आफ्नै निर्णयले अप्ठ्यारोमा माधव नेपाल, सचिवालयमा एक्लिए-Sutra News

आफ्नै निर्णयले अप्ठ्यारोमा माधव नेपाल, सचिवालयमा एक्लिए

आइतबार, ७ असोज २०८०

आइतबार, ७ असोज २०८०

काठमाडौं । केन्द्रीय समिति बैठकको निर्णय भन्दै गत असोज ४ मा अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)–११ ले एकीकृत समाजवादी करिब विभाजित अवस्थामा पुग्यो । अपानिकै कारण केही केन्द्रीय सदस्यले पार्टी जिम्मेवारीबाट राजीनामा दिए भने केहीले दिइएको जिम्मेवारी अस्वीकार गरे ।



अध्यक्ष नेपालले जारी गरेको अपानिलाई सम्मानित नेता झलनाथ खनाल पक्षधरले खुलारूपमै अस्वीकार गर्ने निर्णय सुनायो । खनाल स्वयम्ले अपानि जारी गर्ने निर्णयलाई ‘कोर्त पर्व’को संज्ञा दिँदै कार्यान्वयन गरेर देखाउन चुनौति दिएका थिए ।

अपानि जारीपछिको विवादको बीचमा अध्यक्ष नेपाललाई चुनौति दिने शैलीमा खनालले सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । खनालले केन्द्र र प्रदेशका दलीय समीकरणबारे पनि यसअघिका सहमतिभन्दा बाहिरबाट अभिव्यक्ति दिन थालेका छन् ।

खनालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको समेत दिनगन्ती सुरु भएको अभिव्यक्ति दिएका छन् । उनले सरकारको गति सामान्य अपेक्षाकृत पनि नभएको भन्दै विरोध जनाएका छन् । अरु त अरु खनालले कांग्रेसलाई चिढ्याउने गरी वामपन्थीहरुबीच सहकार्य हुनुपर्ने बताउन थालेका छन् ।

“सरकार ढल्न लाग्यो भनेको होइन तर, यस्तै रवैया रह्यो भने टिक्दैन”, खनालले सार्वजनिकरूपमा भनेका छन्, “अब विकल्प खोज्ने कि नखोज्ने प्रश्न छ ।”

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको निधनपछि खनालले एमाले अनुकुलमा अभिव्यक्ति दिइरहेको देखिन्छ । जसको सकस गठबन्धन र एकीकृत समाजवादीभित्र परेको छ ।

अप्ठ्यारोमा माधव

खनालसहित उनी पक्षीय नेताहरुको चुनौतिपूर्ण अभिव्यक्तिपछि एकीकृत समाजवादीभित्र अध्यक्ष नेपाल अप्ठ्यारोमा परेका छन् । पार्टीभित्र दुई नेताबीचको टकराव सतहमै देखिन थालेपछि अन्य नेता पनि विवाद मिलाउने शैलीमा देखिएका छन् । जसको प्रभाव खनाल थप बलिया बनेका छन् भने नेपाल कमजोर देखिएका छन् ।

अध्यक्ष नेपालले जारी गरेको अपानि–११ लाई पनि पार्टी सचिवालयले रोक्ने निर्णय लिएको छ । शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष नेपालले जारी गरेको अपानि कार्यान्वयनमा नल्याउने निर्णय लिएको थियो ।

अपानिमार्फत अध्यक्ष नेपालले ११ जना नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेका थिए भने केन्द्रीय नेताहरुको नयाँ कार्यविभाजन पनि गरेका थिए ।

नेताहरुले बताएअनुसार सचिवालय बैठकमा अध्यक्ष नेपालको निर्णयको पक्षमा निकै सीमित नेतामात्रै उभिएका थिए । जसले अध्यक्ष नेपाल पार्टीभित्र क्रमशः एक्लिँदै गएको पनि देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट