५ जिल्लाका करिब ८ लाख बालबालिकाको आँखा नि:शुल्क परीक्षण-Sutra News

५ जिल्लाका करिब ८ लाख बालबालिकाको आँखा नि:शुल्क परीक्षण

बुधबार, ६ असार २०८०

बुधबार, ६ असार २०८०

नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन् । आँखा जाँच गरिएकामध्ये चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ ।



अर्विसको आर्थिक सहयोगमा सङ्घले सञ्चालन गरेको उक्त परियोजनामार्फत झापा, मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका सात लाख ८५ हजार चार सय ६० बालबालिकाको आँखा निःशुल्क परीक्षण गरिएको हो ।

सन् २०१८ देखि २०२२ सम्म सञ्चालित परियोजनामार्फत ६ देखि १८ वर्षसम्मका विद्यालय जाने र नजाने बालबालिकाको आँखा परीक्षण गरिएको थियो । सङ्घका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले आँखा परीक्षण पश्चात् समस्या देखिएका बालबालिकालाई निःशुल्क चस्मा तथा शल्यक्रियासमेत गरिएको बताए ।

उक्त परियोजनामार्फत चार वर्षमा दुई हजार ५५५ वटा निजी तथा सामुदायिक विद्यालयहरूमा आँखा जाँच गरिएको थियो । उहाँले उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार तीन सय ८० बालबालिकालाई निःशुल्क चस्मा वितरण गर्नाका साथै दुई सय एकजना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रियासमेत गरिएको जानकारी दिए ।

कार्यक्रम व्यवस्थापक शाहका अनुसार आँखा जाँच गरी वितरण गरिएको चस्मामध्ये ६३ प्रतिशत बालबालिकाले मात्र नियमित रुपमा चस्मा प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट