एक्लो दुर्गा प्रसाईँसँग किन भिड्न तयार भयो एमाले ?-Sutra News

एक्लो दुर्गा प्रसाईँसँग किन भिड्न तयार भयो एमाले ?

मंगलबार, ५ मंसिर २०८०

मंगलबार, ५ मंसिर २०८०

काठमाडौँ । मंसिर ७ गते महाभिडन्त उत्रिन तम्तयार बनेका नेकपा (एमाले) र दुर्गा प्रसाईंको कार्यक्रम स्थल फाइनल भएको छ । एमालेको शक्ति प्रदर्शनको अगुवाई गरेका नेता महेश बस्नेतले राजधानीको तिनकुनेमा शक्ति प्रदर्शन गर्दा नवराजावादी बनेका मेडिकल व्यवसायी प्रसाईँको समूहले राजधानीको बल्खु चोकमा कार्यक्रम गर्ने अनुमति पाएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । 



मंगलबार बिहान गणतन्त्रविरोधी अभियानको नेतृत्व गरिरहेका प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधिबीच भएको छलफलले प्रसाईँलाई बल्खु चोकमा शक्ति प्रदर्शन गर्न दिने निर्णय भएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिए । युवा संघले भने सोमबार साँझ नै मंसिर ७ गतेको शक्ति प्रदर्शन तिनकुनेमा गर्ने निर्णय गरिसकेको छ ।

यो सँगै कम्तीमा एमालेको महेश बस्नेत समूह र दुर्गा प्रसाईं नेतृत्वको मुठभेठको सम्भावना प्रत्यक्षरूपमा टरेको छ । तर, दुबै समूहमा घुसपैठको सम्भावनालाई भने नकार्न सकिँदैन । यसैलाई मध्यनजर गर्दै गृह मन्त्रालयले दुबै समूहको शक्ति प्रदर्शनमा ठूलो संख्यामा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको जनाएको छ । दुबै पक्षको शक्ति प्रदर्शनमा कति संख्यामा सादा पोशाकमा सुरक्षाकर्मी खटाउने नखुलाईएको भए पनि दुबै पक्षमा गरेर करिब २ हजार सादा पोशाकका सुरक्षाकर्मी खटिने गृह मन्त्रालय निकट स्रोतले जानकारी दिएको छ । 

देशव्यापी बलियो जनसंगठन र संयन्त्र भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सिंगो संगठित शक्तिकै रूपमा सरकारविरुद्ध प्रदर्शन गरेको जस्तो देखाइए पनि सारमा प्रसाईंविरुद्ध उभिएको बुझ्न कठिन छैन । एमालेले सङ्गठितरूपमै आफ्नो कार्यक्रमको प्रतिवाद गर्ने बुझेका नवराजावादी प्रसाईँले एमालेको शक्ति प्रदर्शनलाई काउन्टर दिने गरि मंसिर ७ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध प्रमाण सहितका अनियमितता सार्वजनिक गर्ने तयारीमा रहेको प्रसाईं निकटकाहरू बताउँछन् । 

देशको अर्थनीति कसरी मारवाडी समुदायका केही व्यक्तिको हातमा बुझाए, यति समूहसँग ओलीको निकटाका केही प्रमाण र कम्बोडियाको टेलिकममा ओलीले लगानी गरेका केही तथ्य समेत सार्वजनिक गर्ने प्रसाईँको तयारीपछि एमाले अध्यक्ष ओलीले पनि प्रसाईँको विरुद्धमा सिंगो पार्टी नै परिचालित गर्नुपर्ने अवस्था आएको जानकारहरूको बुझाई छ । ७ गते ओली विरुद्धका प्रमाण सार्वजनिक गरेपछि ८ र ९ गते मात्रै वृहत् शक्ति प्रदर्शन गर्ने प्रसाईँकाे तयारी छ । ७ गते सार्वजनिक भएका प्रमाणले ८ र ९ गतेको प्रदर्शन अझै सशक्त र फलदायी हुने प्रसाईं समूहका नेताहरूको दाबी छ । 

बैंकको ॠण तिर्न नसकेर मास सेन्टिमेन्ट बटुल्न शक्ति प्रदर्शन गर्न उत्रिएको दाबी गणतन्त्रवादीहरूले गर्दै गर्दा एकथरिले भने राजनीतिको फोहोर सफा गर्दै अहिलेको व्यवस्थालाई परिवर्तन गर्न सक्ने हैसियत भएको नेताको दर्जामा प्रसाईंको भजन गाउन व्यस्त बनेको समयमा एमालेको सिंगो संगठित शक्ति नै प्रसाईं विरुद्ध उत्रिँदा एउटा मामुली मेडिकल व्यवसायी आज देशको एउटा प्रमुख नेतासरहको स्थान पाएका छन् भने झापामै बसेर सिंगो देशलाई हल्लाउन सक्ने हैसियत बनाएका छन् । 

केही महिना अगाडिसम्म मात्रै पनि नेकपा एमालेको केन्द्रीय सदस्य रहेका प्रसाईं अहिले एमालेकै सबैभन्दा ठूलो टाउको दुखाई बनेका छन् । तत्कालीन नेकपामा माओवादी पृष्ठभूमिका नेताको परिचय बनाएका प्रसाईं माओवादी छोडेर एमालेमै बसेपछि एक समय माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दा मजा मानेर प्रसाईँको स्तुति समेत गर्न पछि नपर्ने एमाले यतिबेला उनै विरुद्ध सिंगो शक्ति परिचालित गर्न बाध्य भएको छ । कुनै बेला ओलीको किचनदेखि राजनीति तहसम्म पहुँच बनाएका प्रसाईँले ओली विरुद्धका प्रमाण संकलन गरेर उनै विरुद्ध प्रहार गर्न थालेपछि एमाले पनि प्रसाईँलाई ठेगान लाउनै तहमै प्रस्तुत भएको बुझ्न कठिन छैन् ।

कुनै बेला आफ्नै पार्टीका सङ्गठित कार्यकर्ता रहेका प्रसाईँको एमाले विरुद्धको फायरले अन्ततः आफूलाई नै सहयोग पुग्ने आशामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रसाईँको गतिविधिमाथि नजर राखेपनि त्यसलाई नियन्त्रण भने नगर्ने मनस्थितिमा छन् । प्रचण्डको सत्ता यात्राको सबैभन्दा ठूलो चुनौती रहेको एमाले विरुद्ध प्रसाईँले खोलेको फायरको सबैभन्दा बढी फाइदा प्रचण्डलाई नै छ । त्यसैले त ओलीको पटकपटकको ताकेताको बाबजुद साइबर ब्युरोमा सामान्य सोधपुछका अलावा वर्तमान सरकारले प्रसाईँका सबै गतिविधिलाई निर्वाध सञ्चालन गर्न कुनै वाधा अवरोध सिर्जना गरेको छैन । प्रचण्डले एकातिर प्रसाईँलाई देखाएर व्यवस्थामाथि संकट भएको भाष्य निर्माण गराएका छन् भने अर्कोतिर एमालेमाथि प्रसाईँले सिर्जना गरेको दबाबको राजनीतिका फाइदा आफूले लिने सोचमा लागेका छन् । 

भलै प्रसाईँको आन्दोलनको प्रमुख एजेन्डा रहेको आर्थिक विषयलाई समेत ध्यान दिएर मौद्रिक नीतिको समीक्षा अवधि अगावै एउटा उच्चस्तरीय आर्थिक समिति बनाउने गृहकार्यमा जुटेका छन् । नत्र पश्चिम रुकुम र जाजरकोटमा चिसोका कारण भूकम्प पीडितले प्रतिदिन आफ्ना प्रियजन गुमाउँदै गर्दा सरकार यतिसारो मस्त निन्द्रामा नहुनुपर्ने नै हो ।

 जे होस् मंसिर ७ को शक्ति प्रदर्शनले एमाले र प्रसाईं दुवैले आफ्नो हैसियत त देखाउने प्रयास गर्ने नै छन् तर, त्यसले देश र नागरिकको अवस्थामा कुनै फरक पार्ने हैसियत भने राख्दैनन् न त यो प्रदर्शनले गणतन्त्रलाई अझ सुदृढ र जवाफदेही बनाउन सक्छ न त प्रसाईँले भने जस्तो राजसंस्था नै फिर्ता आउने सम्भावना छ । बरू दुबै समूहको प्रदर्शनले एमाले अध्यक्ष ओलीले भनेजस्तै काठमाडौँलाई थप फोहोर मात्रै बनाउने छन् भन्दा कुनै अतियुक्ति नहोला कि ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट