लागु औषधबाट अमेरिकालाई सिध्याउने एक परिवार, आफू जोगिन खर्बौं घुस-Sutra News

लागु औषधबाट अमेरिकालाई सिध्याउने एक परिवार, आफू जोगिन खर्बौं घुस

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

‘हेरोइन लिन थालेपछि अरु मानिसजस्तै त्यससँग सम्बन्ध बनाउन थाल्छ, छोड्ने सोच पनि हुँदैन ।’



अमेरिकाका घरबारविहीन र लागुऔषध दुव्र्यसनी व्यक्ति डेनको भनाइ हो- यो । लागु पदार्थको लतको यो कथा कुनै एक डेनको होइन, अमेरिकामा यस्ता लाखौं छन् । लागुऔषध विनाको जीवन सोच्न पनि सक्दैनन्, उनीहरू ।

अमेरिकामा सन् २०२२ मा लागुऔषधको ओभरडोजका कारण एक लाखभन्दा बढीले ज्यान गुमाए । लतका कारण अमेरिकी जनताको औसत आयु दुई वर्ष घटेको छ ।

विश्वको सबैभन्दा शक्तिशाली देशको यस्तो अवस्था बनाउन ‘स्याक्लर’ परिवार जिम्मेवार मानिन्छ । यो परिवारले ‘पर्ड्यु’ औषधि कम्पनीको स्वामित्व लिएको थियो । जसको ड्रग्सले अमेरिकाका मानिसहरूलाई ड्रग्सको लतमा पारेको थियो ।

चार वर्षपछि सोमबार अमेरिकाको सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । कम्पनीले पीडित परिवारलाई क्षतिपूर्ति दिने बाचा पूरा भएको छ कि छैन ?

यस समाचारमा स्याक्लर परिवार र पर्ड्यु कम्पनीलाई किन जिम्मेवार ठहराइएको छ भन्ने कुरा लेखिएको छ ।

यसरी बस्यो अमेरिकामा लागुऔषधको लत

सन् १९९० को दशकको कुरा हो । त्यहाँका मानिसहरूलाई शरीर दुख्ने गम्भीर समस्या रहेको अमेरिकी डाक्टरहरूले स्वीकार गरेका छन् । यसबाट राहत पाउने उपाय खोजी हुन्छ ।

त्यसपछि अमेरिकाका औषधि कम्पनीहरूबीच दुखाइको औषधि बनाउन प्रतिस्पर्धा हुन्छ । यसमा, पर्ड्यु नामको कम्पनी सबैभन्दा अगाडि देखिन्छ । डा. रिचर्ड स्याक्लरले यो औषधि बनाउनमा महत्वपूर्ण भूमिका खेले । उनी यस कम्पनीका धेरै मालिकमध्ये एक थिए । कम्पनीले बनाएको औषधिको नाम ‘ओक्सी कन्टिन’ थियो ।

औषधि निर्माणपछि पर्ड्यु कम्पनीले जुन १५, १९९३ देखि अप्रिल १५, १९९४ सम्म ओक्सी कन्टिनको परीक्षण गरेको थियो । यस परीक्षणमा घुँडा र जोर्नी दुख्ने समस्याबाट पीडित १३३ वृद्धवृद्धाहरू समावेश थिए ।

परीक्षणमा केवल ६३ जनाले सक्षम भए । यीमध्ये ८२ प्रतिशत व्यक्तिले विभिन्न साइड इफेक्टहरू भोगेका थिए । तर, खतरालाई बेवास्ता गर्दै कम्पनीले औषधिले लामो समयसम्म दुखाई कम गर्न सक्ने बताएको थियो ।

त्यसपछि मार्केटिङ टोलीले पाँच सय चिकित्सकसँग बैठक गरेर औषधि जनतामाझ पुर्याउने गरेको छ । यीमध्ये ७६ प्रतिशत डाक्टरहरू औषधि प्रयोग गर्न सहमत भए ।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार डा. स्याक्लरले ड्रग्सको प्रचार गर्न ठूला पार्टीहरू आयोजना गरेका थिए । यसैबीच यो कम्पनीले जेनेभाका प्रख्यात डाक्टर पियरे डेरलाई दुखाई कम गर्ने अभियानसँग जोडेको छ ।

उनी कम्पनीको यो अभियानको तारिफ गर्छन् । तर, साथसाथै यो औषधि खाँदा बानी बस्ने सम्भावनाबारे बताउँछन् । कम्पनीले यसलाई बेवास्ता गरेको छ । फल स्वरूप औषधि बजारमा आएसँगै राम्रो बिक्री हुन्छ । कम्पनीको एक वर्षको बिक्री लक्ष्य ८ महिनामा पूरा हुन्छ ।

औषधि प्रतिबन्धित भएपछि हेरोइनको लत

अमेरिकी समाचार वेबसाइट भोक्सका अनुसार यो औषधि बजारमा आउनेबित्तिकै दुखाईबाट पीडित मानिसहरूले यसको प्रयोग तीव्र रूपमा गर्न थाले । बिस्तारै अन्य फार्मा कम्पनीहरू पनि दुखाईको औषधि बनाउने व्यवसायमा जान थाले । सन् २०१२ मा मात्रै अमेरिकी डाक्टरहरूले २५ करोडभन्दा बढी दुखाईका बिरामीलाई ओक्सी कन्टिन औषधि दिए ।

स्ट्यानफोर्ड युनिभर्सिटीका प्रोफेसर किथ हम्फ्रिजले त्यसबेला भनेका थिए- ‘यो औषधिले दुखाई कम गर्छ भन्ने कुनै ग्यारेन्टी छैन, तर मानिसलाई अवश्य पनि यसको बानी पर्न सक्छ ।’

केही समयपछि अमेरिकामा धेरै मानिसहरूमा यो औषधि लिने बानी परेको थियो । औषधिको ओभरडोजका कारण धेरैको ज्यान जान थालेपछि सरकारले सन् २०१३ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सन् २०१५ मा अमेरिकामा लागुऔषधको ओभरडोजका कारण ५२ हजार मानिसको मृत्यु भएको थियो । यो संख्या त्यहाँ सडक दुर्घटना र सामूहिक गोली हानाहानबाट हुने मृत्युभन्दा अधिक हो ।

सन् २०१५ मा लागुऔषधका कारण मृत्यु हुनेको संख्या सन् १९९५ मा एड्सको महामारीका कारण मृत्यु भएको संख्याभन्दा बढी थियो । त्यसबेला अमेरिकामा लागुऔषधको लत महामारीको रुपमा फैलिएको विश्वास गरिन्छ ।

यति हुँदाहुँदै यो औषधिको लतमा फसेका मानिसहरूले गोप्य रूपमा यसको प्रयोग गरिरहेका थिए । औषधि पाउन छाडेपछि उनीहरूले अफिम, हेरोइन र खतरनाक औषधि फेन्टानिलको प्रयोग गर्न थाले । यसरी अमेरिकाको एक पुस्ता लागुऔषधको कुलतमा फसेको छ ।

स्याक्लर परिवारको भूमिका

अमेरिकामा लागुऔषधको लागि स्याक्लर परिवारलाई जिम्मेवार ठहराउनुको पहिलो मुख्य कारण यो हो कि यो परिवारका मानिसहरूले पर्ड्यु फार्मा कम्पनी चलाए ।

जसले औषधि ओक्सी कन्टिन उत्पादन गर्थे । परिवारका धेरै सदस्य सन् २०१८ सम्म कम्पनीको सञ्चालक रहेकाले पेनकिलरको नाममा नसालु औषधि बिक्री गरेर मनग्य नाफा कमाएका थिए ।

सन् २००७ मा पर्ड्यु फार्मासँग सम्बन्धित एक कम्पनी जालसाजीको आरोप थियो । जसका कारण ८ खर्ब रुपैयाँ जरिवाना तिर्नु परेको थियो । त्यसपछि अमेरिकाको २३ राज्यमा स्याक्लर परिवारको पर्ड्यु फार्माविरुद्ध झुट बोलेको र औषधिको सत्यता लुकाएको भन्दै २३ सय मुद्दा दर्ता भएको थियो ।

सन् २०२० मा एक अमेरिकी अदालतले पर्ड्यु फार्मालाई यसको मार्केटिङ्ग रणनीतिको लागि दोषी ठहर गर्यो । अदालतले कम्पनीले मानिसहरूलाई यो औषधिको लत लाग्ने तथ्य लुकाएको स्वीकार गर्यो । जसका कारण जनताले जानीजानी औषधि प्रयोग गरेर ज्यान गुमाएका थिए ।

अमेरिकाका विभिन्न राज्यका अदालतले कम्पनीलाई पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएका छन् । अमेरिकी समाचार वेबसाइट ‘क्वार्ट्ज’का अनुसार स्याक्लर परिवारले ओपिओइड महामारीको लागि दोषी ठहरिएपछि पर्ड्यु फार्माको स्वामित्व त्यागेको थियो ।

मुद्दाबाट बच्न साढे १० खर्बको सम्झौता

स्याक्लर परिवारले हजारौँ मुद्दाहरू समाधान गर्न निश्चित शर्तहरूमा १० खर्ब ६४ अर्ब रुपैयाँ तिर्न सहमत भयो । बदलामा, पर्ड्यु र स्याक्लर परिवारले उनीहरू र कम्पनीविरुद्ध कुनै पनि नयाँ मुद्दाहरू रोक्न पर्ने थियो ।

न्यूर्योक टाइम्सकाे रिपोर्टले खुलासा गरेअनुसार स्याक्लर परिवारले औषधिसम्बन्धी सरकारी नीति बनाउन सुझाव दिने गैरसरकारी संस्थालाई दुई अर्ब ४८ करोड रुपैयाँ घुस खुवाएको थियो । अहिले स्याक्लर परिवारको दबाबमा यो राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले सरकारलाई कुनै सुझाव दिएको हो कि भनेर छानबिन गर्न माग उठेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट