माधवको च्याँखेप्रति एकीकृत समाजवादीभित्रै असन्तुष्टि-Sutra News

माधवको च्याँखेप्रति एकीकृत समाजवादीभित्रै असन्तुष्टि

बुधबार, १२ बैशाख २०८१

बुधबार, १२ बैशाख २०८१

काठमाडौं । १० सीट भएको एकीकृत समाजवादीले सत्ता साझेदारबीच समान हैसियत मात्रै खोजेको छैन, समान हिस्सा पनि खोजेको छ । एकीकृत समाजवादीको यस्तो अडानका कारण सत्ता साझेदारबीच किचलो बढ्दो छ ।



हुन पनि जटिल अंकगणितका कारण फाइदा उठाउने अवस्थामा एकीकृत समाजवादी देखिन्छ । एकीकृत समाजवादीले खुलारुपमै हिस्सामा समानता नभए अस्वीकार गर्ने र गठबन्धन तोड्ने पनि धम्की दिइरहेको छ ।

एकीकृत समाजवादीको यस्तो अडानका कारण प्रदेश तहहरुमा विवाद चुलिँदो छ । कतिपय प्रदेश तहमा बनेका सरकार पनि कसरी चल्लान् भन्ने सकस देखिएको छ । सांसद बराबर मन्त्री खोज्दा बागमतीमा अहिले रडाको सुरु भएको छ ।

एकीकृत समाजवादीले प्रष्टरुपमै वर्तमान सत्ता समीकरण जोगाउने हो भने प्रधानमन्त्रीमा आलोपालो, मुख्यमन्त्रीहरुमा आलोपालो, महत्वपूर्ण मन्त्रालयहरुमा बराबरी बाँडफाँट, प्रत्येक नियुक्तीमा बराबरी हिस्साजस्ता अडान लिएको छ । तर, एकीकृत समाजवादीको मूल नेतृत्वले लिएको यस्तो अडानप्रति भने पार्टीभित्रै विरोध हुन थालेको छ ।

एकीकृत समाजवादीकै अडानका कारण सत्ता समीकरण नै संकटमा पुगिरहेका बेला नेताहरु विरोधमा खुल्न थालेका हुन् । पार्टीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीमा आलोपालो खोज्ने पार्टी अध्यक्ष माधवकुमार नेपालको शैलीप्रति विरोध गरेका छन् । उनले त्यस्तो चाहना माधवको व्यक्तिगत चाहना भएको भन्दै संस्थागतरुपमा पार्टीले त्यस्तो चाहना नराख्ने बताएका छन् ।

उनले सत्ता समीकरण नै बिथोल्ने गरी अध्यक्ष नेपालले बोलेको भाषा स्वीकार्य नभएको पनि सन्देश दिएका छन् । सार्वजनिक सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले भनेका छन्, “कसैका व्यक्तिगत इच्छाको पछि लागेर समीकरण तलमाथि पार्ने कुरा हुँदैन, सबैले आफ्नो हैसियतअनुसार कुरा गर्नुपर्छ ।”

हालै एक सार्वजनिक कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले गठबन्धन टुट्दै गरेको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट