आजदेखि अवैध मोबाइलमा ‘नेटवर्क लक’, यसरी हेर्नुहोस् दर्ता छ कि छैन ?-Sutra News

आजदेखि अवैध मोबाइलमा ‘नेटवर्क लक’, यसरी हेर्नुहोस् दर्ता छ कि छैन ?

सोमबार, २० कार्तिक २०८०

सोमबार, २० कार्तिक २०८०

काठमाडाैं । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अन्ततः सोमबारदेखि लागु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो ।



गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालनमा ल्याइएकाे हाे । आजदेखि प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक हुनेछ । अबदेखि हरेक दिन दर्ता नभएका त्यस्ता मोबाइलको नेटवर्क लक हुँदै जानेछन् ।

प्राधिकरणले एमडिएमएस लागु गर्नुपूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो । त्यसअघि पनि प्राधिकरणले बारम्बार एमडिएमएस प्रणालीमा मोबाइल दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो ।

प्राधिकरणले गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइललाई आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको छ तर त्यसपछि आएका धेरै मोबाइल दर्ता नभएकाले त्यस्ता सेट सञ्चालनमा रोक लगाइने जनाएको छ ।

बजारमा अवैध मोबाइल खरिद हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले मोबाइल खरिदपूर्व त्यसको आइएमइआई दर्तापूर्व प्रणालीमा दर्ता भए र नभएको यकिन गर्न पनि आग्रह गरेको छ । एमडीएमएस प्रणालीका लागि प्राधिकरणले सञ्चालनमा ल्याएको mdms.nta.gov.np मा गएर मोबाइल दर्ता भए/नभएको हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट