कार्यविधिलाई नै लत्याएर जाँदाजाँदै किराँतीले पर्यटन प्रबर्द्धक नियुक्ती गरेपछि…-Sutra News

कार्यविधिलाई नै लत्याएर जाँदाजाँदै किराँतीले पर्यटन प्रबर्द्धक नियुक्ती गरेपछि…

बुधबार, २३ फाल्गुन २०८०

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं । नयाँ समीकरण परिवर्तनसँगै स्वतः पदमुक्त भएका निवर्तमान पर्यटन मन्त्री सुदन किराँतीले गरेको नियुक्ति अहिले विवादमा तानिएको छ । मकाउका लागि पर्यटन प्रबर्द्धकको रुपमा आनन्द श्रेष्ठलाई गरेको नियुक्ती विवादमा तानिएको हो ।



श्रेष्ठलाई किराँतीले निकटताको आधारमा कार्यविधि लत्याएर नियुक्त गरेको आरोप गैरआवासीय नेपाली संघ मकाउ र नेपाली समाज मकाउले लगाएका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुई संस्थाले उक्त नियुक्तीको विरोध गरेका हुन् ।

कार्यविधिलाई लत्याएर गरिएको उक्त नियुक्ती फिर्ता लिन दुवै संस्थाको माग छ । कार्यविधिमा पर्यटन प्रबद्र्धकमा नियुक्ती गर्दा सम्बन्धित देशबारेमा जानकार, भाषा तथा संस्कृतिबारे जानकार, केही वर्षदेखि सोही ठाउँमा रहेको जस्ता व्यवस्था छन् । तर, उक्त व्यवस्थालाई नियुक्ती गर्दा पूर्ण उल्लंघन गरिएको आरोप गैर आवासीय नेपाली संघ मकाउ र नेपाली समाज मकाउले लगाएको छ ।

“पर्यटन प्रबर्द्धक जस्तो गरिमामय पदमा सम्बन्धीत देशको बारेमा राम्रोसँग जानकार समेत नभएका र मकाउमा कार्यरत नेपालीहरुले समेत नामै नसुनेका व्यक्तिलाई पर्यटन प्रबर्द्धकको रुपमा नियुक्त गरिनु दुःखद छ”, विज्ञप्तिमा भनिएको छ, “मकाउमा वर्षौंदेखि व्यापार व्यवसाय गर्दै, मकाउमा नेपाली समुदाय तथा मकाउमा परिचित दर्जनौं ख्याति प्राप्त व्यक्तिमध्ये केहीले स्वघोषणासहित आवेदन दिए तापनि पर्यटन प्रबद्र्धकमा नियुक्त हुन नसकी मकाउको भूगोल, जनसंख्या, व्यापार व्यवसाय र स्थानीय व्यक्तिहरुबीच पनि अपरिचित व्यक्तिले मन्त्रीले आफूखुसी नियुक्त गर्नु पर्यटन प्रबद्र्धक जस्तो गरिमामय पदको समेत घोर अपमान हो ।”

किराँतीले मन्त्रीबाट पद मुक्त हुनु एक साता अघि गत फागुन १३ मा एकल निर्णयबाट श्रेष्ठलाई नियुक्ती गरेका थिए ।

किराँती स्वयम् यसअघि पनि यस्ता थुप्रै नियुक्तीले विवादमा तानिएका थिए । उनको चौतर्फी राजीनामा पनि विवादित नियुक्तीकै कारण माग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट