चीनमा छन् गृहमन्त्री, थाइल्याण्ड लागे उर्जामन्त्री, अमेरिका जाने तयारीमा परराष्ट्रमन्त्री-Sutra News

चीनमा छन् गृहमन्त्री, थाइल्याण्ड लागे उर्जामन्त्री, अमेरिका जाने तयारीमा परराष्ट्रमन्त्री

बिहिबार, २ कार्तिक २०८०

बिहिबार, २ कार्तिक २०८०

काठमाडौं । सबैभन्दा धेरै भ्रमण गर्ने मन्त्रीमा पर्दछन् अर्थमन्त्री डा. प्रकाशशरण महत । उनले पछिल्लो चार महिनामा मात्रै पाँच पटक विदेश भ्रमण गरिसकेका छन् ।



अर्थमन्त्रीले योबीचमा भारत, क्यानडा, इजिप्ट, मोरक्कोको यात्रा गरिसकेका छन् । असोज २२ मा मोरक्को पुगेका महत असोज २८ मा स्वदेश फर्किएका थिए ।

अर्थमन्त्री फेरि मंसिर पहिलो साता बेलायत भ्रमणमा जाने तयारीमा छन् । लण्डनमा आयोजना गरिएको उच्चस्तरीय लगानी सम्मेलनमा भाग लिन अर्थमन्त्रीको टोली बेलायत जान लागेको हो । उनको भ्रमण कार्यक्रम मन्त्रीपरिषदबाट स्वीकृत भइसकेको छ ।

अर्थमन्त्री मात्रै होइन अन्य मन्त्रिहरु पनि पालो मिलाई–मिलाई विदेश भ्रमणमा गइरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएअनुसार भदौ लागेयता मात्रै १९ मन्त्रीहरुको टोलीले विदेश भ्रमण गरिसकेको छ ।

विदेश भ्रमणमा उपराष्ट्रपतिदेखि शिक्षा राज्यमन्त्रीसम्म पुगेका छन् ।

चीन भ्रमणमा पुगेका गृहमन्त्री अस्वस्थ्य

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले चीन भ्रमणमा छन् । उनी बीआरआईको कार्यक्रममा सहभागि हुन असोज २९ मा चीन पुगेका थिए ।
श्रेष्ठ शुक्रबार फर्किने तयारीमा थिए तर, स्वास्थ्यमा समस्या आएपछि श्रेष्ठ अहिले चीनमा उपचारका लागि रोकिएका छन् ।

गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’ भएको छ । गृहमन्त्रीको सचिवालयले जनाएअनुसार उनको अहिले बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचार चलिरहेकाे छ । उपचारको कारण श्रेष्ठको चीन बसाई लम्बिने देखिन्छ ।

जम्मो टोलिसहित दशैंमा थाइल्याण्ड पुगे उर्जामन्त्री

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत बुधबार थाइल्याण्डको राजधानी बैंककतिर लागेका थिए । अक्टोबर १९ र २० मा हुने तेस्रो एसिया–प्यासेफिक इनर्जी फोरममा सहभागि हुन उनी त्यता गएका हुन् ।

बस्नेतले मन्त्रालय नै रित्ताे पारेर राजनीतिकदेखि प्रशासनिक जम्माे टाेलीलाइ थाइल्याण्ड लगेका छन् । उनी केही दिन थाइल्याण्डमा रहने जनाइएको छ ।

दसैँकै दिन परराष्ट्रमन्त्री अमेरिका जाने

परराष्ट्रमन्त्री एनपी साउद पनि विदेश भ्रमणको तयारीमा छन् । उनी दसैँकै टिकाको दिन कात्तिक ७ गते अमेरिका प्रस्थान गर्नेछन् । एमसीसीलगायतका एजेण्डामाथि छलफल गर्न परराष्ट्रमन्त्रीको तहमा नेपालबाट उनले औपचारिक भ्रमण गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले उनको भ्रमण तालिका सार्वजनिक नगरेको भएपनि उनी कात्तिक ७ देखि कात्तिक ९ सम्म अमेरिकामा रहने जनाइएको छ ।

साउदकाे यो दोस्रो अमेरिका भ्रमण हो । यसअघि उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट