मुनाफा सोही अनुरुप बाँड्ने सम्झौता भएको थियो ।

कम्पनीको रेखदेख वैभवले गर्थे । तर, वैभवले कम्पनीले नाफा कमाएको पैसा हार्दिक र कुणाललाई नदिई छुट्टै कम्पनी स्थापना गरेर नयाँ कम्पनीको खातामा पठाउने गरेका थिए ।

पटक-पटक मुनाफाको पैसा माग्दा पनि नपाएपछि अन्नतः हार्दिक र कुणालले सौतेलो भाइ वैभवविरुद्ध उजुरी लिएर प्रहरी कार्यालयमा पुगेका थिए ।

वैभवले आफ्नो चार करोड ३० लाख भारतीय रुपैयाँ ठगी गरेको दाबी हार्दिक र कुणालले गरेका थिए । सोही आरोपमा बिहीबार स्थानीय प्रहरीले वैभवलाई प्रक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट