बालकोटको कोठरीमा ओली–उपेन्द्रको बाक्लिँदो भेट, बदलिएला त सत्ता ?-Sutra News

बालकोटको कोठरीमा ओली–उपेन्द्रको बाक्लिँदो भेट, बदलिएला त सत्ता ?

सोमबार, ४ मंसिर २०८०

सोमबार, ४ मंसिर २०८०

काठमाडौं । सत्ता राजनीतिमा फेरि नयाँ खेलहरु देखिन थालेका छन् । कोशी घटनापछि केही मथ्थर बनेको राजनीति पुनः समीकरण फेरबदलको कसरतले तात्तिन थालेको छ । अनौठो, एकले अर्कोलाई निकै उछितो काढ्ने एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादव नयाँ समीकरण बनाउने कसरतमा देखिएका छन् । पछिल्ला केही साताको बीचमा ओली र यादवबीच ओली निवास बालकोटको कोठरीमा तारन्तार गोप्य भेटवार्ता भइरहेका छन् ।



गत कातिक २७ मा एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच घण्टौं लामो छलफल चलेको थियो । सार्वजनिक भएको उक्त भेटमा सत्ता राजनीतिका थुप्रै सम्भावनाबारे छलफल भएको नेताहरुले बताएका छन् । एमालेका उच्च नेताहरुले बताएअनुसार असोजदेखि नै यस्ता भेटहरु दुई नेताबीच चलिरहेका थिए ।

अहिले खासगरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गौर हत्याकाण्डको फाइल अगाडि बढाउने तयारी गरेपछि उपेन्द्र यादव नराम्रोसँग झस्किएका छन् भने कोशी घटना अनुकुल नबनेपछि ओली पनि विकल्पको खोजीमा छन् । गौर हत्याकाण्ड छानबिनको तयारीपछि झस्किएका उपेन्द्रलाई ओली निकै उत्तम विकल्प बने । जसको कसीमा समीकरण फेरबदलको कसरत चलेको हो ।

यदि गौर नरसंहारको फाइल अगाडि बढेमा यादव निश्चितै रुपमा फस्ने अवस्था छ । २०६३ चैत ७ मा गौरमा भएको नरसंहारमा तत्कालिन नेकपा (माओवादी)का कार्यकर्तालाई छानछानि तत्कालिन जनअधिकार फोरमका कार्यकर्ताले हत्या गरेका थिए । २७ जना माओवादी कार्यकर्ता मारिएको उक्त घटनाका थुप्रै तथ्यहरु सार्वजनिक हुँदा पनि अहिलेसम्म कारबाही प्रक्रिया अगाडि बढेको छैन ।

सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबिच गत साउन २३ मा भएको पाँच बुँदे सम्झौतामा उक्त घटनामाथि छानबिन प्रक्रिया अगाडि बढाउने उल्लेख छ । पीडितहरुले जसपा अध्यक्ष यादवलाई नै किटेर थुप्रै जाहेरी पनि दर्ता गराएका छन् । यस्तोमा उपेन्द्रको राजनीतिक भविष्य धुमिल छ ।

तथापी, संसदीय अंकगणितको कारण यादवको टाउकोमा तरबार ठड्याएपनि कारबाही प्रक्रिया अगाडि बढाउने पक्षमा प्रचण्ड सरकार देखिन्न । यही मेसोमा एमाले अध्यक्ष ओली पनि सत्ता समीकरण फेरबदल गर्न सकिन्छ कि भन्ने ध्याउन्नमा जुटेका हुन् । प्रतिनिधि सभामा १२ सिट रहेको जसपालाई सत्ता गठबन्धनबाट बाहिर निकाल्न सके नयाँ सरकारका लागि कोर्स बदल्ने राजनीतिक वातावरण तयार हुने विश्वास ओलीमा देखिएको छ ।

अहिले रास्वपा, राप्रपा र जसपालाई समेटेर समीकरण बनाउन सकिएमा अन्य साना दललाई पनि समेट्न सकिने निष्कर्षमा एमाले पुगेको नेताहरुको भनाई छ । अहिले सत्ता समीकरण फेरबदलका लागि एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठलगायतका नेता सक्रिय छन् ।

२१ सिट भएको रास्वपा, १४ सिट भएको राप्रपा, १२ सिट भएको जसपा र अन्य साना दललाई समेटेर बहुमत पु¥याउने तयारी एमालेको छ । एमालेका नेताहरुले ६ सिट भएको जनमत पार्टी, ४ सिट भएको नागरिक उन्मुक्ति पार्टी र एक सिट भएको नेमकिपालाई पनि फकाउने प्रयास गरिरहेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट चाहिन्छ ।

गत पुस १० मा एमाले–माओवादीको सत्ता समीकरणमा प्रचण्ड नेतृत्वको सरकार बनेको थियो । २०७९ फागुन ११ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेससहित ८ दलको बैठकले एमालेसँगको पूर्वसहमति तोडेर अगाडि बढेपछि सरकार ढाल्ने कसरतमा एमाले भित्री रुपमा निरन्तर सक्रिय रहँदै आएको छ ।

तथापी, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई अलग नबनाई भने सरकार परिवर्तनको खेल सहज देखिन्न । संघसहित सबै प्रदेशमा गठबन्धन गरेका तीन दलसँग बहुमत नभएपनि बहुमतनजिक भने सिट छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट