विद्यार्थी लिन घरमा पुग्छ गाडी, विद्यार्थी नभएर रित्तिँदै विद्यालय-Sutra News

विद्यार्थी लिन घरमा पुग्छ गाडी, विद्यार्थी नभएर रित्तिँदै विद्यालय

सोमबार, ८ माघ २०८०

सोमबार, ८ माघ २०८०

काठमाडौं । गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको विद्यालयसँग समायोजन गरिरहेको छ ।



नगरपालिकाले तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगरसभाबाट पारित गरेर कार्यान्वयन गरेको हो । हालसम्म गलकोटका १२ विद्यालय समायोजन भइसकेका छन् भने केही हुने चरणमा छन् ।

भौतिक रुपमा विद्यालय निर्माण सम्पन्न भए पनि विद्यार्थी नहुँदा पठनपाठनमा समस्या हुने गरेको छ । नगरपालिकाले विद्यालय समायोजनसँगै तह मिलानसमेत गरिरहेको छ । पाँच वर्षअगाडि गलकोट नगरपालिकाभर ७४ वटा सामुदायिक विद्यालय थिए ।

ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या न्यून भएपछि नगरपालिकाले २०७५ देखि विद्यालय तह मिलान तथा समायोजन गर्न थालेको हो । भौगोलिक दूरी र विद्यार्थी संख्याको आधारमा कतिपय विद्यालयलाई समयोजन र कतिपयलाई तह मिलान गर्दै आएको छ ।

अहिले गलकोट नगरपालिकामा ६२ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । सोमध्ये १३ माध्यमिक र ५१ वटा आधारभूत तहका विद्यालय छन् ।

ग्रामीण क्षेत्रका विद्यार्थी कम भएपछि यस वर्ष करिब पाँच वटा विद्यालय समायोजन गर्ने नगरपालिकाका शिक्षा अधिकृत शिव खड्काको भनाइ थियो ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गाउँका अधिकांश मानिस बजार झरेपछि विद्यालय खाली भएको भन्दै विद्यालयमा शिक्षक खटाउनुभन्दा विद्यार्थीलाई एकै ठाउँमा राखेर पठनपाठन गर्ने र शैक्षिक गुणस्तर बढाउने गरी नगरपालिका लागिरहेको बताए ।

विद्यालय समायोजनपछि विद्यार्थी लिन गाडी घरघरमा पुग्छन् । गाडी घरमै लिन आएपछि विद्यार्थी पनि उत्साहित भएका छन् । दैनिक घण्टौँ हिँडेर विद्यालय पुग्ने विद्यार्थी अहिले केही मिनेटमै पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट