प्रचण्डले अप्ठ्यारोमा भन्ने मन्त्र : माओवादी घटकबीचको एकता !-Sutra News

प्रचण्डले अप्ठ्यारोमा भन्ने मन्त्र : माओवादी घटकबीचको एकता !

शनिबार, १३ माघ २०८०

शनिबार, १३ माघ २०८०

काठमाडौं । माओवादी केन्द्र सत्तामा नेपाली कांग्रेससहितका दलहरुसँग सहकार्यमा छ । तर, सत्ता सहकार्यमा भएपनि विश्वासको वातावरण भने सत्ता साझेदारसँग कत्तिपनि छैन ।



हालै, राष्ट्रियसभा निर्वाचनमा भएको घटनालाई हेर्दा, कोशीमा माओवादी केन्द्रका उम्मेदवारमाथि घात भएको छ भने गण्डकीमा पनि मुस्किलले माओवादी केन्द्रको उम्मेदवारले जितेकी छिन् । कोशीमा गठबन्धनको सहज बहुमत हुँदा पनि माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की हारिन् । उनलाई एमालेको तर्फबाट उम्मेदवार बनेकी रूक्मिणी कोइरालाले हराएकी थिइन् ।

यता, गण्डकीमा पनि मनरुपा शर्माले चुनाव त जितिन् तर, मतदानका क्रममा अन्तरघात भएको थियो । यद्यपि, माओवादी केन्द्रका मतदाताले भने कांग्रेस र अन्यका उम्मेदवारलाई इमान्दारीताका साथ मत हालेको देखिन्छ ।

तथापि, राष्ट्रियसभाको निर्वाचन एउटा मात्रै त्यस्तो घटना भने होइन, यसअघि पनि विभिन्न घटनामा माओवादी केन्द्रमाथि यस्तै प्रकृतिका धोकाधडी भएका छन् । हुनत् कांग्रेसको इतर पक्षका नेताहरुले खुलेरै असहयोग गर्ने बताइरहेका छन् । उनीहरुले माओवादी जसरी पनि हराउने बताइरहेका छन् ।

पछिल्लो परिस्थितिपछि माओवादी केन्द्र थप सकसमा परेको देखिन्छ । यस्तोमा कसरी अगाडि बढ्ने माओवादीका निम्ति निकै नै सोंचनीय विषय बनेको छ ।

राष्ट्रियसभा निर्वाचनको घटनापछि केही नेताहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै कांग्रेससँगको सहकार्य तोड्नुपर्ने बताउन थालेका छन् । तर, सहकार्य कसरी तोड्ने अवस्था प्रश्नले घेरिएको छ ।

एकातिर कांग्रेससँगको सहकार्य तोडेर पुनः एमालेसँग सहकार्य गर्ने विषय त्यति सहज छैन भने अर्कोतिर गठबन्धनभित्र बढ्दो घात र अविश्वासले आगामी सहकार्य कसरी गर्ने थप जटिलता बनाइरहेको छ । अर्कोतिर माओवादी केन्द्रका निम्ति शान्ति प्रक्रियासँग सम्बन्धित विभिन्न मुद्दालाई किनारा लगाएर जाने विषय पनि उत्तिकै जटिल छ । यस्तोमा परिवर्तन उल्ट्याउने गरी शक्तिहरु पनि सक्रिय छन् ।

परिस्थिति हेर्दा, माओवादी केन्द्र चौतर्फी घेराबन्दीमा छ । माओवादी केन्द्रले उठान गरेको एजेण्डा अहिले संकटमा छ ।

राजनीतिकरुपमा चौतर्फी घेराबन्दीमा परेपछि माओवादी केन्द्र वृत्तबाट फेरि माओवादी घटकबीचको एकताको आवाज उठ्न थालेको छ । माओवादी केन्द्रका अध्यक्ष स्वयम्ले माओवादी घटकबीच एकता नगरी समस्याको निकास नहुने बताउन थालेका छन् । उनले सार्वजनिकरुपमै एकताबद्ध हुन अपिल पनि गरेका छन् ।

“देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु”, शनिबार पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने, “प्राप्त उपलब्धिलाई रक्षा गर्न एकताबद्ध हुनुको विकल्प छैन ।”

यद्यपि, प्रचण्डले यस्ता भाषा यसअघि धेरै पटक प्रयोग गरेका छन् । जब राजनीतिकरुपमा अप्ठ्यारोमा पर्दछन् तब, यस्ता भाषाहरु प्रयोग गर्ने गरेका छन् ।

तर, बाबुराम र विप्लवलाई भित्र्याउने विषय अलपत्र

लामो समयदेखि नै माओवादी केन्द्रभित्र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने चर्चा चलिरहेको छ । जसका लागि एकता समिति बनाउँदै वार्ताका विभिन्न चरणहरु पनि चलिरहेका छन् । तर, एकताको प्रक्रिया टुंग्याउनेतर्फ उन्मुख छैन ।

पार्टीहरुबीच एकता गर्ने वा नगर्ने भन्ने विषय मुख्यगरी अध्यक्ष प्रचण्डको चाहना र योजनामा भर पर्ने गरेको छ । पछिल्लो अवस्थामा मुख्यगरी पार्टी अध्यक्षले इच्छा नदेखाउँदा एकता प्रक्रिया अगाडि बढ्न नसकेको नेताहरु बताउँछन् । माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले बताएअनुसार पार्टीको नाम, सिद्धान्त र नेताहरुको जिम्मेवारीबारे टुंगो लगाए एकता घोषणा गर्न सकिन्छ ।

तर, स्वयम् अध्यक्ष यस प्रक्रियालाई अगाडि बढाउन तयार नरहेको कारण अलमल परेको छ । अध्यक्ष स्वयम्ले पछिल्लो समय अन्य कम्युनिष्टहरुबीच पनि एकता गर्नुपर्ने भाषा बोलेको कारण पनि समस्या सिर्जना भएको ती नेताको भनाई छ ।

“खै अप्ठ्यारो पर्दा यस्ता कुरा आउँछन्, मन्त्र जस्तो भाछ, टुंग्याउन तदारुकता देखिन्न”, ति नेताले भनेका छन्, “अध्यक्षले चाहे तुरुन्तै एकता हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट