आत्मघाती हमलामा पाँच चिनियाँसहित ६ जनाको निधन-Sutra News

आत्मघाती हमलामा पाँच चिनियाँसहित ६ जनाको निधन

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । उत्तरपश्चिम पाकिस्तानमा एक आत्मघाती हमलाकारीले आफ्नो गाडीलाई निशाना बनाउँदा एउटा प्रमुख बाँध निर्माणस्थलमा कम गरिरहेका पाँच चिनियाँ नागरिक र एक चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।



पाकिस्तान बेइजिङको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो तर पाकिस्तानमा चिनियाँ श्रमिकहरूको सुरक्षा लामो समयदेखि चिन्ताको विषय बनेको छ ।

“हमलामा पाँच चिनियाँ र उनीहरूको स्थानीय चालक मारिएका छन्”, खबैर पख्तुनख्वा प्रान्तका वरिष्ठ प्रहरी अधिकारी मुहम्मद अली गन्डापुरले भने । उनका अनुसार चाइना गेजुवा ग्रुप कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् बाँधस्थलबाट उक्त सवारी राजधानी इस्लामाबाद जाँदै गर्दा बेशम सहर नजिकै बम विस्फोट भएको थियो ।

गहिरो घाटी रहेको एउटा पहाडी सडकमा हमला भएको थियो । सन् २०२१ मा सोही निर्माण स्थलमा इन्जिनियरहरूलाई लैजाँदै गरेको बस बम हमलामा परेको थियो । उक्त हमलामा नौ चिनियाँ श्रमिकसहित १३ जनाको मृत्यु भएको थियो ।

चिनियाँ लगानीको आधारशिला मानिएको दक्षिण पश्चिम पाकिस्तानमा ग्वादर बन्दरगाहको कार्यालयमा हमला गर्ने प्रयासमा सुरक्षा बलले कम्तीमा सात आतङ्कवादीलाई मारेको केही दिनपछि हमला भएको हो ।

बेइजिङले हालका वर्षहरूमा पूर्वाधारहरूलाई बढावा दिन पाकिस्तानमा अर्बौं डलर लगानी गरेको छ । यसमा उसको ‘बेल्ट एन्ड रोड’ पहल पनि सामेल छ । उक्त पहलअन्तर्गत चीनले विश्वभरमा २० खर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।

यद्यपि चिनियाँ अनुदानमा सञ्चालित परियोजनाहरूले विशेष रूपमा पृथकतावादी समूहरूबीच असन्तोष सिर्जना गरेको छ । उनीहरूले यस्तो लगानीले स्थानीय बासिन्दालाई अत्यन्तै कम लाभ हासिल हुने र अधिकांश नोकरी बाहिरी मानिसले पाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट