घरघरमा छिर्न थाले बाँदर र बँदेल, सडकमै देखिन्छन् चितुवा-Sutra News

घरघरमा छिर्न थाले बाँदर र बँदेल, सडकमै देखिन्छन् चितुवा

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

म्याग्दी । केही दिनअघि म्याग्दीको बेनी नगरपालिका– ८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन्। करिब दुई सयको संख्यामा आएका बाँदरले छानामा राखेको फर्सी पनि छोडेनन्।



पश्चिम म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोट र वडा नम्बर २ रुममा बँदेलले खेतबारीमा रजाइँ गर्न थालेको धेरै भयो। गत साता घरभित्र नै बँदेल छिरेर टेकबहादुर विक र मंगल सुनारको परिवारलाई आतंकित बनायो। बेनी–बागलुङ सडकमा चितुवालगायत जंगली जनावर गुडिरहेका सवारीसाधनमा ठोक्किएर पछिल्लो एक सातायता दुईवटा दुर्घटना भएका छन्।

यी म्याग्दीमा जंगली जनावरले दुःख दिएका केही प्रतिनिधिमूलक घटनाहरू मात्र हुन्। विगत दुई वर्षयता जंगली जनावरको आतंक बढ्दै गएपछि पशुचौपायाका साथै मानिसलाई समेत खतरा उत्पन्न भएको स्थानीय बताउँछन्।

वन्यजन्तुले खेतीबाली र बाख्रा खान थालेपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन्। सडक छेउछाउमा चितुवा देखिन थालेपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ।

ad
जंगलनजिकका गाउँमा चितुवा, बँदेल, बाघ, मृग, भालुलगायत जनावरले दुःख दिने क्रम बढेको मालिका– १ का तिलमाया पुनले बताइन्। उनका अनुसार पछिल्लो समय चितुवाले खोरबाटै बाख्रा लगेपछि व्यावसायिक बाख्रापालन गर्दै आएका कृषक समस्या छन्।

बाँदर र बँदेलले खेतीबाली नष्ट गर्नुका साथै घरभित्र पसेर थन्क्याइएको अन्नसमेत खाने, स्थानीयलाई आतंकित बनाउने गरेको पुनले गुनासो गरिन्। उनका अनुसार एकपटक लखेटेका बाँदर फेरि बस्ती आसपासमा आउने गरेका छन्। समूहमा हिँड्ने र बालीनालीलाई एकैछिनमा सखाप पार्ने हुँदा किसान बाँदरबाट आक्रान्त बनेका उनको भनाइ थियो।

जलेश्वर र गलेश्वर क्षेत्रमा देखिएका बाँदरको चरित्र र आनीबानीबारे अनुसन्धान गर्न स्थानीयवासीले जनप्रतिनिधिलाई समेत अनुरोध गरेका छन्। पहिले जंगलमै भुल्ने बाँदर बस्तीतिर सरेपछि सतर्कता अपनाउनुपर्ने डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ।

फलफूलको सिजनमा बाँदर बस्तीतर्फ आउने र आतंक मच्चाउने गरेछि बाँदर व्यवस्थापनका लागि ठोस नीति र कार्यक्रम तय गर्नु आवश्यक रहेको सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताए। धपाउने, लखेट्ने परम्परागत विधिले मात्र अब बाँदर नियन्त्रण सम्भव नहुने उनको भनाइ थियो।

सापकोटाले बाँदरबाट प्रभावित किसानलाई बाँदरले प्रयोग नगर्ने वा वैकल्पिक पेसा रोज्नुपर्ने बताए। म्याग्दीका बस्तीमा बाँदरको आतंकले खेतीपाती र फलफूलको सिजनमा किसान चिन्तित हुने गरेका उनको भनाइ थियो।

बँदेलले रातारात आलु खेती नष्ट गर्ने क्रम बढेको आलु किसान बताउँछन्। हुलकाहुल आउने बँदेलले एक रातमा ठूलो क्षेत्रको आलु खेती नष्ट गरेका मालिका– १ का किसान टेकबहादुर पुनले बताए।

बाँदर थपाउन खोज्दा उल्टै आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन्। बालबालिकालाई आक्रमण गर्ने चिन्ता बढेको स्थानीय बताउँछन्। पछिल्लो एक सातायता बेनी–गलेश्वर सडकखण्ड आसपासका क्षेत्रमा ठूलो संख्यामा भेटिने बाँदर कतैबाट ल्याएर छोडेजस्तै देखिने स्थानीयको भनाइ छ।

बेनी नगरपालिका– ३ लहरेनीका तिला चर्मकारले गाउँमा खेतीबाली र पशुचौपाया जंगली जनावरले नष्ट गरिदिन थालेपछि आफूहरू हैरान परेको बताए।

वनजंगलमा लागेको डढेलोका कारण अहिले वासस्थान खलबलिएको अवस्थामा मानव र चितुवाको जम्काभेट हुन सक्ने सापकोटाले बताए।

ग्रामीण क्षेत्रमा लगाइएका हिउँदे र बर्खे बाली जंगली जनावरबाट जोगाउन स्थानीय रातभर जाग्राम बस्न थालेका छन्। जंगली जनावर मार्न नपाइने र धपाउनसमेत नसकिने भएपछि कृषकलाई सास्ती भएको कृषक बताउँछन्। राससबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट