कांग्रेसले किन सम्झिँदै छ ‘भद्र सहमति’ ?-Sutra News

कांग्रेसले किन सम्झिँदै छ ‘भद्र सहमति’ ?

बिहिबार, १८ माघ २०८०

बिहिबार, १८ माघ २०८०

काठमाडौं । पाँच दलीय कांग्रेस–माओवादी गठबन्धनबीच २०७९, मंसिरको चुनावअघि नै चुनावपछिको सरकारको नेतृत्वबारे करिब सहमति बनेको थियो । सोही सहमतिअनुसार नै अगाडि बढ्ने दलहरुको तयारी थियो । तर, चुनावी परिणाम सहमतिलाई निरन्तरता दिने अनुकुलमा आएन ।



कांग्रेसका निम्ति अपेक्षित परिणाम आउँदा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीलगायतलाई असहजता बनायो । सँगै पूर्वसहमतिअनुसार अगाडि जाने सन्दर्भमा पनि किचलो निम्तियो ।

विशेषगरी कांग्रेसको मुल नेतृत्व पूर्वसहमतिअनुसार अघि बढ्ने पक्षमा देखिएन । जसको परिणाम संसद विघटनपछि बनेको पाँच दलीय कांग्रेस–माओवादी गठबन्धन विघटित बन्यो ।

२०७९ पुस १० मा अनौठो गरी एमाले–माओवादी एक ठाउँमा आए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भए ।

तर, छोटो समयमै एमाले–माओवादी गठबन्धनभित्र अविश्वास सिर्जना भयो । अविश्वासको नतिजा राष्ट्रपति निर्वाचनमा पोखियो । माओवादीको साथ नपाएपछि राष्ट्रपतिमा एमालेले पराजय व्यहोर्‍यो ।

घटनाक्रम यति रोचक बन्यो कि साढे दुई महिनाअघि पुस १० मा बनेको एमाले–माओवादी गठबन्धन राष्ट्रपति निर्वाचनसँगै फागुन २५ मा आउँदा विघटित बन्यो ।

तर, एमाले–माओवादी गठबन्धन विघटनको परिणाम यसअघिको कांग्रेस–माओवादी गठबन्धन ब्यूँतियो । ब्यूँतिएको गठबन्धनभित्र पुनः सत्ता सहकार्यको सहमति बन्यो ।

नेताहरुले बताएअनुसार २०७९ फागुनमा दलहरुबीच पाँच वर्षकै लागि सरकारको आलोपालोबारे ‘भद्र सहमति’ बनेको थियो । तत्कालिन समय गठबन्धनका मुख्य दल माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको थियो ।

जसअनुसार साढे दुई वर्ष प्रचण्ड, त्यसपछि एक वर्ष माधव नेपाल र अन्तिम डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भद्र सहमति बनेको थियो ।

तर, पुनः गठबन्धन ब्यूँतिएको एक वर्ष पुग्नै लाग्दा ‘भद्र सहमति’नै तोडिने सशंय बढ्न थालेको छ ।

भद्र सहमतिबारे बोल्न थाल्यो कांग्रेस

भद्र सहमतिको पालना हुने वा नहुने अन्योल बढिरहेका बेला कांग्रेसले सहमतिलाई पूर्ण पालना हुनुपर्ने बताउन थालेको छ । कांग्रेसले सहमतिबाट बाहिर जान नहुने बताएको छ ।

बुधबार दाङको घोराही पुगेका कांग्रेस नेता बिमलेन्द्र निधिले भद्र सहमतिअनुसार नै सरकार अघि बढ्नुपर्ने बताए । उनले तत्कालिन समय भएको सहमतिअनुसार नै सरकारको नेतृत्वमा आलोपालो हुनुपर्ने बताए ।

“कतिपयले गठबन्धनको काम छैन, यो सरकार विघटन गर्नुपर्छ भनेको सुनिन्छ तर, अहिले त्यो उपयुक्त नीति र धारणा होइन”, निधिले भनेका छन्, “कांग्रेस भद्र सहमतिलाई पालना गराउने पक्षमा पूर्ण प्रतिबद्ध छ । हामी दाँयाबाँया लाग्नुहुन्न ।”

उनले भद्रसहमतिअनुसार अबको डेढवर्षपछि माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने बताएका छन् । “हामीबीच भएको समझदारीअनुसार पहिलो चरणमा माओवादी अध्यक्ष प्रचण्ड, दोस्रो चरणमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री हुने र चुनाव गराउने छ” उनले भनेका छन्, “अहिलेसम्मको समझदारी यही हो ।”

किन उठ्यो सहमति पालनाको आवाज ?

विशेषगरी स्वयम् प्रधानमन्त्री प्रचण्डका अभिव्यक्तिले हालको गठबन्धनको भविष्यमाथि आशंका जन्माएको देखिन्छ । प्रधानमन्त्री प्रचण्डले विभिन्न सार्वजनिक कार्यक्रममार्फत गठबन्धन सरकार पाँचै वर्ष टिक्ने मात्रै बताएका छैनन् आफूँ पनि पाँचै वर्ष प्रधानमन्त्री हुनसक्ने बताउन थालेका छन् । प्रचण्डको त्यस्तो अभिव्यक्तिपछि गठबन्धनभित्र केही अस्पष्टता उत्पन्न भएको देखिन्छ ।

प्रचण्ड अभिव्यक्तिलाई लिएर कांग्रेस नेतृत्व केही झस्किएको राजनीतिक विश्लेषकहरुको भनाई छ । “आफ्नै नेतृत्वमा पाँचै वर्ष सरकार टिक्ने” प्रचण्ड अभिव्यक्तिपछि कांग्रेसले भद्र सहमतिलाई सम्झिन थालेको विश्लेषक मुकुन्द आचार्य बताउँछन् । पछिल्लो परिस्थिति पनि भद्र सहमति पालना गरेर अगाडि बढ्दा नै सहज हुने कांग्रेसले आकंलन गरेको उनले बताए ।

“राजनीतिक जतिखेर, जता पनि बग्ने खालको छ, प्रचण्डको राजनीतिक अस्थिरता र कांग्रेसभित्रको राजनीतिले पनि गठबन्धन टिकाइराख्छ भन्ने अवस्था छैन”, आचार्यले भनेका छन्, “जसको परिणाम कांग्रेसको संस्थापनलाई भद्र सहमतिलाई नै पालना गराउँदा आफू अनुकुल हुन्छ भन्ने देखिएको छ ।”

यद्यपि, अहिलेको परिस्थिति प्रचण्डका निम्ति केही अनुकुल भएको कारण सहमति पालना गराउने सन्दर्भमा पनि प्रचण्ड हाबी हुने उनको बुझाइ छ । अन्यका निम्ति भद्र सहमति पालना गराउनुपर्ने बाध्यता रहेको उनले बताए ।

“माधव नेपालको पार्टी राष्ट्रिय पार्टी नै बनेन, कांग्रेसलाई माओवादीसँग सहकार्य तोड्ने परिस्थिति नै छैन, जसको फाइदा प्रचण्डले लिने अवस्था बनेको छ”, उनले भनेका छन्, “प्रचण्डको अनुकुलमै सहमति अगाडि बढ्छ भन्ने देखिन्छ ।”

यद्यपि, प्रचण्डलाई पनि जोखिम नमोली अगाडि बढ्न सहमतिलाई पालना गर्नु उपयुक्त हुने देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट