छोरीलाई शरीरमा बाँधेर आत्मदाहको प्रयास, छोरीको मृत्यु-आमा घाइते-Sutra News

छोरीलाई शरीरमा बाँधेर आत्मदाहको प्रयास, छोरीको मृत्यु-आमा घाइते

शनिबार, ५ फाल्गुन २०८०

शनिबार, ५ फाल्गुन २०८०

काठमाडौं । बुद्धशान्ति गाउँपालिका २ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । उक्त घटनामा आमा गम्भीर घाइते भएकी छन् ।



जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन् । घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बिएण्डसी अस्पतालमा भर्ना गरिएको थियो ।

शनिबार बिहान छोरी वर्षाको मृत्यु भएको हो । आमा मायाको अवस्था चिन्ताजनक रहेको गिरीले जानकारी दिए । उनका अनुसार मायाको शरीरको अधिकांश भाग आगोले जलेको र घटनास्थल नजिकै उनको ‘सुसाइट नोट’ फेला परेको छ ।

नोटमा रम्तेलले उनका पति परस्त्रीसँग सम्बन्धमा रहेकाले बाध्य भई आत्मदाहको निर्णय लिनु परेको उल्लेख गरेको प्रहरीको भनाइ छ । प्रहरीले ज्याला मजदुरी काम गर्दै आएका मायाका पति राजन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको गिरीले बताए ।

पति राजन काममा गएको र घरमा ८१ वर्षीया सासूआमा सुन्तलीमाया खाती मात्र रहेको अवस्थामा मायाले छोरीलाई सलले आफ्नो शरीरमा बाँधेर आत्मदाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट