कलाकारका चुनावी राजनीतिः बुढापाका अर्कातिर, रवि लामिछानेतिर किन खुल्दैछन् नयाँ पुस्ता?-Sutra News

कलाकारका चुनावी राजनीतिः बुढापाका अर्कातिर, रवि लामिछानेतिर किन खुल्दैछन् नयाँ पुस्ता?

सोमबार, २८ कार्तिक २०७९

सोमबार, २८ कार्तिक २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको प्रचार प्रसारमा मूलधारका दलसहित राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य उम्मेदवार पनि सक्रिय रहेका बेला कलाकारहरू पनि समर्थनमा खुल्न थालेका छन्।



जसरी राजनीतिमा पुस्ताको प्रतिनिधित्व देखिएको छ, कलाकारका समर्थनमा पनि पुस्ताअनुसार नै देखिएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रमा पुराना पुस्ताका कलाकार खुलेका छन् भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ पुस्ताका कलाकार खुलेका छन्।

यस्तै, एमालेका पक्षमा केही चुनावमा मत मागेर नै मैदानमा देखिन्छन् भने राप्रपामा त उम्मेदवार नै बनेर मैदानमा छन्। राजनीतिमा परिवर्तन अनिवार्य रहेको भन्दै कलाकार तथा फिल्म निर्देशक निश्चल बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टीका पक्षमा खुलेका छन्।

काठमाडौं क्षेत्र नम्बर १ मा उक्त पार्टीका उम्मेदवार पुकार बमको चुनावी सभा र प्रचारमा देखिएका उनले डडेल्धुरामा भने प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध खडा भएका स्वतन्त्र उम्मेदवार सागर ढकालको पक्षमा मत मागेका छन्।

अभिनेत्री तथा मोडलहरू पनि लामिछानेको पार्टीका पक्षमा खुलेका छन्। स्वस्तिमा खड्का, बर्षा सिवाकोटी, उषा उप्रेती, रेश्मा घिमिरेलगायत लामिछानेको पार्टीमा खुलेका छन्। उनीहरूले लामिछानेको पार्टीका उम्मेदवारलाई मत मागेका छन्।

‘राजनीतिमा परिवर्तनमात्र नभएर पुस्तान्तरणका लागि नयाँ पुस्ताका कलाकार युवाका पक्षमा खुलेका छन्। नयाँ दलले मात्र परिवर्तन गर्न सक्छ, पुरानाको शासनबाट वाक्क भएको भन्ने सन्देश दिन खोजिएको छ’, राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना केन्द्रीय सदस्य भन्छन्,‘जसरी राजनीतिमा नहुँदा पनि जनताका काममा लामिछानेको अग्रसरता देखिएको थियो, त्यसलाई सघाएको मात्र होइन, परम्परागत दलका अकर्मण्यताको प्रतिफल पनि हो।’

त्यसो त चुनावी मैदानमा नै होमिने पनि कम छैनन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मोरङ–३ को प्रतिनिधि सभाको उम्मेदवारका रुपमा रेखा थापा मैदानमा छिन्। यस्तै समानुपातिकमा पनि कतिपय कलाकारले राप्रपा रोजेका छन्।

‘राजनीतिमा पनि अवसर पाउनेसहित परिवर्तनको आवाज उठाउने र अर्काथरी यथास्थितिलाई सघाउने देखिएको छ’, चुनावी अवस्थालाई संश्लेषण गरिरहेकाहरू भन्छन्,‘पुराना पार्टीमा देखिएका कलाकारको उपस्थिति त्यसको प्रमाण हो।’

एमालेमा कोमल वलीलगायतका कलाकार मैदानमा छन्। अभिनेता सरोज खनालले चितवन–१ मा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको पक्षमा खुलेर नै मत मागेका थिए। राजनीतिमा नयाँ शक्ति नेपालमा जोडिए पनि निस्क्रिय भएका उनले पछि एमालेलाई सहयोगको अपिल गरेका हुन्। अभिनेत्री करिश्मा मानन्धर त काठमाडौं–५ मा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको चुनावी प्रचार र घरदैलोमा दौडिएकी छन्।

उता नेपाली कांग्रेसको पक्षमा मत माग्दा अभिनेता भुवन केसीलाई निर्वाचन आयोगले स्पष्टिकरण नै सोधेको थियो। केसी कांग्रेस प्रवेश गरी सोही कोटामा चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका थिए। अभिनेता तथा निर्देशक नीर शाह पनि कांग्रेसको चुनावी प्रचारमा सक्रिय रहेका छन्। उनी विभिन्न ठाउँमा भएका सभामा भाषण गर्दै हिँडिरहेका छन्।

संगीतकार चेतन सापकोटा, नवल खड्कालगायतका कलाकार नेकपा माओवादी केन्द्रको चुनावी अभियानमा सक्रिय भएको पाइएको छ। यीनिहरूबाहेक अन्य पनि सक्रिय रहेको देखिन्छ।

‘कलाकारमा पनि पुस्ता अनुसारको समर्थन गरेको पाइएको छ। पुरानाले कांग्रेस, केहीले एमाले र कतिपयले माओवादीको चुनावी समर्थन गरेको देखिन्छ’, विश्लेषकहरू भन्छन्,‘कति कलाकारचाहिँ चुनावी प्रचार भन्दा पनि राम्रो मान्छे आउनुपर्ने वकालत गरिरहेका छन्।’

स्वतन्त्र र परिवर्तनका पक्षमा उभिनुपर्ने तर्क गर्दै आउने मध्यमा पर्छन् दीपकराज गिरी। उनले सामाजिक सञ्जालमै भए पनि चुनावमा व्यंग्यात्मक प्रहार गरिरहेका भेटिन्छन्।

आगामी निर्वाचनमा देखिएका आक्रामक चुनावी प्रचारमा कलाकारको समर्थन र सहयोगलाई हेर्दा फिल्म क्षेत्रमा पनि पुस्तान्तरणको सवाल नेपथ्यमा रहेको देखिन्छ। सृजनशील यस क्षेत्रका पुस्ताअनुसारका कलाकारको समर्थन परम्परागत या नयाँ विकल्प भन्नेमा स्पष्ट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट