बालेन फेरि नेताहरूमाथि खनिए-Sutra News

बालेन फेरि नेताहरूमाथि खनिए

आइतबार, ३१ बैशाख २०८०

आइतबार, ३१ बैशाख २०८०

काठमाडौँ- काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) अराजक अभिव्यक्ति दिने भनेर आलोचित छन्। तर उनले आफ्नो शैलीलाई जारी राखेका छन्।



अक्सर उनी दलका नेताहरूविरुद्ध आक्रोश पोखिरहेका हुन्छन्। यसै क्रममा उनले फेरि एकपटक नेताहरूविरुद्ध अमर्यादित भाषा प्रयोग गरेका छन्।

शनिबार नागरिक अगुवाहरूको सक्रियतामा काठमाडौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरियो। जसमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सांसदहरू पनि सहभागी भएका थिए।

प्रदर्शनकारीले ‘भन्ने छौँ हामी बारम्बार भ्रष्टाचारीलाई कारागार’, ‘नेताहरूको घडीको तस्करको ब्याट्री छ’, ‘नेताहरूको भ्रष्टाचार धन्दा छ’, लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

तर काठमाडौं महानगरपालिकाका मेयर बालेनले भने यस्तो सडक नाटक धेरैपटक देखिएको भन्दै प्रदर्शनकारी र नेताहरूविरुद्ध तीखो टिप्पणी गरेका हुन्।

‘भ्रष्टाचारविरुद्धको आन्दोलन?? को नेता हो थाहा छ? घर कहाँ हो थाहा छ’, शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सीधै लगेर बागमतीमा चोपाल्नुस्, यस्तो सडक नाटक धेरै देखिसक्यौँ हामीले, पत्याउदिनँ मचाहिँ।’

यस्तै उनले प्रदर्शनमा सहभागी नेताहरूलाई आन्दोलन गर्न होइन, भ्रष्टाचारीलाई सीधै कारबाही गर्न जनताले भोट दिएर पठाएको भनी सम्झाएका छन्।

‘तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सीधै कारबाही हो, सीधै कारबाही गर्ने नीति बनाउनलाई हो’, मेयर साहले लेखेका छन्।

पछिल्लो समय नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै करोडौँ रकम ठगी गरिएको प्रकरण चर्चामा छ। जसमा संलग्न आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत पक्राउ परेका छन् भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि वैशाख २० देखि फरार छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट