२८ वर्षपछि जग्गाको स्वामित्व पाउँदा…-Sutra News

२८ वर्षपछि जग्गाको स्वामित्व पाउँदा…

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडौं । शुक्लाफाँटा नगरपालिका ५ का ६८ वर्षीय नन्दसिंह साउदले जग्गा नापजाँच भएको २८ वर्ष पछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएकोमा निकै खुसी छन् ।



वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाण पुर्जा पाएपछि उनी ढुक्क भएका छन् । ‘ऐलानी जग्गा थियो,’ उनले भने, ‘कहिले विस्थापनमा पार्ने हुन भन्ने डर सधैँ मनमा कुरा खेली रहन्थ्यो, पुर्जा पाइएपछि मर्नुअघि जग्गाको मालिक हुन पाइयो, यसमै खुसी छु ।’

साउदजस्तै जग्गाधनी प्रमाण पुर्जा पाएका कालु धामीले सरकारपिच्छे बन्ने आयोगका कारण जग्गा नापजाँच भएको लामो समय सम्म पर्खनु परेको बताए । विगतमा आयोग बन्ने तर सरकार फेरिएसँगै आयोगमा नयाँ पदाधिकारी आउँदा अन्यौलता सिर्जना हुँदै आएको उनको भनाइ छ ।

‘वर्षौंपछि जग्गाधनी प्रमाण पुर्जा पाउँदा खुसी छौँ,’ उनले भने, ‘दुई पिँढीदेखि चलन भोग गरेको जग्गाको स्वामित्व बल्ल मिलेको छ, यस्तो अवस्थामा खुसी न हुने कुरै छैन ।’

साउद र धामीसँगै २८० परिवारको ऐलानी जग्गा विसं २०५२ मै नापजाँच भएको हो । जग्गा नापजाँच भएकामध्ये ८४ जनाले मात्रै जग्गाधनी प्रमाण पुर्जा पाएका हुन् ।

जग्गा नापजाँच भएको १६ वर्ष पछि (विसं २०६७) गठन भएको आयोगले जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउनका लागि सूचना जारी गरेपछि २८० परिवारले राजस्वसमेत बुझाए । आयोगको म्याद सकिनै लाग्दा हतार हतारमा सेतो जग्गाधनी पुर्जा उपलब्ध गराइयो । त्यो पुर्जाले मान्यता पाएन ।

राष्ट्रिय भूमि आयोगद्वारा तयार गरिएका जग्गाधनी पुर्जा वडा कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीलाई हस्तान्तरण गरिएको छ । विगतका आयोगका अधुरा कार्यअन्तर्गत सेतो जग्गाधनी पुर्जा पाएका राजस्व बुझाएका जग्गाधनीलाई प्रमाण पुर्जा हस्तान्तरण गरिएको हो ।

पुर्जा हस्तान्तरण कार्यक्रममा नगर प्रमुख रणबहादुर महराले विगतका आयोगका अधुरा कार्य पूरा गरी वडाका वर्षौंदेखि जग्गा चलनभोग गर्दै आएका जग्गाधनीलाई पहिलो प्राथमिकतामा राखेर प्रमाण पुर्जा वितरण गरिने बताए ।

‘पहिलो चरणमा विवादरहित रहेका जग्गाधनीलाई प्रमाण पुर्जा वितरणको कार्य गरेका छौँ,’ उनले भने, ‘दोस्रो चरणमा बाँकी रहेका सबैलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्नका लागि प्राविधिक जनशक्ति थपेर कार्य टुङ्गोमा पुर्याउने छौँ ।’

राष्ट्रिय भूमि आयोगका कञ्चनपुर जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुङ्गानाले विगतका आयोगका अधुरा कार्यअन्तर्गत सेतो जग्गाधनी पुर्जा पाएकालाई पहिलो प्राथमिकतमा राखेर कार्य अगाडि बढाइएको बताए ।

विगतको आयोगले गरेका त्रुटिपूर्ण कार्यका कारण सेतो पुर्जा पाएका सबै जनालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन नसकेको उनले बताए ।

उनका अनुसार जग्गा एउटा नक्सा अर्को, एउटाको नाममा जग्गा अर्कोले कमाएर खाएको र सेतो पुर्जा एउटाको नाममा भए पनि बेचेर अर्कोले चलन भोग गर्दै आएकाले विवाद हुने देखिँदा त्रुटि सच्याएर मात्रै पुर्जा वितरण गर्न कार्य अगाडि बढाइने छ ।

भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको प्रमाणीकरण गरी नगरपालिकाले पठाएमा बसेकै ठाउँमा जग्गा नापजाँच गरी जग्गाधनी पुर्जा वितरण गर्न सकिने उनको भनाइ रहेको छ ।

घरवासका लागि एक कट्ठा र कृषिजन्य प्रयोजनका लागि पाँच कट्ठासम्म जग्गा नापाजाँच गरी जग्गाधनी प्रमाण पुर्जा दिने अधिकार आयोगलाई रहेको उनले उल्लेख गरे । नगरपालिकाको भूमि शाखाका प्रमुख मोहन फुलाराले अव्यवस्थित बसोबासीको वडा नं १, २, ३ र ९ मा जग्गा नापजाँचको कार्य पूरा भएको बताए ।

‘वडा नं १२ मा जग्गा नापजाँचको कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘दुई वटा जग्गा नापजाँचका लागि टोली खटाइएका छन्, जनशक्ति थप भए चालु आवभित्रै नगरपालिकाभित्रका अव्यवस्थित बसोबासीको जग्गा नापजाँचको कार्य सकिन्छ ।’

अधिकारकर्मी शिवी लुहारले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउनका लागि कार्य अगाडि बढाउन माग गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट