मदिरा सेवन गरी पुलबाट हाम फाल्ने युवक अझै बेपत्ता-Sutra News

मदिरा सेवन गरी पुलबाट हाम फाल्ने युवक अझै बेपत्ता

बिहिबार, १५ चैत्र २०८०

बिहिबार, १५ चैत्र २०८०

काठमाडौं । चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै बेपत्ता भएका छन् । कैलालीको लम्की–चुहा नगरपालिका ३ का ३० वर्षीय लोकेन्द्र शाहीले गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका थिए ।



घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो ।

हालसम्म उनको केही पत्तो नलागेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराज डाँगीले बताए । “खोजी गर्न बुधबारदेखि रानीजमरा सिचाइँ योजनाको नहर नै बन्द गर्‍यौँ,” उनले भने, “फेला नपरेपछि गोताखोर टोली फर्किएको छ ।”

बेपत्ता शाहीको खोजीका लागि आज पनि प्रहरी र स्थानीयको दुई टोली परिचालन गरिएको छ । दुवै टोलीलाई टीकापुरसम्म परिचालन गरिएको प्रहरी निरीक्षक डाँगीले बताए ।

सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक डाँगीका अनुसार पुलबाट कर्णालीमा हाम फाल्ने सबै जनाले शरीरको माथिल्लो भागको लुगा फुकालेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोजे पनि सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानी बजारबाट पुलतर्फ निस्किएका थिए ।

उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरी निरीक्षक डाँगीले बताए । उनका अनुसार सोधपुछका क्रममा नियन्त्रणमा लिएका एक जनाले त्यो दिन हाम फाल्ने कुनै योजना नभएको बयान दिए ।

“फोटो खिच्न पुलतर्फ गएका हौँ, पुलमा पुग्दा एक जनाले हाम फाले, उसलाई देखेर अरु सबैले पालैपालो कर्णालीमा हाम फाल्यौँ,” पक्राउ परेकाले सोधपुछका क्रममा भनेका प्रहरी निरीक्षक डाँगीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट