बाहिर सरकार परिवर्तनको चर्चा, भित्र देउवालाई गलाउने रणनीति-Sutra News

बाहिर सरकार परिवर्तनको चर्चा, भित्र देउवालाई गलाउने रणनीति

सोमबार, १ असोज २०८०

सोमबार, १ असोज २०८०

काठमाडौं । नेपाली कांग्रेसको चितवन भेलालाई सम्बोधनका क्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले पहिलो पटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बताएका थिए । उनले ठूलो दल भएको कारण कांग्रेसको नेतृत्वमा सरकार बन्नु अनिवार्य भएको तर्क गरेका थिए ।



उनले भनेका थिए, “संसदमा ८८ सांसद भएको पार्टीले ३२ सांसदको पार्टीलाई नेतृत्व मानेर हिँड्ने कुरा कहिँ पनि मिल्दैन, हैसियतअनुसार नेतृत्व गर्ने हो, अब कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्छ ।”

भदौ २३ मा सार्वजनिकरूपमा बोलेका कोइरालाले त्यसयता निरन्तर सरकार परिवर्तनबारे अभिव्यक्ति दिइरहेका छन् । उनले माओवादी केन्द्रको नेतृत्वमा कांग्रेस जान नहुने बताउँदै कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखिरहेका छन् ।

कोइरालामात्रै होइन कांग्रेसको संस्थापन इतर पक्षका अन्य नेताहरुले पनि निरन्तररूपमा सरकार परिवर्तनको आवाज उठाइरहेका छन् । इतर पक्षका नेताहरुले सरकारका कार्यशैलीको पनि विरोध जनाएका छन् । नेताहरुले प्रचण्ड सरकार बदनामित भएको भन्दै कांग्रेसले काँध थाप्न नहुने अभिव्यक्ति दिन थालेका छन् ।

सरकारको नेतृत्वकर्ता र सत्ता साझेदार माओवादी केन्द्रबारे इतर पक्षले दिएको अभिव्यक्तिले सत्ता गठबन्धन अहिले निकै अप्ठ्यारोमा परेको देखिन्छ । इतर पक्षको अभिव्यक्तिले गठबन्धनभित्र अविश्वास र विवाद जन्मिने जोखिम बढेको देखिन्छ । यस्तोमा संस्थापन पक्षीय नेताहरुले सत्ता साझेदार दलहरुलाई विश्वासमा लिने गरी अभिव्यक्ति दिन थालेका छन् ।

गठबन्धन भत्किन्न : संस्थापन पक्ष

नेपाली कांग्रेसको संस्थापन पक्षले हालको सत्ता गठबन्धन पाँचै वर्षसम्म टिक्ने बताएको छ । संस्थापन पक्षीय नेताहरुले अहिलेको गठबन्धन भत्काएर अस्थिरता जन्माउन नहुने तर्क गरेका छन् ।

आइतबार चितवन पुगेका संस्थापन पक्षीय नेता डा. शशांक कोइरालाले गठबन्धन कुनै हालतमा भत्काउन नहुने अभिव्यक्ति दिए । उनले त हालको नेतृत्व नै पाँचै वर्षसम्म समेत जानसक्ने विश्लेषण गरेका छन् ।

“मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म नै जानसक्छ, मलाई त्यस्तो लाग्छ”, उनले भनेका छन्, “कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलिराखेको छ, यसको विकल्प खोज्न हुँदैन ।”

उनीसँगै नेता बिलमेन्द्र निधिले पनि सरकार परिवर्तनको पक्षमा कांग्रेस नलाग्ने स्पष्ट पारेका छन् । पूर्वसहमतिअनुसार नै सरकार सञ्चालन हुने उनको भनाई छ ।

“अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ, यसमा कुनै द्विविधा नराखे हुन्छ”, आइतबार जनकपुरधाम पुगेका नेता निधिले भनेका छन्, “पूर्वसहमतिअनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ, तर गठबन्धन परिवर्तन हुँदैन ।”

संस्थापन पक्षीय नेताहरुले पार्टीभित्रको असन्तुष्टिलाई सरकार सन्दर्भमा नपोख्न पनि इतर पक्षलाई सुझाएका छन् । राजनीतिक अस्थिरता जन्माउने खेलमा नलाग्न पनि उनीहरुको आग्रह छ ।

देउवालाई गलाउन सरकारमाथि प्रहार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गतेदेखि बस्दैछ । बैठकले मंसिरमा हुने भनिएको विधान महाधिवेशनबारे नीति तय गर्नेछ ।

कांग्रेसको इतर पक्षले विधान महाधिवेशनलाई निकै महत्वपूर्णंरूपमा लिइरहेको छ । इतर पक्षले खुलारूपमै विधान महाधिवेशनमार्फत सभापति शेरबहादुर दुउवाको विकल्प खोजिने पनि बताइरहेको छ ।

विधान महाधिवेशनमार्फत पार्टी नेतृत्व, सरकार नेतृत्वलगायतका विषयबारे मापदण्ड बनाउने तयारीमा इतर पक्ष छ । यस्तोमा इतर पक्षले देउवालाई घेराबन्दी गर्नेगरी सरकार र गठबन्धनबारे प्रतिकुल खालको मनोविज्ञान विकास गर्न खोजिरहेको देखिन्छ ।

कांग्रेस नेता प्रदिप पौडल पार्टीभित्रको माहोल तथा मनोविज्ञान आफ्नो पक्षमा पार्नका निम्ति सरकार तथा गठबन्धनविरोधी अभिव्यक्ति दिएको हुनसक्ने टिप्पणी गर्दछन् । उनले भनेका छन्, “यो पार्टीभित्रको असन्तुष्टी जाँच्ने र सभापतिप्रतिको विरोधी मनोविज्ञानबाट लाभ लिने मेसो हुनसक्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट