नेप्सेमा सुधारको संकेत : १० अंकले बजार बढ्दा १६८ कम्पनीको मूल्यमा बृद्धि-Sutra News

नेप्सेमा सुधारको संकेत : १० अंकले बजार बढ्दा १६८ कम्पनीको मूल्यमा बृद्धि

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । झण्डै दुई सातादेखि निरन्तर ओरालोमा रहेको शेयर बजारमा सुधारको संकेत देखिएको छ । लगातार गिरावटका बीच साताको दोस्रो कारोबार दिन मंगलबार दोहोरो अंकले बजार बृद्धि भएको छ । मंगलबार १०.१४ अंकले बढ्दै बजार २०४१.७० को बिन्दुमा उक्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार समग्रमा बजारमा ०.४९ प्रतिशतले बृद्धि भएको छ ।



दोहोरो अंकले बृद्धि भएको बजारमा सबै सूचांक सकारात्मक देखिए । मंगलबार वित्त, जीवन बीमा र अन्य बाहेक उपसूचकांकमा हरियाली देखियो । यस दिन सबैभन्दा बढी उत्पादन र प्रशोधन उपसूचकांकमा २.११ प्रतिशतले बृद्धि भयो ।

यसदिन कारोबारमा आएका २४६ कम्पनीमध्ये १६८ कम्पनीको मूल्यमा बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ । एक्सचेन्जका अनुसार ६८ कम्पनीको मूल्यमा गिरावट आउँदा १० कम्पनीको मूल्य भने यसअघिकै दिनको तुलनामा कायम रह्यो ।

डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा सर्वोत्तम सिमेन्ट, विन नेपाल लघुवित्तको मूल्य सकारात्मक सर्किट लेभलमा बृद्धि भयो ।

दोहोरो अंकले बढेको भएपनि यसदिन केही सातायताकै सर्वाधिक कम कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ । यसदिन शिवम् सिमेन्ट, सोनापुर मिनरल्स, जोशी हाइड्रोपावर, गोरखा फाइनान्स, हिमानलयन रि इन्स्योरेन्सको कारोबार सर्वाधिक भएको जनाइएको छ ।

शिवम् सिमेन्टको एक लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम नौ करोड ३१ लाख रुपैयाँ बराबरको रहेको स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट