प्रदिप गिरी, चुनावमा हार्दा खुसी हुन्थे !-Sutra News

प्रदिप गिरी, चुनावमा हार्दा खुसी हुन्थे !

सोमबार, ४ भाद्र २०८०

सोमबार, ४ भाद्र २०८०

नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाएका प्रदीप गिरी राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित छन् । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उनको गत वर्ष आजकै दिन निधन भएको थियो । अहिलेको जटिल राजनीतिक परिस्थितिमा गिरीको अनुपस्थिति सबैलाई खट्किएको छ । उनको निधनले नेपाली समाजले प्रजातान्त्रिक समाजवादको कसीमा नेपाली अर्थतन्त्रलाई डोर्‍याउनका लागि गरिने खबरदारी गर्ने व्यक्तिको अभाव भएको छ । उनमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको स्मरण भइरहेको छ ।



बौद्धिकताको हिसाबले मात्र नभई उनको विभिन्न भाषामा उत्तिकै दख्खलता थियो । नेपाली, अङ्ग्रेजी, हिन्दी र संस्कृत चारवटै भाषामा राम्रो ज्ञान थियो । यी चारवटै भाषामा उत्तिकै रुपमा राम्रोसँग लोमो समयसम्म पनि बहस गर्न सक्ने उनमा अचम्मको क्षमता थियो । उनीसँग २०४२ सालमा मेरो पहिलो भेट कुपण्डोलस्थित कृष्णप्रसाद भट्टराईको निवासमा भएको थियो । किसुनजीसँगै रहेको पंक्तिकारलाई औंल्याउँदै उनले ठेगाना सोधेको थिए । उनले ओखलढुङ्गाका बलबहादुर राईलगायत थुप्रै नेताहरुको नाम पनि भने । नेपालको प्रजातान्त्रिक आन्दोलनमा ओखलढुङ्गाको योगदानको चर्चा गरिरहँदा पंक्तिकारको छाती गर्वले फुलेजस्तो भयो । त्यसपछि पंक्तिकार उनीसँग नजिक हुने अवस्था बन्यो ।

प्रष्ट वक्ता र सरल शब्दचयन उनका विशेषता थिए । बिपी, गणेशमान सिंह र किसुनजीसँग नजिक रहेर उनले काम गरेका थिए । चित्त नबुझेका कुरामा उनले बिपी–गणेशमानसँग पनि फरक मत राख्थे । उनको जीवनको लामो समय राजनीतिमै बित्यो । यद्यपि राजनीति भने उनको तेस्रो प्राथमिकतामा थियो । उनको पहिलो प्राथमिकता साहित्य हो भने दोस्रो प्राथमिकता अध्यात्म हो । उनलाई राजनीतिलाई किन प्राथमिकतामा नराखेको भन्ने जिज्ञाशामा आफू राजनीतिबाट ‘डिष्ट्रव’ हुन नचाहेको भन्थे । उनले राजनीति, समाजवादको चिन्तन र सोहीअनुसारको व्यवहारले समकालीन नेपाली नेताहरूमध्ये पृथक छवि बनाए ।

उच्चस्तरको बौद्धिक नेता भएर पनि उनमा अचम्मको सादगीपन थियो । सामान्य किसिमको खानपिन रुचाउनु हुने उनी प्रायः सादा खाना, दही, दुई÷तीन वटा रोटी र समयअनुसारको तरकारी खान्थे । कम मात्रामा मदिरापान गर्ने उहाँमा लुकाएर खाने बानी थिएन । धुम्रपान गरेको कहिल्यै देखिएन । सादा जीवन उच्च विचारको आदर्शबाट निर्देशित थिए । उनमा लपनछपन केही थिएन । स्पष्ट वक्ता थिए ।

उनी आफू मात्रै अध्ययन गर्ने होइन, अरुलाई पनि अध्ययनमा प्रेरित गर्दथे । भेट भएका युवालाई पञ्चतन्त्र, महाभारत जस्ता ग्रन्थ पढ्नका लागि अभिप्रेरित गर्थे । आफू पनि निरन्तर पढिरहने उनी एकै दिनमा तीन/चारवटा पुस्तक पढ्ने गर्थे । प्रत्येक पटक २०/३० वटा पुस्तकसम्म किन्ने आदत थियो । अत्यधिक पढ्न रुचाउने उनी कहिलेकाहीँ त राति अबेरसम्म पढ्ने भएकाले भोलिपल्ट अपरान्ह १२/१ बजेसम्म पनि सुत्ने गर्थे ।

गिरीमा पद लोलुपता पटक्कै थिएन । त्यसैले सरकारका प्रवक्ता र मन्त्री हुन पटकपटक आग्रह हुँदा पनि उनले कहिल्यै मानेनन् । पदले आफ्नो व्यक्तिगत जीवन र स्वतन्त्रतामा हस्तक्षेप हुन्छ भन्ने ठानेर यस्ता पद नलिएको उनी बताउँथे । विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सिरहामा भाषण गर्दै चुनावमा जिताएर पठाए गिरीलाई परराष्ट्र मन्त्री बनाइदिन्छु भनेका थिए । तर उक्त चुनावमा उनी थोरै मतले पराजीत भए । त्यसपछि उनले भनेका थिए, “म भगवानलाई धन्यवाद दिन्छु, मलाई हराएर मन्त्री बन्नबाट रोकिदिनुभयो । जितेको भए मैले किसुनजीको आज्ञा मान्नुपथ्र्यो, मन्त्री हुनुपथ्र्यो, जुन मेरो जीवनको चाहना थिएन ।”

उनलाई धेरैले गान्धीवादी नेताका रुपमा पनि चिन्दथे । काठमाडौँमा बस्दा उहाँ प्रायः डेरामै बस्थे । घर बनाउने, बिलासी जीवन बिताउने मोह कहिल्यै मनमा आएन । उको स्वभावसँगै जेलमा बसेका किसुनजीसँग पनि मिल्दथ्यो । “राजनीतिमा निष्ठाको बाटो कहिल्यै नछोड्नु, हामी किसुनजीका अनुयायी हौँ, इमानदारीपूर्वक जनताको सेवामा लाग्नुपर्दछ”, भन्थे । सत्तामा गएर मन्त्री, प्रधानमन्त्री बन्नुभन्दा पनि म सधैँ आस्थाको राजनीति गर्छु भन्थे । मैले गर्छु भनेको आफूले राजनीति पद प्राप्तिका लागि होइन भन्थे । नभन्दै जे बोले त्यो उनले निर्वाह गरे । पदीय र राजकीय पदमा गएनन् ।

उनको अगुवाइमा सिरहा बस्तीपुरमा करिब हजार विरूवा हुर्किएका छन् । घरभन्दा करिब पाँच किमी पर उनले आश्रम पनि बनाएका छन् । आफू मरेर गए पनि रूख बाँचिरहने र ती रूखका फल अरूले खाँदा आफूमा सन्तुष्टि मिल्ने भएकाले विरूवा हुर्काएको उनी बताउँथे । आश्रममा बस्न निकै आनन्द लाग्ने उनको भनाई थियो । शान्त ठाउँमा पढ्न आनन्द हुन्छ भन्थे । काठमाडौं हुँदा उनी तपोवन गइरहन्थे ।

बिपीले परिकल्पना गरेको नेपालका सन्दर्भमा प्रजातान्त्रिक समाजवादको व्याख्या गर्न उनी अब्बल थिए । उनमा व्यापक ज्ञान, सिद्धान्तप्रतिको अविचलित निष्ठा, समाजवादी समाज निर्माणप्रतिको प्रतिबद्धता, निर्भिक र स्पष्टवादी स्वभाव रहेको थियो । कतिपय बुद्धिजीवीहरु उनलाई बिपीपछिको सबैभन्दा प्रभावशाली विचारकका रुपमा लिन्छन् । जनमत सङ्ग्रहपछि नेपाल आएका प्रदीप गिरीले राजनीतिलाई नौलो दिशा दिए । बिपीको देहावसानपछिको अवस्थामा प्रदीपले नै वौद्धिक वहसको परम्परालाई निरन्तरता दिए । तराईको सम्पन्न परिवारमा जन्मिएर पनि विलासी संस्कृतिको अवलम्बन नगर्नु उनको समाजवादप्रतिको सम्मोहको एउटा बलियो उदाहरण हो । उनले लामो आफ्नो राजनीतिक जीवनमा समाजवादको अध्ययन, विश्लेशण, चर्चा–परिचर्चा र संश्लेषण गरे । यसैमा उहाँ रमाए । उनमा चातुर्यता थियो ।

गिरी राजनीतिमा युवाहरूलाई आकर्षण गर्नुपर्छ भन्थे । विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्न सक्ने नेता थिए उनी । राजनीतिलाई दर्शन, सिद्धान्त र विचारमा सधैं नै जोडिराख्थे । राजनीति भनेको सत्ताकै लागि होइन, जनता र देशका लागि गर्नुपर्ने सेवा हो भन्थे, यो कुरा नयाँ पुस्ताका लागि ठूलो सन्देश हो । चक्रप्रसाद वास्तोलाको स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले पार्टी सभापति शेरबहादुर देउवालाई मलाई देखाउँदै यिनी सांसद पनि छैनन्, केन्द्रीय सदस्य पनि पराजीत भए, यस्ता युवालाई केही जिम्मेवारी दिएर युवा कार्यकर्तालाई परिचालन गर्नुपर्छ भनेर खुलेरै आग्रह गरे । कांग्रेसका बैठकहरूमा धारणा राख्दा पनि उनी युवा नेताहरूलाई पार्टीभित्र ठाउँ दिनुपर्छ भन्ने पक्षमा कुरा राख्थे । नयाँ पुस्ताले उनीबाट सिक्न सक्ने धेरै कुराहरु छन् । पछिल्लो पुस्तासँग उनको बढी नै आशा र भरोसा थियो ।

उनको भारतीय नेताहरूसँग नजिकको सम्बन्ध रहेको थियो । करण सिंहले उनलाई अत्यन्त आदर गर्थे । विशेषगरी गान्धीवादी विचारक गिरीको भारतका नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियाहरूसँग नजिकको सम्बन्ध रहेको थियो । उनको सोनिया गान्धी, इन्दिरा गान्धी, राजीव गान्धीलगायतका नेतासँग पनि राम्रै सम्बन्ध थियो । भारतीय नेताहरू नितिश कुमार, लालुप्रसाद यादव, विपी त्रिपाठीलगायतका नेतालाई उनले प्रशिक्षण दिएका थिए । भारतमा इन्दिरा गान्धीको सङ्कटकालको समयपछि उनले भारतमै रहेर ‘सोसिइलिष्ट मुभमेन्ट’को नेतृत्व पनि गरेका थिए ।

उनमा सबै राजनीतिक दलप्रति उत्तिकै सद्भाव रहेको थियो । उनमा कांग्रेस पार्टीको टिकटमा चुनिएका सांसद भए पनि राजनीतिमा उनको सर्वमान्यता स्थापित भएको थियो । कम्युनिष्टहरुलाई मार्क्सवाद र साम्यवाद पढाउँदै हिँड्ने पात्र पनि उनै थिए । उनी सबैको मान्छे अर्थात् सर्वपक्षीय व्यक्तित्वयुक्त नेता थिए । अन्य दलका नेता, कार्यकर्ताहरु पनि उनका तर्कहरुबाट प्रभावित हुन्थे । उनका विचारहरुको कार्यान्वयन गर्न नसके पनि त्यसमा सहमति जनाउँथे । संसदमा उनले बोल्ने दिन निकै उत्सुकता छाउँथ्यो । उहाँ कहिल्यै एकपक्षीय रुपमा प्रस्ुत नभई आफूले देखेको स्पष्टसँग कुरा राख्थे । उनका कुरामा तर्क र दम रहन्थ्यो ।

सादगीपनसँगै उनको इमान्दारिता, निष्ठा, अध्ययनशिलता वर्तमानमा जो कोही नेतृत्वले सिक्नुपर्दछ । गाउँगाउँमा कुटिर उद्योगमार्फत रोजगारी सिर्जना गर्नुपर्छ भन्ने विचार राख्ने गिरीले सधैँ गाउँ केन्द्रित राजनीतिका पक्षमा आवाज उठाए । समाजका सबै वर्ग र समुदायको समुत्थान हुनुपर्छ भन्दै उनले ‘कदमजम’ को नारालाई अघि सारेका थिए । राष्ट्रमा सबैको पहुँच स्थापना हुनुपर्ने भन्दै उनले कर्णालीको समस्या, दलित, महिला, जनजाति र मधेशीलाई समेट्दै अघि बढ्नुपर्ने विषयलाई जीवनपर्यन्त उठाइरहे । उनको विचारलाई गाउँगाउँसम्म पुर्‍याउन आवश्यक छ । उनको मूल्यमान्यतालाई जीवित राख्न सकिए भने मात्रै कांग्रेसलाई पनि गतिशील बनाउन सकिन्छ ।

(लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट