हिमालयनको नाफामा उछाल आउँदा एनआइसीको बिजोग-Sutra News

हिमालयनको नाफामा उछाल आउँदा एनआइसीको बिजोग

पहिलो त्रैमासमा कसले कति कमाए ?

शुक्रबार, १७ कार्तिक २०८०

शुक्रबार, १७ कार्तिक २०८०

काठमाडौं । वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ । सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समग्रमा बैंकहरुको नाफा १७.०४ प्रतिशतले घटेको छ ।



विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले कुल १३ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका छन् । तर, गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले १६ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएका थिए ।

नाफा बढी कमाउने होडबाजीमा अगाडि देखिने एनआइसी एसिया बैंक यसपटक निकै पछाडि परेको छ । जसको नाफा निकै खस्किएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ७५ करोड ६७ लाख रुपैयाँ कमाएको बैंकले यस पटक एक अर्ब एक करोड रुपैयाँ मात्रै नाफा कमायो । जुन गत आ.व.भन्दा ४२.४८ प्रतिशतले कम हो ।

एनआइसीसँगै सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र नबिल बैंकको नाफा घटेको छ ।

बैंकहरुमा तुलनात्मकरुपमा सिदार्थ बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र कुमारी बैंकको नाफा ७० प्रतिशतभन्दा बढीले कमी आएको छ । सबैभन्दा धेरै सिद्धार्थ बैंकको नाफा ९१.४ प्रतिशतले घटेको छ ।

सरकारी स्वामित्वको कृषि विकास बैंक भने पूर्ण घाटामा छ । पहिलो त्रैमासमा ८८ करोड ८० लाख रुपैयाँ घाटामा छ ।

अधिकांशको नाफा घट्दा हिमालयनको नाफामा उछाल

अधिकांश बैंकको नाफा घट्दा हिमालयन बैंकको भने नाफामा उछाल आएको छ । गत आर्थिक वर्षको त्रैमासमा ५३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको बैंकले यसपटक भने एक अर्ब पाँच करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिमा भन्दा बैंकले ९८.३५ प्रतिशतले नाफा बढाएको छ । हिमालयन बैंक अर्ब क्लबमा मात्रै उक्लिएको छैन, सबैभन्दा बढी नाफा कमाउनेमा पनि अगाडि आएको छ ।

सबैभन्दा बढी नाफा कमाउने बैंकहरुको सूचीमा हिमालयन पाँचौ नम्बरमा उक्लिएको छ ।

सबैभन्दा बढी नाफा कमाउनेमा इन्भेष्टमेन्ट मेगा

सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी नाफा कमाउने बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अगाडि आएको छ । पहिलो त्रैमासमा इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ५२ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत आर्थिक वर्षभन्दा यसपटक नाफा घटेपनि सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक दोस्रो बनेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी, ग्लोबल आईएमई बैंक नाफा कमाउनेमा तेस्रो बनेको छ । जसले चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब २२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ ।

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ३.०४ प्रतिशतले नाफा बृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट