अप्ठ्यारोमा प्रधानमन्त्री : गर्लान् त तीन मन्त्रीको बर्खास्ती ?-Sutra News

अप्ठ्यारोमा प्रधानमन्त्री : गर्लान् त तीन मन्त्रीको बर्खास्ती ?

सोमबार, १४ फाल्गुन २०८०

सोमबार, १४ फाल्गुन २०८०

काठमाडौं । विपक्षी दलहरुले लगातार केही दिनदेखि संसद बैठक अवरुद्ध गरिरहेका छन् । दलहरुको स्पष्ट माग छ– विवादित र सरकारी आयोगले नै दोषी ठह¥याएका मन्त्रीको राजीनामा ।



जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, विवादित पृष्ठभूमिका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती र भ्रष्टाचार प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको नाम छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले तीन मन्त्रीहरुको राजीनामा निर्विकल्प भएको बताइरहेको छ भने अन्य दलले भने मन्त्री तथा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् । सोमबार बसेको संसद बैठकमा बोल्दै एमाले सांसद गोकुल बाँस्कोटाले तीन मन्त्रीहरुको राजीनामा वा बर्खास्ती एमालेको निःशर्त माग भएको बताएका थिए ।

“कुराको सुन्दरता होइन, व्यवहारको प्रष्टता चाहियो, यहाँ विपक्षीको कुरा सुनुवाई हुनुपर्छ, ती तीन मन्त्रीको राजीनामा आउनैपर्छ, सरकार नाजावाफ बस्न मिल्दैन”, संसद बैठकमा बोल्दै एमाले सांसद गोकुल बाँस्कोटाले भनेका छन्, “हामी अब मौन बस्दैनौं ।”

यसअघि एमालेले तीन मन्त्रीको राजीनामा वा बर्खास्तीका लागि सोमबारसम्मको समय दिएको थियो । तर, सुनुवाई नभएपछि एमाले संसद अवरोध गर्ने तहमा पुगेको हो ।

सोमबार संसद बैठक एमालेको कारण केहीबेर स्थगित बन्योे । यद्यपि, सभामुखले दिन तोकेर रुलिङ्ग गर्ने सहमति गराएपछि पुनः बैठक बस्यो । दलहरुबीचको सहमतिपछि सभामुखले फागुन १८ गते सरकारलाई जवाफ दिन रुलिङ्ग गरेका छन् ।

विपक्षी दलहरुको मागमा कतिपय सत्तापक्षकै सांसदले पनि खुलेर ऐक्यबद्धता जनाएका छन् । जुन सत्ता गठबन्धनका लागि पेचिलो बनेको छ । आइतबारको संसद बैठकमा बोल्ने नेपाली कांग्रेसका सांसदहरु श्याम घिमिरे, रामहरी खतिवडा, सञ्जय गौतमलगायतले मन्त्रीहरुको बर्खास्ती आवश्यक भएको तर्क गरेका थिए ।

गठबन्धनभित्र हुन सकेन सहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम् मन्त्रीपरिषद्को पूरै सेट वा कार्यसम्पादनका आधारमा मन्त्रीहरु परिवर्तनको पक्षमा छन् । प्रधानमन्त्रीले आफ्नो एक वर्षे कार्यअवधि पुग्दै गर्दा उक्त तयारी गरेका थिए । तर, दलहरुबीच सहमति नजुट्दा उक्त विषयले प्राथमिकता पाउन सकेन ।

निकटस्थका अनुसार अहिले पनि प्रधानमन्त्री सोही विषयमा प्रष्ट देखिन्छन् । तर, सत्ता साझेदार दलहरुबीच मन्त्रिपरिषद् हेरफेरको विषयमा सहमति जुटेको छैन ।

शनिवार र आइतबार सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुबीच मन्त्रीहरुको परिवर्तनबारे अनौपचारिक संवाद भएको थियो । प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई बोलाएर छलफल गरेका थिए । तर, व्यक्ति तोकेर राजीनामा माग गरिएको प्रति दुवै दल सहमत बनेनन् ।

अहिले विशेषगरी चर्चामा मन्त्री ज्वालाको नाम छ । जसलाई विपक्षीले पनि चर्को गरी उठाएका छन् । तर, बालकुमारी घटनामा दोषी देखिएका ज्वालालाई मात्रै बर्खास्ती गर्ने पक्षमा एकीकृत समाजवादी छैन । यस्तोमा कसरी विपक्षीलाई जवाफ दिने प्रधानमन्त्रीलाई असहज बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट