Logo

राजनीतिमा ब्यक्ति पुजाको संस्कार



अहिलेको समयमा राजनीतिको परिभाषा बदलिएको छ ।  राजनीति अब ज्यादै फोहरी खेल भएको कारण नयाँपुस्ताले राजनीति प्रति  खासै सरोकारको बिषय ठान्दैनन ।  देशका अधिकांश  ब्यक्ति राजनीतिलाई यस्तो क्षेत्र मान्दछ्न जहाँ नैतिकता र मर्यादाको कुनै स्थान रहदैंन । हिजोआज साम दाम दण्ड भेद अन्तर्गत सिमित दलहरुको सत्ता  रजाइँमा राजनीति अघि बढेको देखिन्छ  । त्यसै कारणले राजनीति अवसरबादमा आधारित देखिन्छ  । जस्तो अवसर त्यस्तै राजनीति  । बर्तमान राजनीतिमा अवसर खोज्नेहरु भन्दापनि अवसर हेरेर राजनीति गर्नेहरुको दुबै हातमा लड्डु रहने गरेका छन्  ।

हाम्राआस्थाहरु जीवनका मूल्य मान्यताहरुमा, नैतिक सिद्धान्तहरुमा अनि सदगुणहरुमा आधारित हुने हो, ब्यक्तिमा कदापि होइन । कुनैपनि बिषय या सन्दर्भमा मुल्यांकन र विश्लेषणको उचित निर्णय तब संभव छ , जब हाम्रो दृष्टिकोण ब्यक्तिपरक नभई  बस्तुपरक हुने गर्दछ । कसैको प्रशंसा, समर्थन या आलोचना सम्बन्धित ब्यक्तिको नभएर बिषयबस्तु प्रधान हुनुपर्दछ । जबकि नेपालको धरातलीय  राजनीति ठिक उल्टो दिशामा अघि बढेको छ । हामी समर्थन र बिरोध  उक्त ब्यक्तिको गरिरहेका हुन्छौं  । त्यसैले समर्थन या बिरोधको भावना तथ्य  र तर्कमा आधारित नभएर पूर्वाग्रहि ढंगबाट प्रधान हुने गरेका छ्न । जुन हाम्रो सिद्धान्तको  मर्म र भावना  बिपरित रहेको कुरालाई सहजै बुझ्न सकिन्छ  ।

राजनीतिमा सफलताको अर्थ जसरी पनि सत्ता कब्जा  गर्नु मात्र सिमित देखिन्छ । बर्तमान राज्य ब्यबस्थामा सरकार संग पर्याप्त शक्ति रहने हुँदा सत्ताभित्र र बाहिर रहेका विशिष्ट ब्यक्तिहरुको समेत साझा स्वार्थ परिपूर्तिका लागि राज्यका अंगहरु तथा तिनका निकायहरुलाई  अपरोक्ष रुपमा प्रभावमा पारेर अकुत सम्पत्ति आर्जन गर्ने, सरकारी श्रोत साधनको चरम दुरुपयोग, बिलाशी जीवन पद्धति,  खादा माला र जयजयकारको आडम्बरी राजनीतिले जनभावनाको खिल्ली उडाइ रहेको प्रतित हुन्छ। यस प्रकारको अहंकारशैलीको दम्भ देखाएर आफुलाई ईश्वरको हाराहारीमा उभ्याउन खोज्ने हाम्रा नेताहरुको राजनैतिक कुसंस्कार अन्ततः  मुलुक, जनता तथा स्वयं पार्टीका लागि पनि घातक मानिन्छ।

नेपालको विभिन्न आन्दोलनहरुले  स्थापित गरेका नेताहरुलाई  पनि ब्यक्ति पुजाको रोगबाट अलग्याउन  सकेका छैनौं  । अहिले मुलुकमा देखिएको स्वेच्छाचारी अराजकता एबं आर्थिक  संकट निमत्याउनुमा भ्रष्ट नेताहरुका कालाकर्तुहरुको ढाक छोप गर्ने ,अनावश्यक रुपमा चाकडी बजाउनु  ब्यक्ति पुजाको अर्को रुपलाई  नकार्न मिल्दैन ।  ब्यक्ति पुजा कहिले  पनि  साझा  हितको अनुकूल हुन सक्दैन

यस्तो राजनीतिले एकातिर परिवरबादको निरंकुशता लादिने अर्कोतिर  जनजीबिका र राष्ट्रियता जस्तो अहम सवालमा चुनौती  माथि चुनौती थप्दै लगेको छ । यसमा  कुनै शासन ब्यबस्थालाई  दोष दिनु भन्दापनि  हाम्रो प्रबृत्ति विरुद्धको  लडाइ  हो ।  प्रबृत्ति पुरानै रहने र ब्यबस्था जतिसुकै उच्च कोटीको भएपनि परिबर्तन  यस्तै ढंगले  निरर्थक बन्दै जाने छन्  ।

ब्यक्ति पुजाको इतिहास

शास्त्र अनुसार ईश्वर देवी देवता ब्रम्हा विष्णु महेश अवतारको पुजा आरती हुँदै आएको पाईन्छ । कालान्तरमा गएर कतिपय हिन्दुहरुले प्राकृतिक संसारिक बिषयहरुमा ग्रह नक्षेत्र देवी देवता नाग बन जंगल नदी पितृ गुरु आदिका पुजा गर्दै आइपुगेको इतिहाँस  भेटिन्छन् । त्यसपछी दासयुग ,सामन्ती  हुँदै लोकतान्त्रिक युगमा प्रवेश गरेको  राजनीति राष्ट्रसेवा र जनसेवाको भावनाबाट अभिप्रेरित भएका थिए। राजनीतिमा ब्यक्ति पुजा तत्कालीन सोभियत संघका  शासक जोसेफ स्टालिनको समय देखि थालनी भएको मानिन्छ  । निकिता ख्रुस्चेभका अनुसार स्टालीनको चारैतिर ब्यक्ति पुजा गर्नेहरुको आभामण्डल बनाइएको हुन्थ्यो।  स्टालीनको अघि पछि ब्यक्ति पुजा गर्नेहरुको तँछाडमछाड नै  चल्थ्यो । कुनै एउटा  ब्यक्तिलाई तपाईं हाम्रो  चाकरी र प्रसंशाले महान बनाएर उसलाई भगवान जस्तो शक्तिमान  ब्यक्तिमा रुपान्तरण गर्नु मार्क्सवाद लेनिनबादको विरुद्ध हुन। अझ नेताको अकाट्य बोली भनेपछि : सबै थोक जान्ने, देख्ने सोच्ने गर्दछन  । नेताबाट कुनै गल्ती हुन सक्दैन भन्ने धारणा हामी भित्र जमेर बसेका हुन्छन्।

स्टालिन भन्दा पहिले पनि ब्यक्ति पुजाको इतिहाँस नभएका होइनन । इटलीको मुसोलिनी, जर्मनको हिटलर ,क्युवाको फिडेल कास्त्रो, भियतनामको हो चि मिन्ह, भेनेजुएलाको ह्युगो शावेज,र चीनको माओलाई  पनि हेर्ने गरिन्थ्यो । हाम्रै  छिमेकी देश भारतमा पनि  सन 1970 ताका इन्दिरा गान्धीको आफ्नै सत्ता बर्चस्व थियो। ईन्दिरा इज  ईन्डिया एण्ड ईन्डिया इज इन्दिराको  इमर्जेन्सीकाल इन्दिरामय देखिन्थ्यो । तर त्यही भारतमा अहिले लोकप्रियता कमाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा भए गरेका बिकासबाट प्रभावित  हुने लाखौं लाख शुभचिन्तकहरुले गुजरातको राजकोटमा प्रधानमन्त्री मोदीको मुर्ति स्थापना गरि मन्दिर बनाएका थिए। पछि प्रधानमन्त्री मोदीले थाहा पाएपछि स्थानीय प्रशासनलाई  भने : यो भारतीय संस्कृतिको बिरुद्ध भएको हुनाले तत्काल मुर्ति हटाउन लगाएर एउटा स्वस्थ्य राजनीतिको थालनी  गरेका थिए। नेपालको लोकतान्त्रिक तथा  बामपंथी आन्दोलनका नेताहरुमा  पनि ब्यक्ति पुजाको रोगबाट ग्रसित रहेका छन्  । जसको कारण लोकतान्त्रिक मूल्य मान्यताहरु क्रमशः किनारा लाग्न थाल्दैछ्न र अतिबादले हाम्रो समाजमा नराम्रो संग जरा गाड्न खोज्दै छ।

राजनीतिमा नकारात्मक असर

डा.भिमराव  अम्बेडकरका अनुसार  : धर्ममा भक्त्ति आत्माको मुक्तिको साधन हुन सक्छ तर राजनीतिमा  कुनै ब्यक्तिको भक्त्ति भावले पतन या तानाशाही दिशामा डोर्‍याउने  प्रायः निश्चित छ । नेपालको राजनीतिमा काँग्रेस पार्टी भन्दा कम्युनिस्ट पार्टीका नेताहरुमा चाकरी  चाप्लुसीमा बढी लिप्त  देखिएका छन। नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाललाई सय केजीको माला र खादाले मुख नाक छोप्नेगरी गरिएको स्वागत भाव , छोराको शालिक निर्माण, परिवारबादको दलदलमा जाकिएको सर्वहारा बर्गको राजनीति आदि  बिडम्बनापूर्ण रहेका छन् । यस प्रकारको दुषित राजनीतिबाट एमाले अध्यक्ष केपी ओली पनि अछुतो भने छैनन् । अस्ति भर्खरै जनकपुरमा दुईसय केजीको मालाको स्वागत भाव र पार्टी भित्र देखिएको हैकमवादी शैलीलाई  बिर्सन सकिन्न। यस्तै  नेपाली काँग्रेसको गिरिजा काल र देउवा कालको भोगाइ कसैबाट लुकेका छैनन् । अन्य दलहरू भित्र रहेका परिवारबाद र भ्रष्टाचारको  राजनीति प्रष्टै देखिन्छ । यसका अतिरिक्त खोला तर्दा  कार्यकर्ताको बुई चढ्ने, जुत्ता  चप्पल र छाता बोकाउने, भब्य तोरण द्वार निर्माण गर्न लाउने,  फुलका गुच्छा टक्रयाउने ,ठुल्ठुला पोस्टर, ब्यानरहरु झुण्ड्याउने,ट्राफिक जाम गर्न लाउने आदि क्रियाकलापले  नेता जस्तो ब्यक्तिमा अहंकार उत्पन्न गर्दछ ।

हरेक नागरिकहरुले आआफ्नो स्वतन्त्रता कहिले पनि कुनै नेता या महापुरुषको पाउमा चढाउन मिल्दैन । चाहे त्यो ब्यक्ति  जतिसुकै महान किन नहोस्  । जनताको भीडबाटै नेता जन्मिने हुन । त्यसैले कुनै ब्यक्तिलाई  नेता भन्दैमा नतमस्तक हुने या महापुरुष मानेर ईश्वरको रुपमा हेर्नू भनेको भगवानको अनादर हो

कुनैपनि ब्यक्तिको अनावश्यक रुपमा चाकडी प्रशंसा या फुलबुट्टा भर्नु आफैमा पुजा हो ।  यस्ता व्यबहार कुनै नेता या बिशिस्ट ब्यक्तिहरुलाई देवत्वकरणमा टेवा पुर्याइ रहेका हुन्छन्। राजनीतिक रुपमा भ्रष्ट र अपराधी प्रबृत्तिका ब्यक्तिहरुलाई आफ्नो स्वार्थ परिपूर्तिका लागि दिने उपमा अलंकार सर्वगुण सम्पन्न  सर्वज्ञ अलौकिक एवं निर्बिकल्प जस्ता शब्दले अहंकारलाई प्रोत्साहन प्रदान  गर्दछ । यस्ता क्रियाकलापले कार्यकर्ता तथा  सर्वसाधारणको चेतना स्तरलाई समेत बोधो बनाइ दिन्छ । जसले गर्दा राम्रो नराम्रो या गुण दोष छुट्याउन नसक्दा आँखामा पट्टि बाँधेको टमटमको घोडा झैं दायाँ बायाँ नहेरी एकहोरो सिधा मात्र  दौडिएका हुन्छौं । नेपालको विभिन्न आन्दोलनहरुले  स्थापित गरेका नेताहरुलाई  पनि ब्यक्ति पुजाको रोगबाट अलग्याउन  सकेका छैनौं। अहिले मुलुकमा देखिएको स्वेच्छाचारी अराजकता एबं आर्थिक  संकट निमत्याउनुमा भ्रष्ट नेताहरुका कालाकर्तुहरुको ढाक छोप गर्ने ,अनावश्यक रुपमा चाकडी बजाउनु  ब्यक्ति पुजाको अर्को रुपलाई  नकार्न मिल्दैन।  ब्यक्ति पुजा कहिले  पनि  साझा  हितको अनुकूल हुन सक्दैन । तसर्थ नेताहरु प्रतिको अन्धो भक्त्तिभाव दासताको प्रतीक हुन ।

एक पटक बिरबलले राजा अकबर संग भने छन  : हजुर ! यदी तपाईंले भण्टालाई राम्रो भन्नू भयो भने म पनि राम्रो भन्ने छुँ । र हजुरले भण्टालाई खराब भन्नु भयो भने म पनि खराब नै भन्ने छुँ । किनकि म भण्टाको नोकर होइन , म हजुरको नोकर हुँ  । राजनीतिमा यस प्रकारको एकांकी दृष्टिकोण राख्दा असल र विवेकशील ब्यक्ति पनि आफ्नो स्वच्छ निर्मल मनलाई विषाक्त गरेको हुन्छ । यसले अनावश्यक रुपमा नकारात्मक भाव उत्पन्न गर्दछ र सन्तुलित ब्यक्त्तित्वलाई असन्तुलन बनाएर  सत्ता नेतृत्वको हातमा सम्पूर्ण श्रोत र साधन निहित रहदा बिकास र अबसरहरु कागजी मात्र बन्ने गरेका हुन्छन् । जसको परिणामस्वरूप  हामी पुस्तौं पुस्ता सम्म सामाजिक आर्थिक र राजनैतिक रुपले लखेटी रहेका हुन्छौं  ।  सोही अनुपातमा राष्ट्रको ठूलो बदनामी देखि जनताले समेत शिर झुकाएर अपमानको पीडा भोग्नु पर्ने हुन्छ ।

बैकल्पिक शक्तिको खोजी  

अहिले सेण्डिकेट राजनीतिबाट जनता आजित भएका छन् ।  यस प्रकारको कुशासनले अर्थतन्त्रलाई  धारासायी मात्र बनाएनन, बरु युवायुवतीहरुलाई  खाडी मुलुक तिर लखेटन बाध्य बनाउँदा समेत  सत्ता गठबन्धनको अनुहारमा पश्चातापको संकेत नदेखिनु आफैमा लज्जा एबं खेदका बिषय हुन। गठबन्धन र बृद्ध सरकारको  नयाँ बिकल्पको खोजीमा युवहरु खुला मैदानमा ओर्लिएका छन् । यही मंसिर ४ गते आउँदो निर्वाचनमा बृद्ध नेताहरुलाई राजनीतिबाट बिदा गर्ने र नयाँ अनुहारका युवाहरुले सत्ता नेतृत्व सम्हाल्न स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा होमिनु आफैमा बैकल्पिक शक्तिको खोजी हो ।

छोटो समयमै  देशैभरी उर्लिएको युवाहरुको जनलहर अर्को अर्थमा  गठबन्धन सरकारको असफलताको द्योतक हुन । अझै जिम्मेवार नेताहरुबाट २० बर्ष सम्म गठबन्धनलाई कायम  राख्ने अभिव्यक्ति दुर्भाग्यपूर्ण मानिन्छ । सत्ताधारीले के बुझ्न के जरुरी छ भने  संबैधानिक एबं राजनैतिक रुपमा हामी  सबै बराबर देखिए पनि सामाजिक रुपमा हाम्रो समाजमा बर्गिय असमानता तथा  विभेदको सिद्धान्तमा आधारित छ। जसको अर्थ हो कसैको उत्थान र कसैको पतन । यही समाजमा कसैसँग अकुत सम्पत्ति छ भने कोही चरम गरिबी र बेरोजगारीमा पनि छन् । यदी राजनीति अधिकार र सामाजिक बिपन्नताको बीचमा यस्तै  असन्तुलन  बनिरहेको खण्डमा विभेदको सिकार जनताले सिमित दल र सिमित बर्गको पक्षपोषण गर्ने गणतन्त्रलाई  सधैंभरी काँधमा  बोक्न बाध्य हुने छैनन् , फ्याँक्न पनि सक्छन भन्ने कुरालाई ख्याल राख्न जरुरी छ ।

स्मरणरहोस् , हरेक नागरिकहरुले आआफ्नो स्वतन्त्रता कहिले पनि कुनै नेता या महापुरुषको पाउमा चढाउन मिल्दैन । चाहे त्यो ब्यक्ति  जतिसुकै महान किन नहोस्  । जनताको भीडबाटै नेता जन्मिने हुन । त्यसैले कुनै ब्यक्तिलाई  नेता भन्दैमा नतमस्तक हुने या महापुरुष मानेर ईश्वरको रुपमा हेर्नू भनेको भगवानको अनादर हो । राजनीतिमा असल काम गर्ने तथा जीवनभरी राष्ट्रको सेवा गर्ने नेताप्रति कृतज्ञता प्रकट गर्नु एउटा सिमा  सम्म ठिक हो तर इज्जत  सम्मानको नाउँमा  अनावश्यक रूपमा नेताहरुको सामुन्ने  स्वामीभक्क्ती प्रकट गर्ने आचरण तथा क्रियाकलापले ब्यक्तिलाई  परनिर्भता एबं अपांग बनाउने काम गर्दछ ।  त्यसैले पुजा नै गर्नु छ भने  परमात्माको गरौं !  सदगुणहरुको गरौं ! प्रकृतिको गरौं ! शाश्वत जीवन र मुल्यहरुको गरौं ! तपाईं हामी जस्तै  हाड मासु र रगतले बनेको ब्यक्ती  त्यो पनि भ्रष्ट अपराधी प्रबृत्तिका  नेताहरुलाई उपमा अलंकार लाएर सर्वगुण सम्पन्न तथा देवतुल्य मान्नु  स्वयंलाई ढाँट्नु सरह  होइन  र  ?

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार १५:२६

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट