कोशीमा एमालेको दुर्भाग्य : सरकार बन्यो तर, आफ्नो बनेन-Sutra News

कोशीमा एमालेको दुर्भाग्य : सरकार बन्यो तर, आफ्नो बनेन

आइतबार, २८ असोज २०८०

आइतबार, २८ असोज २०८०

काठमाडौं । लामो योजनापछि कोशीमा कांग्रेस–माओवादी गठबन्धनलाई विभाजित पार्न र कमजोर बनाउन नेकपा (एमाले) सफल बन्यो । एमालेले अगाडि सारेका केदार कार्की नै मुख्यमन्त्रीमा पनि नियुक्त भए ।



गठबन्धनभित्र हल्लिखल्लि मच्चाउन एमाले सफल भएपनि अन्ततः सरकार भने आफ्नो बन्ने अवस्था रहेन । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाका बीचमा भएको सहमतिसँगै एमालेभित्रको हर्षबढाईँको अवस्था पनि रोकियो ।

शनिबार तीन नेताले ‘गठबन्धन कमजोर हुन दिन्नौं’ भन्दै लिखित सहमति गरेका थिए । नेताहरुले कोशी सरकार गठबन्धनकै निर्णयअनुसार सञ्चालन गर्ने पनि सहमति गरेका थिए ।

सँगै मुख्यमन्त्रीमा नियुक्त भएपछि केदार कार्की काठमाडौंमा आएर गठबन्धनका नेताहरुसँग सरकार गठबन्धनकै अनुकुलमा सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो पक्षमा दुई जना मात्रै मन्त्री बनाउने र अन्य बाँकीबाट समेट्ने पनि प्रतिबद्धता जनाएको शेखर कोइराला निकट एक पदाधिकारीले बताएका छन् ।

नेताहरुबीचको सहमति र कार्कीको प्रतिबद्धतासँगै कांग्रेसको विद्रोही पक्षलाई आन्तरिक र बाह्य दुवै हिसाबले पनि सहज भएको छ । सँगै गठबन्धनलाई तत्कालको लागि संकट टरेको देखिन्छ ।

केन्द्रको सहमति लागु भए एमाले सरकारमा नजाने

कोशीमा एमालेले दुई दलबीच मात्रै सहकार्य हुनुपर्ने बताउन थालेको छ । एमालेले अन्य दल सहभागि भएको खण्डमा सरकारमा नजाने बताउन थालेको छ । पूर्वमुख्यमन्त्री एवम् एमालेको कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रमा भएको सहमति लागु भए एमाले सरकारमा नजाने बताएका छन् ।

“अहिले कांग्रेसको एउटा टिम हामीसँग आएको छ, कांग्रेसको पुरै टिम आउँछ भन्ने विश्वास छ, कांग्रेस र हाम्रोबीचमा सहमति हुन्छ, दुई पार्टी बसेर कसरी बढ्ने निर्णय हुन्छ भन्ने हामीले सोंचेका छौं”, उनले भनेका छन्, “यदि त्यसो हुन्न भने, हामीले सहकार्य गर्ने अवस्था रहन्न, हामी उहाँहरुको निर्णयको प्रतिक्षामा छौं ।”

उनका अनुसार मुख्यमन्त्री केदार कार्कीसँग भएको सहमतिअनुसार सुरुमा एमालेले एक जना मन्त्री पठाउनेछ । तर, अन्य विषयमा सहमति नभई सरकार विस्तार हुनेछैन । यदि सोहीबीचमै गठबन्धनका अन्य सांसद सरकारमा जाने अवस्था रहेमा एमाले सरकारमा नरहने उनले बताए ।

कांग्रेसभित्रको आन्तरिक सन्तुलन मिलाउन मुख्यमन्त्री कार्की कोशीमा सर्वदलीय सरकारको पक्षमा देखिएका छन् । सत्ता गठबन्धनका नेताहरुसँगको भेटपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका उनले सर्वदलीय सरकारको नेतृत्व गर्न चाहेको कुरा राखेका थिए । तर, एमाले कार्कीको पछिल्लो निर्णयको पक्षमा छैन ।

सत्ता गठबन्धनका दलहरुबीच भएको लिखित सहमति र कार्कीको पछिल्लो निर्णयले पनि कोशीमा एमालेको अनुकुलमा सरकार चल्ने अवस्था देखिन्न । सरकार बनाउन सफल भएपनि एमालेको दुर्भाग्य आफ्नो नबनेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट